जाजरकोट अस्पतालमा सिटामोल मात्रै



पुष २३ गते

 

जाजरकोट– जिल्ला अस्पताल जाजरकोटमा औषधिको चरम अभाव भएको छ । अस्पतालमा औषधि ढुवानीको नियमित काम समयमै हुन नसक्दा औषधिको चरम अभाव भएको हो ।

वर्षभरिको सबै औषधि समयमा ढुवानी गरिसक्नुपर्ने भए पनि अहिलेसम्म औषधि आपूर्ति नहुँदा अस्पतालमा भर्ना हुने र भर्ना नभएर उपचार लिन आउने सर्वसाधारण मर्कामा परेका छन् । सामान्य प्रकारको औषधि पनि अस्पतालमा पाउन नसकेको बिरामीको गुनासो छ ।

सरकारले स्वास्थ्य चौकीमा ७० प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १०० प्रकारको औषधि निःशुल्क दिने भने पनि यतिबेला जाजरकोट अस्पतालमा औषधिको चरम अभाव भएको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक आठदेखि १३ जनासम्म बिरामी भर्ना हुन आउने गरेको छ । त्यस्तै सामान्य जाँच गराएर जानेको सङ्ख्या धेरै भए पनि अस्पतालबाट औषधि पाउने अवस्था नभएको सेवाग्राहीको गुनासो छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २३ गते बिहीबार