
वीरेन्द्र जैसी । नेपालगन्ज ।
कुनैबेला महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा एक वर्षमा अध्ययनरत विद्यार्थीहरू आठ हजारभन्दा बढी हुने गरेकामा अहिले उक्त सङ्ख्या घटेर चार हजार आसपासमा झर्न थालेको छ । क्याम्पसमा २०७९ को स्ववियु निर्वाचनमा चार हजार एक सय २२ जना मतदाता विद्यार्थीहरू रहेका थिए । क्याम्पसका प्रायः पुराना विद्यार्थीहरू त्यतिबेलाको चहलपहलको तुलनामा अहिले क्याम्पसको शैक्षिक वातावरण शून्यतामा पुग्न लागेको टिप्पणी गर्छन् ।
पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थाको रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पससँग कुन वर्ष कति विद्यार्थी भर्ना भए भन्ने एकीकृत र व्यवस्थित तथ्यांक पनि छैन । क्याम्पसका सूचना अधिकारी तथा विद्यार्थी कल्याण शाखा प्रमुख किरणराज रेग्मीसँग विद्यार्थीहरूको सङ्ख्याको तथ्यांक माग्दा उनले पछिल्ला पाँच वर्षको तथ्यांक मात्रै उपलब्ध गराउन सके । जुन तथ्यांक हेर्दा पनि क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएर एक हजार आसपास पुग्न लागेको देखिन्छ ।
२०७७ सालमा एक हजार आठ सय ५४ जना विद्यार्थी रहेको क्याम्पसमा त्यसपछिका दुई वर्ष विद्यार्थीको सङ्ख्या केही बढेको देखिएपनि त्यसपछिका दुई वर्षमा फेरि विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको देखिन्छ । २०७८ सालमा पहिलो वर्षमा भर्ना भएका एक हजार नौ सय ५२ र २०७९ सालमा दुई हजार ३६ पुगेका थिए । तर, त्यसपछिको अर्काे वर्ष २०८० सालमा उक्त सङ्ख्या घटेर एक हजार ६ सय ५७ मा झ¥यो भने गत वर्ष २०८१ मा त यो सङ्ख्या झनै घटेर एक हजार चार सय ८५ मा झरेको छ ।
कोटा निर्धारण गरेर भर्ना लिइने अधिकांश कोर्सहरूमा तोकिएजति विद्यार्थी भर्ना हुँदैनन् । केही वर्षअघि कोटाअनुसारका विद्यार्थी भर्ना हुने कोर्सहरूमा पनि हरेक वर्ष विद्यार्थीहरू घट्दै गएको देखिन्छ । बिएससी सिएसआइटी कोर्समा २०७७ सालमा तोकिएको कोटा ३६ जनामा ३६ जना नै भर्ना भएका थिए । त्यसपछि २०७८ सालमा कोटा बढाएर ७२ जना पु¥याइयो । तर, त्यसपछि २०८० सालमा बाहेक अरु वर्षमा २०७७ सालमा तोकिएको कोटा ३६ जना विद्यार्थी पनि भर्ना भएनन् । त्यसपछिका वर्षमा क्रमशः ३३, ३०, ४२ र ३२ जना मात्रै भर्ना भए । यस्तै अवस्था बिसिए र बिआइटीको पनि छ । यी कोर्समा पनि तोकिएको सङ्ख्यामा विद्यार्थीहरू पाउन क्याम्पस असफल भइरहेको छ ।
क्याम्पसमा विद्यार्थीको सङ्ख्या घट्दै जानुका पछाडि क्याम्पसको शैक्षिक वातावरण नै ठिक नहुनु कारण रहेको विद्यार्थीहरू बताउँछन् । ‘हाम्रा प्राध्यापकहरू क्याम्पसको जागिर खानुहुन्छ । तर, उहाँहरूको ध्यान आफ्नो लगानी रहेका निजी कलेज बनाउनतिर छ । यहाँका प्रायः प्राध्यापकहरू यहाँ हाजिर गरेर तलब खाने र प्राइभेट कलेजमा गएर पढाउने गर्छन् । कुन्नि कसरी यो क्याम्पस बन्छ ?,’ एक विद्यार्थीले भने । प्राध्यापकहरूले क्याम्पसमा समय नदिएर प्राइभेट कलेजहरूमा समय दिने देशभरको जस्तै समस्या भएपनि महेन्द्र बहुमुखी क्याम्पसमा त्यसको पराकाष्ठा रहेको विद्यार्थी नेतासमेत रहेका ती विद्यार्थीले दाबी गरे ।
‘क्याम्पसका विभागीय प्रमुखहरू नै आफ्नो कार्यसमयमा भेटिँदैनन् । हाजिर लगाएर आफ्ना प्राइभेट कलेजतिर दौडिन्छन्,’ स्ववियु अध्यक्ष केशरजंश शाहीले भने । क्याम्पसमा विद्यार्थीको सङ्ख्याको तुलनामा कक्षामा उपस्थित हुने र तह उत्तीर्ण हुन्कारागारसम्म टिक्ने विद्यार्थीको सङ्ख्या त झनै कम रहेको रेग्मीले बताउँछन् । तर, त्यसका पछाडि पनि त्रिभुवन विश्वविद्यालयले ८० प्रतिशत हाजिरी भएमा मात्रै परीक्षा दिन पाउने नियम लगाएपनि त्यसलाई उल्लंघन गर्न प्राध्यापकहरूले नै दुरुत्साहन गर्नु मूलकारण रहेको देखिन्छ ।
एक प्राध्यापकले मिसन टुडेसँग भने, ‘यदि हाजिरी नभएका विद्यार्थीलाई परीक्षा दिन नदिने हो भने त्यस्ता विद्यार्थी त १० प्रतिशत पनि नहोलान् ।यस्तोमा बाध्यतावश उनीहरूको हाजिरी मिलाएर परीक्षा दिन दिनुपर्ने अवस्था हुन्छ ।’ एलएलबी, बिए, बिएडजस्ता विषयका विद्यार्थीहरू जागिरे हुने भएकोले क्याम्पसका लागि समय छुट्याउन नसक्ने दाबी उनले गरे । विद्यार्थी कल्याण शाखा प्रमुख किरणराज रेग्मी पनि त्रिभुवन विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रमहरूलाई प्रविधिअनुकूल बनाउन नसक्दा प्राध्यापकहरूले बाहनाबाजी गर्ने मौका पाइरहेको बताउँछन् ।
उनले प्रविधिको प्रयोग गरी अध्यापन गर्ने मोडेल लागु गर्न सकेमा अनलाइन प्लेटफर्मको प्रयोग गरेर पनि अध्ययन अध्यापन गराउन सकिने र त्यसले विद्यार्थीको सङ्ख्यादेखि सिकाइको गुणस्तर पनि वृद्धि हुने दाबी गरे । तर, क्याम्पसको हालत यस्तो छ कि सूचना प्रविधिकै कोर्सहरू पनि प्रविधिमैत्री तरिकाले पढाउने अवस्था छैन । उदाहरणका लागि बिसिए र बिएससी सिएसआइटी लगायतका कोर्स पढाउन अहिले पनि बढीमा प्रोजेक्टरको प्रयोग हुन्छ । विद्यार्थीहरूले डिजिटल बोर्डको माग गर्दै आएको लामो समय भइसकेको छ ।
तर, क्याम्पस प्रशासनले यसमा अनेक बाहनामा आलटाल गर्दै आएको छ । ‘यो विषय टेक्निकल भएकोले धेरैभन्दा धेरै प्रयोगात्मक गराउनुपर्छ र प्रविधिमैत्री हुनुपर्छ भनेर हामीले डिजिटल बोर्डको माग गरेका हौँ । तर, अहिलेसम्म उक्त बोर्ड खरिदको काम भएको छैन,’ बिएससी सिएसआइटी अध्ययन गरिरहेका एक विद्यार्थीले मिसन टुडेसँग भने । विद्यार्थीको शैक्षिक क्रियाकलापमा क्याम्पसले गरिरहेको अर्काे लापरबाही १५ वर्षदेखि विज्ञान संकायमा गणित विषयको अध्यापन नहुनुले पनि झल्काउँछ । विद्यार्थीहरूले गणितजस्तो विषय स्वअध्ययन र ट्युसन लिएर अध्ययन गर्नुपर्ने अवस्था रहेको छ । क्याम्पस प्रमुख लालमणी आचार्य त्रिभुवन विश्वविद्यालयले प्राध्यापक नियुक्ति नगरेकोले उक्त विषय अध्यापनको व्यवस्था मिलाउन नसकिएको बताउँछन् ।
यसैगरी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालयको अवस्था जर्जर बनाएर राखिएको छ । किताबहरूको सुरक्षा र व्यवस्थापन गराउने काम पनि क्याम्पस प्रशासनले गराउन सकेको छैन । क्याम्पसको हातामा घाँस र झार उम्रिएर सर्पको बिगबिगी छ । कक्षाकोठाको नियमित सरसफाइ गराउने काम नभइरहेको विद्यार्थीहरूको भनाइ छ । क्याम्पस प्रमुख आचार्य कर्मचारी अभाव हुँदा समस्या सिर्जना भएको बताउँछन् । आचार्यका अनुसार क्याम्पसमा कार्यालय सञ्चालनका लागि ६८ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले सबै गरेर ३१ जना कर्मचारी मात्रै कार्यरत छन् ।
आधाभन्दा पनि कम सङ्ख्यामा रहेका कर्मचारीहरूबाट सबै कामहरू सञ्चालन गराउन समस्या भइरहेको आचार्यको दाबी छ । तर, विद्यार्थीहरू भने क्याम्पस प्रमुखले भएका कर्मचारीलाई पनि काममा लगाउन नसकेको आरोप लगाउँछन् । यसैगरी क्याम्पसको स्ववियुले सम्बन्धित विषयमा दक्ष र विशेषज्ञ प्राध्यापकहरूको व्यवस्था गरिनुपर्ने, छात्रावासलाई व्यवस्थित गरिनुपर्ने, क्याम्पसमा आवश्यक प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने, क्याम्पसमा व्यवस्थित पार्किङ स्थल निर्माण गरिनुपर्ने, बिएएलएलबी लगायतका केही कोर्सहरूको शुल्क घटाउनुपर्ने, शैक्षिक क्यालेन्डर निर्माण गरिनुपर्ने, विषयविज्ञहरू ल्याई सेमिनार र कार्यशालाहरू आयोजना गर्नुपर्ने, छात्रवृत्तिको व्यवस्था सबै सेमेस्टर र कार्यक्रममा लागु हुनुपर्ने माग गर्दै आएको छ ।
यसैगरी, क्याम्पसमा अपांगमैत्री शौचालय निर्माण गरिनुपर्ने, क्याम्पसका सबै शैक्षिक भवनहरूमा शुद्ध खानेपानीको व्यवस्था गरिनुपर्ने, क्याम्पसमा सञ्चालित कार्यक्रमहरूको जिल्ला जिल्लामा गई प्रचार गरिनुपर्ने लगायतका माग पनि स्ववियुले पटक पटक क्याम्पस प्रशासनसमक्ष राखिसकेको स्ववियु अध्यक्ष शाहीले बताए । क्याम्पस प्रमुख लालमणी आचार्य विद्यार्थीले राखेका मागहरू जायज भएपनि एकैपटक पूरा गर्न नसकिने बताउँछन् । त्यसका लागि विद्यार्थी युनियनसँग चरणबद्धरूपमा मागहरू पूरा गर्दै जाने सहमति गरिएको र त्यसलाई कार्यान्वयनको क्रममा लैजान लागिएको उनले बताए ।
खेल मैदानविहीन बहुमुखी क्याम्पस
२००७ सालमा तत्कालीन समाजसेवी औतारदेई चौधराईनले दान गरेको करिब १३ बिघा जमिनमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको हाता अहिले हेर्ने हो भने त्यो शैक्षिक संस्था नभइ कुनै वनजंगल जस्तो अवस्था छ । जताततै झाडीले ढाकेको क्याम्पस प्रशासनको हातामा सरसफाइ र कार्यालयको काम नहुँदा क्याम्पसको वातावरण विद्यार्थीमैत्री छैन ।
पर्याप्त जग्गा जमिन भएर पनि क्याम्पसका पूर्वाधारहरूको सही व्यवस्थान नहुँदा र क्याम्पसको गुरुयोजना नहुँदा क्याम्पसमा अत्यावश्यक पूर्वाधारको व्यवस्था हुन सकेको छैन । त्यसमध्ये एक पूर्वाधार खेल मैदान पनि हो । पहिले विद्यार्थीहरूले खेल मैदानको रूपमा प्रयोग गर्दै आएको स्थानमा कक्षाकोठाका भवनहरू निर्माण भएपछि उक्त ठाउँ अहिले खेलकुदका लागि अनुपयुक्त बनेको छ । खेलकुद गतिविधि नहुँदा उक्त स्थान घाँस र झारले भरिएको छ । विद्यार्थीहरूले क्याम्पसको दक्षिणपट्टी खेल मैदान निर्माणका लागि माग गर्दै आएका छन् ।
तर, त्यसमा भएका रूखहरू काट्न वनले अनुमति नदिँदा समस्या भएको क्याम्पस प्रमुख आचार्यले बताए । केही वर्ष पहिले उक्त स्थानमा भएका केही रूखहरू स्ववियुले जबरजस्ती काट्न तम्सिएपछि अर्काे पक्षले मुद्दामामिला गर्ने धम्की दिएको र त्यसले विद्यार्थी संगठनहरूबीच मुठभेटको स्थिति उत्पन्न हुने भएपछि काम रोकिएको वर्तमान स्ववियु अध्यक्ष शाही बताउँछन् ।
अहिले आफूले सबै कानुनी प्रक्रिया पूरा गरी क्याम्पसको दक्षिणतर्फ छात्रावासको छेउमा खेल मैदान निर्माण गरिनुपर्ने माग गर्दै आएको बताए । ‘पश्चिम नेपालकै ठूलोे शैक्षिक संस्थामा विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप र खेल गतिविधिहरू शून्य छन् । विद्यार्थीहरूलाई क्याम्पस आउन मन लाग्ने पूर्वाधार निर्माणतिर कसैले ध्यानै दिएनन् । त्यही भएर पनि क्याम्पसले आकर्षण गुमाउँदै गएको छ,’ स्ववियु अध्यक्ष शाहीले भने ।









प्रतिक्रिया दिनुहोस्