16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सरकारको काम प्रभावकारी भएन : प्रचण्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २९, २०७२  

 

२९ पुस, सुर्खेत । एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको काम प्रभावकारी नभएको भन्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कुरा गर्ने बताएका छन् ।

बुधबार सुर्खेतमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘सरकारको काम जति प्रभावकारी ढंगले हुनुपर्दथ्यो, हुन सकेको छैन । सरकारलाई प्रभावकारी बनाउने बारेमा समीक्षा गर्दैछौं, प्रधानमन्त्रीजीसँग पनि छलफल हुन्छ ।’

तर, अहिले सरकार बनाउने र गिराउने खेलमा नलागी राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने प्रचण्डले बताए । सदनमा संविधान संशोधन विधेयक दर्ता भएकाले अब समस्या छिट्टै टुङ्गिने उनले बताए ।

नेपालको आन्तरिक समस्याले नाकाबन्दी नहुनुपर्ने भन्दै प्रचण्डले नाकाबन्दी खोल्न सरकारका तर्फबाट कुटनैतिक पहल भइरहेको छ र अब चाँडै नाका खुल्ने बताए ।

घाइते योद्धाको उपचारका लागि कोष बनाइने

प्रचण्डले बुधबार बिहान जनयुद्धका घाइते योद्धाहरुलाई भेट गरे । भेटका क्रममा प्रचण्डले घाइतेहरुको नियमित उपचार व्यवस्थाको निम्ति पार्टीले कोष खडा गर्ने निर्णय गरेको जानकारी दिए ।

‘जीवन निर्वाह भत्ता नपाएका घाइते योद्धाहरुको सरकारबाट भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिनेछ,’ प्रचण्डले भने- ‘जनयुद्धमा घाइते हुनुभएका कमरेडहरुले पार्टी नेतृत्व र क्रान्तिप्रति उच्च मनोबलका साथ आस्था बचाएर राख्नुभएको छ, यसप्रति धन्यवाद दिन चाहान्छु ।’

नेपालबाटै विचारको आविस्कार हुन्छ

यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि विचार, सोच र शैलीमा गुणात्मक फड्को अपरिहार्य भएको र नेपालबाटै विचारको आविश्कार हुने बताएका छन् । ६ नं. प्रदेश समितिको प्रथम विस्तारित बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले भने- हामीले जनयुद्ध केवल नेपालको लागि मात्र गरेका थिएनौं । त्यो संसारभरिका उत्पीडित वर्गका निम्ति पनि गरेका थियौं, नेपालबाट नयाँ विचारको आविश्कार सम्भव छ ।

समाजवादी क्रान्तिको तयारीको सम्पूर्ण खाका बनाईएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले नै समाजवादी क्रान्तिको निम्ति उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।

‘सोच शैलीमा गुणात्मक रुपले नयाँ नमूना प्रस्तुत गर्न वैचारिक, स्पष्टता, सोही अनुरुपको संगठनात्मक ढाँचा, सोच र शैलीले नै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ,’ उनले भने ।

अध्यक्षले प्रचण्डले ६ नं. प्रदेश नयाँ बन्यो र उदाहरण बन्यो भने त्यो कणर्ालीका लागि मात्र होइन, सिंगो नेपालको निम्ति उदाहरण हुने बताए । उनले भने- ‘म आफूलाई मूल नेतृत्वको हैसियतले जनयुद्धभन्दा कम सक्रिय छैन । मेरो आफ्नो पूरा जीवन विचार निर्माणमा केन्दि्रत रह्यो, त्यसपछि पार्टी एकता गर्ने, जनयुद्ध तयारी गर्ने र जनयुद्ध सञ्चालन गर्नै मै व्यस्त भयो । त्यसपछि शान्ति प्रक्रियामा मौलिक ढंगले सफल पार्नमा लाग्यौं ।’

प्रचण्डले भने- संविधान बन्ने बेलासम्म पनि नेतृत्व हामीले नै गर्‍यौं । हामी विश्वभरिका मुक्तिकामी जनताको मुक्तिको अठोट लिएर हिँडेका मानिसलाई सानोतिनो कुराले रोक्दैन, छेक्दैन ।’

६ नम्बर प्रदेशको बैठकमा प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले ६ नं. प्रदेशको अगामी कार्ययोजना पेश गरेका थिए । त्यस्तै स्थायी समिति सदस्य तथा केन्द्रीय उत्पादन विभागका इञ्चार्ज लोकेन्द्र विष्टमगरले उत्पादनसम्बन्धी प्रशिक्षण दिएका थिए । बैठकको सञ्चालन पार्टीका पोलिट्व्युरो सदस्य तथा प्रदेश समिति सचिव कालीबहादुर मल्लले गरेका थिए । बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव कृष्णबहादुर महरा पनि सहभागी थिए ।

प्रकाशित मितिः बुधबार, पुस २९, २०७२     4:57:02 PM  |