
नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बजार अनुगमन कारबाही गर्ने उद्देश्यले नभई सचेतना जागरण गर्ने उद्देश्यले हुनुपर्ने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले नजिकिँदै गरेका चाडबाडको पूर्वसन्ध्याको अवसर पारी आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै प्रमुख बिष्टले प्रत्यक्ष हानि पु¥याउने काम गरेका र नियत खराब राखेका व्यवसायी बाहेकलाई कारबाहीमै लैजानेभन्दा सचेत गर्ने उद्देश्यले बजार अनुगमन हुनुपर्ने बताए ।
उनले उपमहानगरपालिकाको अनुगमन समितिलाई सचेतनामूलक रूपले नै खटाइने बताए । कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले पनि व्यवसायीलाई आतंकित पार्नेगरी नभई सचेतना जागरण हुने किसिमले बजार अनुगमन गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका थिए । उनले व्यवसायीले पनि कानुनले तोकेको सीमा नतोड्न र जिम्मेवार भएर व्यवसाय गर्न आग्रह गरे । उनले गल्ती गरेको अवस्थामा संघले व्यवसायीको बचाउ गर्न नसक्ने पनि बताए ।
तर, अनावश्यकरुपमा आतंकित पार्ने काम पनि स्वीकार नहुने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय लगायतका प्रतिनिधिले चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन गरिने जानकारी दिए ।
उनीहरूले व्यापारीहरू पनि आफूले बेच्ने सामानबाहेक वस्तुको उपभोक्ता नै हुने भएकोले सबैले इमानदारितापूर्वक व्यवसाय गर्न आग्रह गरे । साथै उनीहरूले व्यवसायीहरूले बारम्बार गर्ने गल्ती र कानुनी प्रावधानबारे संक्षेपमा जानकारी दिएका थिए । अनुगमनको उद्देश्य कारबाही र जरिवाना नै गर्ने नहुने भएकोले नकारात्मकरूपमा नलिन पनि उनीहरूको आग्रह थियो ।









प्रतिक्रिया दिनुहोस्