नेपालगन्ज नाइट रनका विजेता बाङ्सेन जान पाउने



बाँके ।

नेपालगन्ज १० नाइट रनको तयारी तीव्र चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् ।

बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् । नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ । ‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियललगायतलाई सिक्ने अवसर मिल्नेछ ।’

धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘छिमेकी देशमै विश्वस्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिनेतर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ एशियाबाट भरपर्दो अगुवाका रूपमा उदाएका बाङ्सेन सिरिजका संस्थापक रुट विश्व रनिङ मञ्चमा आशालाग्दो अनुहार हुन् ।

बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौँ २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइने छ । यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार