25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

८ कक्षाका विद्यार्थीबाट ८ लाख असुली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २३, २०७२  

पुस २३

 जुम्ला – जिल्ला शिक्षा कार्यालय जुम्लाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीबाट रु आठ लाख असुली गरेको पाइएको छ ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिशिका जुम्लाले प्रतिविद्यार्थी रु ३०० का दरले रु आठ लाख ४९ हजार शुल्क असुलेको पाइएको हो ।

जिल्लाका सबै विद्यालयले दुई हजार ६८३ विद्यार्थीबाट प्रतिविद्यार्थी रु तीनसयदेखि सातसयका दरले असुलेको खुलासा भएको छ । जहाँ कि शिक्षा नियमावलीको परिच्छेद २५, नियम १४७ को उपनियम ६ मा ऐनबमोजिम निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएपछि सामुदायिक विद्यालयले कक्षा ८ सम्मको आधारभूत शिक्षा प्रदान गर्न विद्यार्थीबाट शुल्क लिन सक्ने छैन भन्ने उल्लेख गरिएको छ ।

यही विषयलाई लिएर नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महत नेतृत्वको सम्पूर्ण सञ्चारकर्मीको टोलीले जिशिकाले विद्यार्थीबाट गरेको शुल्क असुलीको सूचना माग गरेको थियो । टोलीले विद्यार्थीबाट अनियमित असुली गरिएको रु आठ लाख, यो रकम ब्यालेन्स खाताको नाम र भएको खर्चको सूचना पाऊँ भनी निवेदन गरेको थियो । तर टोलीले कक्षा ८ को जिल्लास्तरीय परीक्षा २०७२ व्यवस्थापन तथा सञ्चालनार्थ प्रतिविद्यार्थी रु तीनसय उठाउन गत कात्तिक २ गते जिशिका जुम्लाले गरेको निर्णयको प्रतिलिपिबाहेक अरू केही पाउन सकेन ।

जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीबाट एक पैसा पनि उठाउन नपाउने र यदि उठाइएको खण्डमा विद्यालय स्वयम्ले फिर्ता गर्नुपर्ने बताए । परीक्षा सञ्चालनका लागि जिशिकाबाट उपलब्ध गराइएको नन् स्यालरी पिसिएफबाट शुल्क उपलब्ध गराउन विद्यालयलाई निर्देशन गरिएको उनको भनाइ थियो । विद्यार्थीबाट लिइएको रु तीनसय जम्मा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको लेखपाल महाकृष्ण पाण्डेले बताए ।
केन्द्रबाट भने ८ कक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि रु तीन लाख तीन हजार आएको पाण्डेको भनाइ थियो ।

प्रकाशित मितिः बिहिबार, पुस २३, २०७२     1:01:05 PM  |