बाँसगढीको उदाहरणीय कार्यः शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नेलाई सम्मान



शुभाकर विश्वकर्मा । बाँसगढी (बर्दिया) ।

बाँसगढी नगरपालिकाले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरूलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमकाबीच ५८औँ अन्तर्राष्ट्रिय सारक्षरता दिवस समारोहको आयोजना गरेर नगरपालिकाको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरूलाई सम्मान गरेको हो । सो अवसरमा बाँसगढीका विभिन्न सामुदायिक विद्यालयमा लामो समय अध्यापन गराएर सेवानिवृत्त ३१ जना शिक्षकलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । एसईई परीक्षामा सामुदायिकतर्फ उत्कृष्ट नतिजा ल्याएर पालिका प्रथम हुन सफल श्री जीवनज्योति मावि राझाले ट्रफीसहित नगद पचास हजार रूपैयाँ प्राप्त गरेको छ ।

द्वितीय भएको रामजानकी मावि भैसापुरले तीस हजार र तृतीय हुन सफल जनता मावि बठुवालाई बीस हजार रूपैयाँसहित सम्मान गरिएको हो। संस्थागततर्फ बर्दिया जिल्लाकै प्रथम हुनुका साथै बाँसगढी नगरपालिकाको उत्कृष्ट हुन सफल बालज्योति एकेडेमी ककौरालाई सम्मान गरिएको छ । एसईई परीक्षा–२०८१ सामुदायिक विद्यालयतर्फ ३.९१ जिपिए ल्याएर नेपाल राष्ट्रिय माविका छात्र कृष्णप्रसाद तिवारी र ३.८९ जिपिए ल्याएर उत्कृष्ट हुन सफल सोही विद्यालयकी छात्रातर्फ श्रेया पाण्डेलाई प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।

उनी सामुदायिक विद्यालयबाट छात्रातर्फ बर्दिया जिल्ला प्रथमसमेत हुन् । यस्तै संस्थागत विद्यालयतर्फ ३.९६ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेका बाँसगढी एकेडेमी बाँसगढीका मानव पौडेललाई सम्मान गरिएको थियो । पौडेल संस्थागत विद्यालयतर्फ बर्दिया जिल्ला प्रथमसमेत हुन् । समान ३.८६ जिपिए ल्याउँदै छात्रातर्फ पाालिका उत्कृष्ट हुन सफल बाँसगढी एकेडेमी बाँसगढीकी आयुसा चौधरी र बालज्योति एकेडेमीकी प्रकृति पाण्डेलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी १४ सामुदायिक विद्यालयका उत्कृष्ट तीनजना गरी कूल ४२ जना विद्यार्थी र ३४ जना उत्कृष्ट विषयगत शिक्षकलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

नयाँ शैक्षिक सत्रमा धेरै विद्यार्थी भर्ना गर्न सफल बालकल्याण प्राविलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रको विकासमा स्थानीय सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताए । ‘शैक्षिक पूर्वाधार निर्माण गरिरहेका छौँ । विद्यार्थीको क्षमता विकास गरिरहेका छौँ । शिक्षकलाई प्रोत्साहनको नीति लिइएको छ । विद्यालयको नेतृत्वले खेलेको भूमिकाप्रति नगर नतमस्तक छ,’ नगरप्रमुख खड्काले भने ।

पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकहरूको आर्षकण घट्दो क्रममा रहेकोले स्थानीय सरकारले सुधारको नीति लिएकोपनि उनको भनाइ थियो । बालविवाह र लागूऔषध विद्यालय शिक्षाका समस्याका रूपमा देखापरेको भन्दै बालबालिकाहरूलाई प्रभावित हुन नदिन नगरपालिकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । समृद्ध र शैक्षिक नगर बनाउनको लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेकोले नगरपालिकाले विद्यालय प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख खड्काले बताए ।

यस्तै बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले निरक्षरलाई साक्षर बनाउने अभियान नगरपालिकाले सुरू गरेको बताइन् । उनले सिंगो नगरपालिकालाई डिजिटल बनाउन पहल सुरू भएको बताइन् । ‘सबैकोे अठोटले नगर शिक्षामैत्री हुन्छ । यसको नेतृत्व नगरले गरेको छ । यसमा सबैले हातेमालो गरौँ’ उनले बताइन् । बाँसगढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनप्रसाद रेग्मी विद्यालय, विद्यार्थी र शिक्षकहरूलाई प्रोत्साहन गर्नको लागि नगरपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको बताए । उनका अनुसार यसअघि बाँसगढीमा केही वर्षदेखि दिवसको अवसरमा कार्यक्रम आयोजना गर्ने र सम्मान गर्ने काम हुन सकेको थिएन ।

तर बाँसगढीको शैक्षिक सुधारमा योगदान दिएका र दिनेहरूलाई सम्मान गरी प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले शिक्षा दिवसको अवसर पारेर सम्मान गरेको हो । उनका अनुसार बाँसगढी नगरपालिकालाई डिजिटल पालिका घोषणा गरिएको छ । सोहीअनुसार बाँसगढीका सम्पूर्ण विद्यालय डिजिटल बनाउने र स्मार्ट विद्यार्थी र शिक्षक भन्ने ध्येयसहित नगरपालिकाले अघि बढिरहेको शाखा प्रमुख रेग्मीले बताए । सम्मान कार्यक्रममा बोल्दै एसईई परीक्षामा उत्कृष्ट भएका नेपाल राष्ट्रिय माविका छात्र कृष्णप्रसाद तिवारीले एसईईमा पालिका प्रथम भएकोमा खुसी व्यक्त गरे । उनले आफूलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्ने शिक्षक र अभिभावकलाई धन्यवाद प्रकट गरे ।

‘आज मलाई नगरपालिकाले सम्मान गरेको छ । सर्वप्रथम त धन्यवाद दिन चाहन्छु । पढाइमा लगनशील हुन म सम्पूर्णलाई आग्रह गर्दछु,’ उनले भने । यसैगरी, सम्मानित सेवानिवृत्त शिक्षकहरूका तर्फबाट बोल्दै हरिराम थारूले सम्पूर्ण शिक्षकहरूको तर्फबाट नगरपालिकालाई धन्यवाद प्रकट गरे । सेवानिवृत्त भइसकेपछि पनि नगरपालिकाले सम्मान गर्दा आफूहरू खुसी भएको बताए । उनले भने, ‘लामो समय शिक्षण गरियो । सेवानिवृत्त भएको केही वर्ष भयो । अहिलेपनि शिक्षा क्षेत्रको विकासका लागि लागिपरेका छौँ । नगरपालिकाले हाम्रो आवश्यकता महशुस गरेमा हामी जस्तो पनि सहयोग गर्ने तयार छौँ ।’

शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षिकाहरूका तर्फबाट बोल्दै शिक्षिका पवित्राकुमारी देवकोटाले नगरपालिकाले शिक्षकहरूलाई हौसला प्रदान गरेको बताइन् । यस्तो कार्यक्रम आगामी दिनमा पनि लागु गर्न उनले आग्रह गरिन् । नगरपालिकाले सम्मान गर्दा कर्म गर्न थप हौसला मिलेको उनको भनाइ थियो । सम्मान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विव्यस अध्यक्ष भिमबहादुर खत्रीले नगरले नमुना कार्यक्रम आयोजना गरेको बताए । शिक्षक र विद्यार्थी सम्मानले अरूलाई समेत प्रेरणा मिल्ने खत्रीले बताए ।
बाँसगढीमा ४० सामुदायिक र १६ संस्थागतसहित दुई वटा बहुमुखी क्याम्पस रहेका छन् । बाँसगढीमा कूल ९५४० विद्यार्थी रहेका छन् । तीमध्ये ४ हजार ६०८ छात्र र ४ हजार ९३२ छात्रा रहेका छन् । सम्मान कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार