ग्रेटर अष्टिनको दोश्रो साधारण सभा फेब्रुअरी १४ मा




के सी शेर/अष्टिन टेक्सास–
टेक्सासको अष्टिन स्थित ग्रेटर अष्टिन नेपाली सोसाइटीले आफ्नो दोस्रो साधारण सभा गर्ने भएको छ । आउँदो फेब्रुअरी १४ तारिख आइतबार सोसाइटीले दोस्रो साधारण सभा गर्न लागेको अध्यक्ष गेहेन्द्र के सी ले बताए ।
‘समुन्नत नेपाली समुदायका लागि मजबुत संगठन’ भन्ने नाराका साथ हुन लागेको सोसाइटीको दोस्रो साधारण सभाले वर्ष भरीका कार्यको समिक्षा तथा आगामी वर्षको कार्ययोजना समेत तय गर्ने अध्यक्ष के.सी. को भनाई छ । अष्टिनमा नेपालीहरुका लागि बिभिन्न सामाजिक तथा सेवामुलक कार्य गर्दै आएको सोसाइटीले आगामी दिनमा सहभागितामुलक, उत्साहजनक र अझ प्रभावकारी ढंगले अगाडी बढ्न खेल्नुपर्ने भुमिकाका लागि पनि साधारण सभाबाट रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको छ ।
विधिवत रुपमा गत वर्ष स्थापना भएको सोसाइटीले नेपालका भुकम्प पीडीतका लागि सहयोग संकलन, सामुहिक वनभोज, नेपाली पाठशाला, रक्तदान, निशुल्क स्वास्थ्य शिविर, दशैं तिहार तथा तिज धमाका, देउसी भैलो लगायतका सामाजिक कार्य गर्दै अष्टिनमा नेपालीहरु माझ लोकप्रिय बन्दै गइरहेको छ ।
साधारण सभाले यस वर्ष पनि नेपाली नयाँ वर्षका अवसरमा गर्ने वनभोज तथा खेलकुद प्रतियोगितालाई व्यवस्थित र गत वर्ष भन्दा भव्य वनाउन गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्ने बताइएको छ ।
यसैबिच सोसाइटीले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिन इच्छुक नेपालीलाई दुई वर्षको लागि १० डलर र आजिबन सदस्यका लागि १५० डलर तिरेर सदस्यता लिन आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार