बिश्वकप क्रिकेटमा नेपाल र आयरल्याण्डमा मैदानमा, नेपालको राम्रो प्रदर्शन



माघ १६ । बंगलादेशमा जारी आइसीसी अन्डर नाइन्टिन बिश्वकप क्रिकेटमा अहिले नेपाल र आयरल्याण्ड भिडिरहेका छन् ।
फतुल्लाहको खान शाहेब रंगशालामा टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ रोजेपछी नेपाल अहिले फिल्डिङ गरिरहेको छ । आज बिजयी हुन सके नेपालको क्वार्टरफाइनल प्रबेशको संभावना बलियो हुने छ ।
समुह डि मा रहेको नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराउँदै सनसनीपुर्ण सुरुवात गरेको थियो । यही समुहको अर्को खेलमा आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।
आजै हुने समुह डि को अर्को खेलमा भारत र न्युजिल्याण्ड भिड्दै छन् । नेपालले आयरल्याण्डलाई र भारतले न्युजिल्याण्डलाई हराउन सके समुह को अन्तिम खेल खेल्नु अगावै नेपाल र भारत प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गर्ने छन् ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । नेपालले बिश्वकप छनोट प्रतियोगितामा आयरल्याण्डलाइ नै पराजित गर्दै बिश्वकपमा स्थान सुरक्षित गरेको थियो ।
आयरल्याण्डले भने समुह डि बाट सुरक्षाको कारण देखाउदै अष्ट्रेलियाले नाम फिर्ता लिएपछि प्रतियोगितामा सहभागी हुने मौका पाएको हो ।
बलियो टोली न्युजिल्याण्डबिरुद्धको जितले हौसिएको नेपालले आज आफ्नै स्तरको प्रतिद्वन्द्वी आयरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाइनल प्रबेशको सम्भाबना बलियो बनाउने अपेक्षा गरिएको छ ।
सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन बिश्वकपमा सहभागी हुदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धी दोहोर्‍याउन सकेको छैन । अन्डर नाइन्टिन बिश्वकप क्रिकेटको दोस्रो चरणमा स्थान बनाउने नेपाल एक मात्र एसोसियट राष्ट्र हो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १६ गते शनिबार