कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित ब्रीज इन्टरनेशनल स्कुलमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक अभिमुखीकरण सम्पन्न भएको छ । माइती नेपाल नेपालगन्ज र समाज सेवा संस्था नेपाल कोहलपुर बाँकेको संयुक्त आयोजनामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा स्कुलका विद्यार्थीहरूलाई मानव बेचबिखन र ओसारपसारका विषयमा सचेतना प्रदान गरिएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले बताए ।
उनका अनुसार उक्त स्कुलका विद्यार्थीहरूलाई मानव बेचबिखनको अवस्था, कारण र समाधानका उपायका विषयमा जानकारी गराइएको थियो । ‘हामीले विभिन्न सामाजिक समस्याका विषयमा विद्यालयस्तरमा अभियान नै सञ्चालन गरिरहेका छौँ । सचेतना, सडक नाटक लगायतका माध्यमबाट विद्यार्थीहरूलाई सुसूचित गरिरहेका छौँ । यस विषयमा माइती नेपालसँग सहकार्य गरेर हामीले कार्यक्रम आयोजना गरेका थियौँ,’ अध्यक्ष थापाले भने ।
कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले माइती नेपालले मानब बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको बताए । उनका अनुसार पछिल्लो समय मानव बेचबिखन प्रमुख समस्याको रूपमा रहेको छ । यसको समाधानका लागि सम्पूर्ण नागरिकको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
ब्रीज इन्टरनेशनल स्कुलका सञ्चालक समीर घर्तीले आफ्नो विद्यालयमा आएर मानव बेचबिखन जस्तो संवेदनशील विषयमा विद्यार्थीहरूलाई महत्वपूर्ण ज्ञान प्रदान गरेको भन्दै आयोजकप्रति धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा थापा र कोइलाराले मानव बेचबिखन भनेको के हो ? यसको कारण र कानुनी व्यवस्था तथा समाधानका उपायका विषयमा प्रशिक्षण दिएका थिए । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा कक्षा ८, ९ र १० का १५० जना बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्