बहुप्रतिभाशाली वैज्ञानिक बेन्जामिन फ्रान्कलिन



बेन्जामिन फ्रान्कलिनको जीवन अनेक उपलब्धिहरूको गाथा हो । शिक्षा होस् या साहित्य, प्रकाशन होस् या व्यवसाय, शासन होस् या आविष्कार हरेक क्षेत्रमा उनको उपलब्धि महान थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा पनि उनी अत्यन्त लोकप्रिय थिए । बेन्जामिन फ्रान्कलिनको जन्म अमेरिकाको बोस्टन सहरमा १७ जनवरी १७०६ मा भएको थियो । सबै मिलाएर उनका सत्र भाइबहिनीहरू थिए ।

चिन्तामणि घिमिरे

आकाशमा गड्याङगुडुङ गर्दा, चट्याङ परेर बिजुलीको प्रकाश आवाजसहित मानव बस्तीमा आउँदा नडराउने को पो होला र ? म सानो छँदा बिजुलीको गड्गडाहट सुनेर र आवाजसहित प्रकाश धर्तीमा आउँदा निकै डर लाग्थ्यो । अग्रजहरूलाई सोध्दा उनीहरूको गतिलो जवाफ पाइँदैनथ्यो । सबै कुराको जस भगवानलाई दिन्थे । यो सबै भगवानले नै गराएका हुन् भन्ने मान्यता थियो । हामीलाई पनि त्यही सिकाइयो । पछि बुझ्दै जाँदा त प्राकृतिक कारणले चट्याङ पर्दोरहेछ भन्ने बुझियो । हामीलाई गलत कुरा सिकाइएको रहेछ । विज्ञान बुझ्दै जाँदा गलत मान्यताहरू ओझेल पर्दै गए । विज्ञानले यी काल्पनिक र परम्परावादी मान्यताहरूलाई खारेज गरिदियो ।

ईश्वर क्रुद्ध भएर आसुरी शक्तिमाथि घनले हिर्काउँदा चट्याङ पर्छ भन्ने मानिसको विश्वास थियो । फ्रान्कलिनले यसै भ्रमलाई चिर्न चाहन्थे । उनी चट्याङ पर्दा बादलमा बिजुली प्रवाह हुने कुरा संसारलाई देखाउन चाहन्थे । त्यसैले उनी आँधीबेहरीको पर्खाइमा थिए । रेसमको ठुलो चङ्गा, रेसमको धागो, घरको ढोकाको साँचो, बिजुली चार्ज भर्ने सामाग्री (लीडेन), धातुकै तार, उनको प्रयोगका सामाग्री थिए । उनले धातुको तारमा बाँधेर चङ्गा उडाएका थिए । चङ्गा बादलसम्म पुगेको थियो । चट्याङ प¥यो र फ्रान्कलिनको हातमा झट्का लागेको महसुस भयो ।आँधीबेहरीबीच फ्रान्कलिनले रेशमको चङ्गा उडाए । फ्रान्कलिन आफ्नो प्रयोगमा सफल भए ।

चट्याङ पर्दा बिजुली प्रवाह हुने कुरा प्रमाणित गरेरै छाडे । चट्याङ पर्दाको बिजुली र मानिसले उत्पादन गरेको कृत्रिम बिजुली उस्तै हुन भन्ने निष्कर्षमा उनी पुगे । त्यो प्राकृतिक बिजुलीलाई संकलन गर्न पाएमा पृथ्वीका मानिसहरूलाई जुगौँजुगसम्म बत्ती बाल्न पुग्ने निष्कर्षमा उनी पुगे तर त्यसलाई कसरी संकलन गर्ने भन्ने उपाय बताउन सकेनन् । उनले प्रयास त गरे तर सफल हुन सकेनन् । आकाशमा चट्याङ पर्ने कुरा भगवानको कारण नभएर उसको आफ्नै प्राकृतिक नियमकै कारण हुन्छ भन्ने टुंगोमा उनी पुगे । यसरी भगवानको एउटा भ्रम चिरियो । भगवान काल्पनिक हो भन्ने कुरा प्रमाणित भयो । अहिले पनि चट्याङ पर्ने कारण भगवानको इच्छा हो र भगवान रिसाएका कारण चट्याङ पर्छ भन्ने एउटा ठूलो जमात समाजमा विद्यमान छ । अज्ञानता अझैसम्म पनि समाजको कुनाकाप्चामा लुकेर बसेको छ । सही शिक्षा र ज्ञानको माध्यमबाट अज्ञानतालाई बढार्न सकिन्छ ।

बेन्जामिन फ्रान्कलिनको जीवन अनेक उपलब्धिहरूको गाथा हो । शिक्षा होस् या साहित्य, प्रकाशन होस् या व्यवसाय, शासन होस् या आविष्कार हरेक क्षेत्रमा उनको उपलब्धि महान थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा पनि उनी अत्यन्त लोकप्रिय थिए । बेन्जामिन फ्रान्कलिनको जन्म अमेरिकाको बोस्टन सहरमा १७ जनवरी १७०६ मा भएको थियो । सबै मिलाएर उनका सत्र भाइबहिनीहरू थिए ।
बेन आफ्नो पिताको सोह्रौँ सन्तान थिए । पिता मोमबत्ती बनाएर गुजारा गर्दथे । उनको जन्मभन्दा बीस वर्ष अगाडी देखिनै उनको परिवार इङल्यान्डबाट आएर बोसटनमा बसेको थियो । उनी जन्मँदा उनको देश अमेरिका बेलायतको उपनिवेश थियो । उनले अमेरिकी स्वतन्त्रता संग्राममा भाग लिए ।

उपनिवेश विरोधी आन्दोलनमा बेनको सक्रिय सहभागिता रह्यो । अमेरिकी स्वतन्त्रता घोषणापत्र तयार गर्नमा पनि यिनको योगदान रहेकोे देखिन्छ । बेनले आफ्नो पढाइ स्वयम् आफैँ नै सुरु गरेर आठ वर्षको उमेरमा स्कुलमा भर्ना भए तर पैसाको अभावमा उनको पढाइ बन्द भयो । बाल्यकालमा बेन आफ्नो पितासँग भन्ने गर्दथे ’म समुद्रपारि जानेछु ।’ उनले हमेशा बन्दरगाहतिर हेर्ने गर्दथे । छोराको कुरा सुनेर पिता डराउने गर्थे । उनले बेनलाई ठूलो दाई जेम्ससँग साथ लगाइदिए जो छापाखाना चलाउथे । जेम्स ‘द न्यु इङ्गल्यान्ड करेन्ट’ नामक साप्ताहिक पत्रिका पनि निकाल्थे । त्यहीँ बाह्र वर्षको बेनको काममा केही रुचि पैदा भयो । उनी टाइप सेट गर्थे, मेसिन चलाउँथे ।

साथसाथै उनको पढाइमा रुचि जाग्न थाल्यो । पैसा बँचाएर उनी नयाँ किताब किनेर पढ्थे । बेनलाई लाग्न थाल्यो कि उनी लेखक पनि बन्न सक्छन्। यद्यपि उनको दाईलाई उनको प्रतिभामाथि विश्वास थिएन । अतः बेनले आफ्नो नाम बदलेर मिसेज सारलैन्स डागवुड नामबाट लेख लेखेर दिनहुुँ रातमा प्रेसमा छपाउँथे । लेख छापिन लाग्यो । जेम्सलाई जब वास्तविक कुरा थाहा भयो तब उनले रिसमा आएर बेनलाई राम्रो–नराम्रो सबै भने । दाईको व्यवहारदेखि दुःखी भएर अठार वर्षिय फ्रान्कलिनले घर छोडिदिए र फिलाडेल्फिया गए । त्यहाँ उनलाई छापाखानामा जागिर मिल्यो । तर उनले आफ्नो निजी छापाखाना चलाउन चाहन्थे । त्यस समय उनीसँग थोरै पैसा थियो ।

अतः उनी लन्डन गए र फेरि दुई वर्षपछि फिलाडेल्फिया फिर्ता आए । त्यहाँ उनले आफ्नो छापाखाना खोले र समाचारपत्र निकाल्न लागे । उनले ‘पेन्सीलभेनिया गजेट’को स्थापना गरे । यसका कैयौँ ग्राहकहरू बने । फ्रान्कलिनले एउटा ठूलो पुस्तकालय पनि स्थापित गरे । अमेरिकामा आफ्नो ढंगको यो पहिलो पुस्तकालय थियो । अगाडि गएर फ्रान्कलिनले धेरै धन कमाए । सामाजिक एवं राजनीतिक जीवनमा पनि उनको खुब दखल थियो । सन् १७५३ मा फ्रान्कलिनलाई कोलोनियोको पोस्टमास्टर जनरल नियुक्त गरियो । १८४७ ई.मा जब अमेरिकामा पहिलोपटक डाँक टिकट छापियो, त्यस टिकटमाथि फ्रान्कलिनको नै चित्र थियोे । राष्ट्रले उनको सेवाहरूप्रति आफ्नो विनम्र श्रद्धाञ्जली यसरूपमा उनलाई दिएको थियो । यतिमात्रै हैन, जब अमेरिका स्वतन्त्र भइरहेको थियोे कन्टिनेन्टल काँग्रेसले थोमस जेफरसन, जोन एडम्स र बेन्जामिन फ्रान्कलिनको साथ मिलेर स्वतन्त्रता – घोषणापत्र तयार गर्नको लागि एक समिति बनाएको थियोे ।

घोषणापत्रको मुनि फ्रान्कलिनको हस्ताक्षर थियो । विज्ञानमा पनि उनको अमूल्य देन छ । उनले चङ्गा उडाएर यो पत्ता लगाएका थिए कि कठिन परिश्रमद्वारा उत्पन्न गरिएको कृत्रिम विद्युत् र आकाशको प्राकृतिक विद्युत् दुवैको प्रकृति एउटै छ र त्यसलाई तल झार्न (उतार्न)पनि सकिन्छ । उनीद्वारा निर्मित ‘तडित चालक’ १ (लाइटिङ कन्डक्टर) आजपनि भवनहरूको सुरक्षाको लागि घरहरूमा लगाइने गरिन्छ । उनले ‘लीडन जार’ २ मा अपेक्षित सुधार गरेका थिए । फ्रान्कलिनको विद्युत्सम्बन्धी प्रयोग उनको ‘अमेरिकाको फिलाडेल्फिया शहरमा विद्युत् – प्रेरक अवलोकन एवं प्रयोग’ भन्ने पुस्तकमा संग्रहित छ । यस ग्रन्थको सर्वत्र चर्चा भयो तथा कैयौँ भाषाहरूमा अनुवाद पनि भयो । कैयौँ वैज्ञानिकहरूले नै फ्रान्कलिनको यस ग्रन्थको तुलना न्युटनको महान ग्रन्थ ‘प्रिन्सिपिया’सँग गरेका थिए । उनलाई विज्ञान जगतले सम्मान दियो । लन्डनको रोयल सोसाइटी तथा पेरिसको रोयल एकेडेमी अफ साइन्सेजले उनलाई आफ्नो सदस्य चुन्यो ।

फ्रान्कलिन अमेरिकी जनतामा अत्यन्तै लोकप्रिय थिए । राजनीतिक सामाजिक जीवनमा उनी अग्रणी थिए । जीवनमा स्वयं ज्ञान प्राप्त गरेर उनले यति सम्मान आर्जित गरे । कुन शिक्षकले उनलाई पढाएको हो भन्ने कुरा सुन्नमा आउँदैन । आफ्नो परिश्रम र निष्ठाबाट नै उनी महान बने । सन् १७८७ मा संयुक्त राज्य अमेरिकाको संविधान निर्माण कार्यमा उनले ठूलो योगदान दिएका थिए । यस्ता बहुप्रतिभा सम्पन्न व्यक्तिको ८४ वर्षको उमेरमा सन् १७९० को अप्रिलको १७ गते निधन भयो ।

नोटः (१) तडित चालक एउटा धातुको छड हो, जो आमरूपमा अग्ला घरहरू या संरचनाहरूमाथि लगाइन्छ । यसको मुख्य काम आकाशको बिजुली (तडित)लाई सुरक्षित रुपबाट पृथ्वीमा प्रवाहित गर्नु हो ता कि भवनहरू र त्यसमा रहेका मानिसहरू तथा जीवजन्तुहरू सुरक्षित रहुन् भन्ने हो ।

नोट ः (२) लीडन जार भनेको एक प्रकारको पुरानो विद्युत् भणडारण गर्ने उपकरण हो । जसलाई स्थिर विद्युत् संग्रह गर्न प्रयोग गरिन्छ । यो आधुनिक क्यापेसिटरको प्रारम्भिक रुप हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार