रुकुम, मङ्सिर १५
जिल्ला स्वास्थ्य कार्यालय रुकुममा आपत्कालीन औषधि अभाव भएको छ।
भारततीय अघोषित नाकाबन्दी र तराईमा जारी मधेसी मोर्चाको आन्दोलनले रुकुममा पनि स्वास्थ्य क्षेत्रमा नराम्ररी असर पारेको छ। जिल्ला स्वास्थ्य कार्यालयमा अहिले आपत्कालीन औषधि अभाव हुँदा बिरामी समस्यामा परेको स्वास्थ्य कार्यालयले जनाएको छ।
अति आवश्यक पर्ने औषधि केही मात्रमा रहेकाले नियमित औषधि प्रयोग गर्ने बिरामी ठूलो समस्यामा परेका छन्। यस्तै सुत्केरी भएपछि हुन सक्ने सम्भावित रक्तस्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको पनि अभाव छ। यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ।
उक्त औषधिले केही दिनलाई काम चल्ने र धेरै दिन नपुग्ने स्वास्थ्य संस्थाको भनाइ छ। सुत्केरी हुँदा प्रयोग हुने पञ्जा पनि सबै सकिएको कार्यालयले जनाएको छ।
देशभर दैनिक करिब दुई हजारभन्दा बढी सुत्केरी हुने गर्छन्। अक्सिटोसिन सकिएपछि सुत्केरीको अत्यधिक रक्तस्राव भई ज्यान जान सक्ने सम्भावना हुन्छ। रासस
प्रतिक्रिया दिनुहोस्