जापानिज इन्सेफलाइटिसबाट कैलालीमा एकको मृत्यु



शेरबहादुर ऐर । कैलाली ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुर टोल बस्दै आएकी आठ वर्षीया बालिकामा अत्यधिक ज्वरो बढ्यो । साउन ३१ गते धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना भएकी उनलाई भदौ १३ गते जापानिज इन्सेफलाइटिस भएको पुष्टि भयो ।स्वास्थ्य कार्यालय कैलालीका अनुसार बिरामी निसर्ग अस्पतालबाट डिस्चार्ज भइसकेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘बालिका भारतमा जन्मिएकी थिइन् र ६ महिनाको उमेरमा नेपाल फर्किएकी थिइन्,’ स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले भने, ‘उनलाई खोप लगाइएको थियो तर उनकी आमाका अनुसार हेरचाह कमजोरी भएको थियो ।’

जानकी गाउँपालिका वडा नम्बर २ बस्दै आएका ७६ वर्षीय पुरुषमा उच्च ज्वरो देखिएपछि कर्णाली प्र्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार गराउन पुगे । उनलाई जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएको थियो । अस्पतालमा स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी घर फर्के । तर, बाटोमा मृत्यु भयो । जापानिज इन्सेफलाइटिस (जेई)का कारण यस वर्ष कैलालीमा मृत्यु भएको उनी पहिलो व्यक्ति हुन् । सामान्यतया अगस्ट र सेप्टेम्बर महिनामा जापानिज इन्सेफलाइटिसको जोखिम कैलालीमा उच्चबिन्दुमा रहने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ ।

यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ । डेंगी, येलो फीभर र वेस्ट नाइल भाइरसहरूको वर्ग ‘फ्ल्याफिभाइरस’ मै जापानिज इन्सेफलाइटिस भाइरस पनि पर्छ । कैलाली स्वास्थ्य कार्यालयका अनुसार अगस्टदेखि हालसम्म जिल्लामा आठ जनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएको छ । जसमा १५ वर्षमुनिका चारजनामा यो रोग पुष्टि गरिएको छ । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो रोगको उच्च जोखिममा मानिन्छ ।

तर, पछिल्लो समय युवा तथा ज्येष्ठ नागरिकहरूमा पनि संक्रमण पुष्टि भइरहेको कार्यालयले जनाएको छ । जापानिज इन्सेफलाइटिसबाट संक्रमित अधिकांशले जापानिज इन्सेफलाइटिसको खोप लगाए–नलगाएबारे यकिन हुन नसकेको कार्यालयको तथ्यांकमा रहेको छ । सरकारले नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापानिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ । सरकारले सन् २०१६ मा उक्त रोगविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो ।

अधिकांश अवस्थामा जापानिज इन्सेफलाइटिसमा मध्यमखालका लक्षणहरू देखिने स्वास्थ्यकर्मीहरू बताउँछन् । जापानिज इन्सेफलाइटिसमा उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अर्रो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु जस्ता लक्षण देखिने स्वास्थ्य कार्यालयको भनाइ छ । डब्ल्यूएचओका अनुसार जापानिज इन्सेफलाइटिसबाट संक्रमित हुने २५० मध्ये एकजनामा अझ घातक खालका समस्याहरू देखा पर्न थाल्छन् ।

त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ । केही बिरामीको मस्तिष्कमा गम्भीर क्षति पुग्छ । तर धेरै बिरामीको स्वास्थ्यस्थितिमा बिस्तारै सुधार हुन थाल्छ । सन् १९७८ मा पहिलोपटक नेपालमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो । सन् १९९८ देखि २००८ सम्म नेपालमा ११ हजार ५९१ बिरामी पाइएको स्वास्थ्य सेवा विभागको एउटा तथ्यांकले देखाउँछ । कतिपय संस्थाहरूले नेपालमा विगतको समयमा सबै जापानिज इन्सेफलाइटिसका संक्रमण अभिलेखमा नरहने गरेको बताउने गर्छन् ।

नेपालमा २०७३ साल साउन महिनामा जापानिज इन्सेफलाइटिसलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ । त्यसअन्तर्गत १२ महिनामाथिका उमेरका बालबालिकालाई खोप दिइने गरिएको छ । त्यसअघि सन् १९९९ मा सरकारले रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका क्षेत्रमा यो रोगविरुद्धको खोप अभियान चलाएको थियो । सन् २००९ सम्म आइपुग्दा झन्डै २० वटा जिल्लाका समुदायस्तरमा यो संक्रमण व्याप्त रहेको स्थान मानेर त्यहाँ एक वर्षमाथिका सबै बालबालिकालाई खोप लगाइएको थियो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले मानिसहरूलाई लामखुट्टेको टोकाइबाट जोगिन जनचेतना फैलाउनुनै रहेको बताए । उनका अनुसार माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्नेछ । उनले भने, ‘त्यसका लागि लामखुट्टे भगाउने पदार्थ वा साधन प्रयोग गर्ने, बाहिर निस्कँदा लामो, खुकुलो, लुगा लगाउने, हातखुट्टा छोप्ने, लामखुट्टे बढी सक्रिय हुने झिसमिसे र साँझको समयमा घरबाहिर ननिस्कने, घरमा झुल वा जाली प्रयोग गर्नुनै सबैभन्दा उपयुक्त हो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार