रूकुम । द्वन्द्वको समयमा सदरमुकाम मुसीकोटमा दैनिकजसो कफ्र्यु लाग्थ्यो । ०५८ पुस ९ गते राति मिरुल २ की पबिता बुढा बोहरा गाउँमा रहेको नेपाली सेनाको ब्यारेक नजिकैको घरबाहिर निस्किएका बेला सेनाले गोली हान्यो । गोली लागेर उनको मृत्यु भयो ।
उनले बोकिरहेकी एक वर्षे बालिका बेसहारा बनिन् । तिनै बालिका अमृता बुढालाई द्वन्द्वकै समयमा तकसेराबाट विस्थापित भएर सदरमुकाम बस्दै आएका दुर्गा बुढा र भागिसरा बुढाले पालनपोषण गरे । बुढा दम्पतीको एकएक वर्षको अवधिमा तीन वर्षअघि मृत्यु भएपछि उनी थप संकटमा परिन् ।
तर, अघिल्लो साता अमृता जिल्ला बालकल्याण समितिको सम्पर्कमा आइन् । समितिले उनको परिवारका बारेमा खोजी गर्यो । प्रहरीको सहयोगमा घरपरिवारको अवस्था पत्ता लाग्यो । छोरीबारे थाहा पाएपछि रोल्पाबाट दुई दिन हिँडेर उनका बुबा मुलबहादुर आइपुगे ।
मुसीकोटमा भएको पुनर्मिलन कार्यक्रममा बाबुछोरीले खुसीको आँसु बर्साउँदै अँगालो हाले । सँगै रहेका बालकल्याण समितिका पदाधिकारीहरूले ताली बजाए ।
मुलबहादुर पत्नीको मृत्यु हुँदा विदेशमा थिए । ‘विदेशबाट फर्केपछि केही वर्षअघिसम्म छोरीको खोजी गरियो,’ उनले भने, ‘नभेटाएपछि आमासँगै उनको पनि मृत्यु भयो होला भनेर खोजी गर्न छोडियो ।’
छोरीसँग १४ वर्षपछि भेटेका उनले उसले पुनर्जन्म पाएको बताए । बालकल्याण समितिका अधिकृत मानवीर ओलीले अमृताको शिक्षादीक्षा र पालनपोषणका लागि परिवारको जिम्मा लगाइएको जनाए । ‘आफ्नो परिवारमा जस्तो अन्यत्र संरक्षण नहुने भएकाले प्रहरीको सहयोगमा पारिवारिक पुनर्मिलन गराइयो,’ अधिकृत ओलीले भने ।
बुबासँग भेट भएकोमा अमृता निकै खुसी छिन् । ‘वर्षौपछि आफ्नो परिवार र कुटुम्बहरूसँग पुनर्मिलन हुँदा पुनर्जन्म पाएकी छु,’ उनले भनिन्, ‘यो मेरा लागि अहोभाग्य हो ।’ उनले अब परिवारसँगै बसेर पठनपाठनलाई निरन्तरता दिने बताइन् । आमाको सम्झनासमेत नभए पनि उनलाई आमाको यादले अझैसम्म सताइरहेको छ ।
बुबा मुलबहादुरले छोरीलाई आमाबाबु दुवैको माया र अभिभावकत्व दिएर पालनपोषण गर्ने बताए । ‘हामीले माया मारेकी छोरीसँग पुनर्मिलन भएको छ,’ उनले भने, ‘अब छोरीलाई राम्ररी पढाएर उसको सपना पूरा गर्ने छु ।’
श्रोतः कान्तिपुर दैनिक
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार