28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

जाडोमा छातीका समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १३, २०७२  

माघ १३
-डा. मिलेसजंग सिजापती
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखा पर्छ । यस्तो बेलामा रुघाखोकी (सिजनल फ्लु)ले ज्यादा सताउँछ । इन्फ्लुएन्जा भाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ । हरेक वर्ष इन्फ्लुएन्जा फरक फरक स्वरुपमा देखा पर्छ ।

सिजनल फ्लुका विभिन्न चरण हुन्छन् । इन्फ्लुएन्जा ए, बी आदि । सामान्य खालको रुघाखोकीमा भने एन्फ्लुएन्जा ए र बीको संक्रमण हुन्छ । रुघा लाग्ने, खोकी, घाँटी दुख्ने र कसैकसैलाई पखालालगायत पेटका समस्या पनि देखा पर्न सक्छ । इन्फ्लुएन्जाको संक्रमण हुने व्यक्तिले भाइरस अरुमा नसरोस् भनेर निकै ध्यान दिनुपर्ने हुन्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, मास्क लगाउने, छुट्टै खालका रुमाल प्रयोग गर्नु राम्रो हो ।

उपचारका लागि भने सिटामोललगायत एन्टी–एलर्जिक ट्याब्लेटहरु र पानीको बाफ लिनुपर्छ । यो बेलामा तातो चिज सेवन गर्ने र शरीरलाई तातो राख्ने गर्नुपर्छ । पाँच÷६ दिनमा संक्रमण आफैँ कम भएर जान्छ । जाडोमा धुलोको समस्या पनि ज्यादा हुन्छ । यसले एलर्जीको समस्या निम्त्याउन सक्छ । कसैकसैलाई भने चिसोको एलर्जी पनि हुन सक्छ ।

दम भएका मानिसलाई चिसोको बेलामा अझै समस्या हुन सक्छ । दम दुई प्रकारको हुन्छ, एउटा आस्मा र अर्को दीर्घरुपमा हुनसक्ने दम । यसलाई हामी सिओपिडी भनेर चिन्न सक्छौँ । आस्मा भनेको सिजनल प्रकृतिको दम हो । सिजनल दम बाल्यावस्थादेखि नै हुन सक्छ । कसैलाई जाडो या चिसोको एलर्जी छ भने यो समयमा उनीहरुलाई झनै दुःख दिन सक्छ । एकातिर फ्लुको संक्रमणको खतरा भने अर्कातिर आस्माको डर । दुवै खालको जटिलता निम्तिन सक्छ । त्यसैले आस्माका बिरामीले जाडोको समयमा स्वास्थ्यको ज्यादा ख्याल गर्नुपर्ने हुन्छ । आफूलाई तातो राख्नु र बिहानको चिसोमा बाहिर ननिस्कनु उपयुक्त हुन्छ । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हो । त्यसमा पनि बाक्ला लुगा लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ । दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रुप लिन सक्छ ।

हामीले सोझै चिसोले बिरामीलाई असर ग¥यो भन्ने बुझ्छौँ । तर, त्यसो नभई चिसोका कारणले भाइरस सक्रिय भई हाम्रो शरीरमा आक्रमण गर्ने हो । फ्लु, कोल्ड एलर्जीलगायतले शरीरमा असर गर्छ । कोल्ड एलर्जी भएको व्यक्तिले सबैभन्दा बढी आफूलाई जोगाउन ध्यान दिनुपर्छ । खालि फ्लु मात्रै नभई राइनो, एग्नोलगायत अरु भाइरसका कारण पनि शरीरमा असर गर्ने हुन्छ ।

जाडोमा सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको जोखिम पनि उच्च हुन्छ । बालबालिकामा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुँदैन । प्रतिरोधको क्षमता त्यसै पनि कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रुप लिन सक्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल अस्पताल गएर उपचार गरिहाल्नुपर्छ । साना बच्चामा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, खकार प“हेलो आउने आदि निमोनियाका लक्षण हुन् । निमोनियाले संक्रमण गर्ने फोक्सोमै हो । उपचारका लागि चिकित्सकलाई नै देखाउनु अनिवार्य हुन्छ । भाइरल निमोनिया छ भने एन्टिभाइरल लिनुपर्छ । ब्याक्टेरियल निमोनिया अर्थात् पहिले बिरामीलाई रुघा लागेको छ, पछि खकार पहेँलो हुन थाल्यो भने त्यसलाई ब्याक्टेरियर निमोनिया भन्छौँ । त्यसका लागि एन्टिबायोटिक लिनुपर्ने हुन्छ । भाइरल निमोनिया र फ्लुहरु मात्र छ भने प्यारासिटामोललगायतले पनि सजिलो हुन्छ ।

नवजात शिशुमा रेस्पेटल सिरेरस भाइरल हुन्छ । भाइरल निमोनियाको समस्या नै ज्यादा बेहोर्नुपर्ने हुन्छ । त्यसैगरी, ब्रोङकाटिसले पनि समस्या निम्त्याउँछ । रुघाखोकी लाग्दा नाकलगायत घाँटीमा संक्रमण भएपछि छातीमा पुग्छ । छातीमा पुगेर त्यसले श्वासप्रश्वास नलीमा असर गर्न थालेपछि त्यसले सुकाएर सा“घुरो बनाइदिन्छ । त्यसले घ्यारघ्यार सुरु हुन्छ । त्यसलाई हामी एकिट ब्रोङ्काइटिस भन्छौँ । सास फेर्न गाह्रो भए पनि बिरामीहरु चिकित्सककहाँ आउने गर्छन् । त्यसपछि छाती घ्यारघ्यार हुन्छ । यसलाई हामी बोलीचालीको भाषामा रुघा छातीमा पुग्यो भन्ने गर्छौं ।

यसको उपचारका लागि साँघुरो भएको छातीको नली फुकाउनुपर्ने भएकाले ब्रोङ्को डाइरेक्टस गरिन्छ । श्वासनलीको जाम हटाउन ठूलो पार्ने औषधि दिइन्छ । नेबुलाइजरको प्रयोग, बाफहरु दिएर यो काम गरिन्छ । अड्केको खकार निकाल्न खोकीको औषधि पनि दिइन्छ ।

अहिले अत्यन्त चिसो मौसम छ । नाकाबन्दीले यातायात अभाव हु“दा सबै जना बसको छतमा बसेर यात्रा गर्न बाध्य छन् । उनीहरुलाई चिसो हावाका कारण संक्रमण हुन सक्ने खतरा हुन्छ । सकेसम्म बसको छतमा यात्रा नगरी भित्र सिटमै बस्नु राम्रो हो । बालबालिका र चिसोको एलर्जी हुनेले छतमा यात्रा नगर्दा नै जाती हुन्छ । बाक्लो लुगा, माक्स र गलबन्दी लगाएर हि“ड्दा चिसोबाट बच्न सकिन्छ ।

चिसोमा फ्लु सर्ने सम्भावना ज्यादा हुने भएकाले मास्क लगाएर हिँड्दा संक्रमणको खतरा टर्छ । सबै जना बसमा कोचिएर हिँड्ने भएकाले पनि म मास्कको प्रयोगमा ज्यादा जोड दिन्छु । बाहिर हि“ड्दा प्रयोग भएको हात सकेसम्म धुनुपर्छ ताकि संक्रमण नहोस् । मोटरबाइकमा हिँड्नेहरुलाई पनि चिसोले सताउन सक्छ । जरुरी छैन भने बिहानमा नहिँड्दा हुन्छ । हिँड्नै परे हावा नछिर्ने खालका कपडा लगाउनु बुद्धिमानी हुन्छ ।

प्रौढको कुरा गर्दा ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति, जो मधुमेह, दमलगायतका रोगबाट पीडित छन्, ले आफूलाई सकेसम्म चिसोबाट जोगाउनु राम्रो हो । दम, मधुमेह र मिर्गाैलाको समस्या भएका बिरामीलाई हामीले नोभेम्बरदेखि फ्लु सट भनिने फ्लुको भ्याक्सिन पनि दिन थालेका छौँ । हरेक साल लिनुपर्ने यस्ता खोपले संक्रमणको जोखिम घटाउँछन् । दम भएका मानिसले पनि यो बेलामा निरन्तर चिकित्सकहरुस“ग परामर्श लिनुप¥यो । रुघाखोकी भएका मानिसलाई सकेसम्म बच्चा र बुढाबुढीको संसर्गबाट टाढा राख्नुपर्छ ।

जाडोको समयमा युवा वर्गले ज्यादा धूमपान गर्ने, मद्यपान गर्ने प्रचलन छ । यसले कुनै पनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । धूमपानले फोक्सो बिगार्ने र मदिराले कलेजोलगायतका अंगलाई बिगार्ने काम गर्नुहँुदैन ।

दम भएको मानिसले आगो ताप्ने कि नताप्ने भन्ने जिज्ञासा धेरै हुन्छ । दमका बिरामीले धुवाँयुक्त आगो ताप्नु त्यत्ति उपयुक्त होइन । आगोको ताप ठीक हो, धुवाँ बेठीक हो । लोडसेडिङ र ऊर्जा संकटका बेला आगो ताप्नुको विकल्प छैन तर धुवाँलाई कम गर्ने उपाय अपनाउनुपर्छ र त्यसबाट आफू जोगिनुपर्छ । दाउरा र गोलको तुलनामा बरु ब्रिकेट राम्रो हो ।

धुवाँ हराइसकेको आगो, त्यो पनि भेन्टिलेसन भएको कोठामा ताप्दा हुन्छ । नत्र चिसोबाट जोगिन आगो ताप्दा त्यसबाट उत्पन्न हुने धुवाँका कारण कार्बन मोनोअक्साइडको अर्को रोग निम्त्याउन सक्छ । दम भएको मानिसमा यसै पनि फोक्सो र श्वासप्रश्वासको समस्या हुन्छ । त्यसमाथि कार्बन मोनोअक्साइडजस्तो प्रदूषणयुक्त ग्यासले स्वास्थ्यस्थिति झनै बिगार्छ । धुवाँले बोङ्काइटिस हुन्छ, त्यसको नियमित संसर्गले एक्युट हँुदै क्रोनिक ब्रोङ्काइटिससम्म हुन सक्छ । धुवाँले फोक्सोको तहसमेत बिगार्ने हुन्छ ।

धुवाँयुक्त आगोका कारण सामान्य मानिसलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुन सक्छ । जाडोका कारण सबै झ्यालढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्बन मोनोअक्साइड कोठाभर फैलदा टाउको भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुन सक्ने जोखिम पनि हुन्छ । काठमाडौँ वरपरका गाउ“मा पनि मकल बालेर आगो ताप्ने गरिन्छ । त्यसो गर्दा पनि यस्तै खतरा हुन्छ । त्यसैले कोठाभित्र आगो बाल्दा भेन्टिलेसन जरुरी हुन्छ ।
(सिंजापती नर्भिक अस्पतालमा कार्यरत छन् ।)

प्रकाशित मितिः बुधबार, माघ १३, २०७२     6:59:16 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *