माटाको भाँडा: लोकप्रियता घट्दै



कालीकोट, फागुन २ गते । पछिल्लो समय माटाको भाँडाको लोकप्रियता घट्दै गएको छ ।

स्टिल तथा धातुका साथै तामा, पित्तल र प्लाष्टिकका कारण माटाको भाँडाको लोकप्रियता घटेको हो । जिल्लाको सिपखानामा माटोका भाँडा बनाउँदै आएका कुमालेहरुले समेत अहिले माटाका भाँडा बनाउन छाडेका छन् । वृद्धले काम गर्न नसक्ने तथा युवाले चासो नदिएका कारण यस पेसाप्रति आकर्षण घटेको हो ।

“झन्झटिलो लाग्ने भएकाले माटोको भाँडा बनाउन युवाले चासो दिएका छैनन्” स्थानीय छक्क कुमालले भन्नुभयो । तीन पुस्ता अघिदेखि माटोका भाँडा बनाउँदै आएका कुमाल परिवार यही व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समय सिप्खाना गाविसको दुई परिवारले मात्रै माटोको भाँडा बनाउँदै आएका छन् । स्थानीय उदे कुमाल आफूले पाँच दशकदेखि माटाका भाँडा बनाउने कामलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ । उहाँसँगै जोखे कुमालले पनि माटोको भाँडा बनाउँदै आउनुभएको छ । उनीहरुले परम्परागत सामग्रीबाट माटोको गाग्री, मटेङ्ग्रा, माट, गमला, मलिया, घडिया, तेलाखे, भुजुङ, मल्सेलगायत भाँडा बनाउने काम गर्दै आएको बताइएको छ ।

अहिलेसम्म आफूहरुले पुख्र्यौली पेसा धाने पनि युवा पुस्ताको चासो नभएकाले माटाको भाँडा बनाउने पेसा सङ्कटमा परेको कुमाल बताउनुहुन्छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २ गते आइतबार