सिंजा–कोहलपुरले असल सम्बन्ध विकास गर्ने



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका र जुम्लाको सिंजा गाउँपालिकाबीच असल सम्बन्ध विकास गरिने भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र सिंजाका अध्यक्ष पूर्णप्रसाद धितालबीच भएको भेटवार्तामा दुई पालिकाबीच असल अभ्यास आदानप्रदान गर्ने, भ्रमण आदानप्रदान र दुई स्थानीय सरकारबीच असल सम्बन्ध विकास गर्ने विषयमा छलफल भएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यसँगको भेटपछि सिंजाका अध्यक्ष धितालले सामाजिक सुरक्षा लाभग्राही नवीकरणका लागि कोहलपुरका नगर प्रमुखसँग छलफल भएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जुम्लाका हजारौँ जनता बसेका नवोदित तथा व्यवस्थित नगरी कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग शिष्टाचार भेट गरियो । भेटमा सिंजा संस्कृतिको पहिचान, विकास र उन्नयनमा कोहलपुर नगरपालिकाको भूमिका चासो र पहलकदमीबारे विमर्श भएको छ ।’

यस्तै विभिन्न सिलसिलामा कोहलपुरमा बसोबास गरिरहेका जुम्लाका जनताले विकास गरेको एकता र आपसी सहयोगबारे नगर प्रमुख आचार्यले प्रशंसा गरेको समेत उनले उल्लेख गरेका छन् । जुम्ली एकता सेवा समाज बाँकेसँग सहकार्य गरि देउडाको विकास र सांस्कृतिक संरक्षणमा आफ्नो पूर्णसहयोग रहने धारणा नगर प्रमुख आचार्यले राखेको धितालको भनाइ छ ।

सिंजा र जुम्लाका सबै पालिकाबाट कोहलपुरमा बसिरहेका ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकालगायत सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नवीकरणको लागि सहजीकरण गरिदिन आग्रह गरिएको समेत उनले उल्लेख गरेका छन् । ‘उहाँसँग सौहार्दपूर्ण रूपमा भेट भयो । विविध विषयमा कुराकानी भए ।

खासगरी सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नवीकरणको लागि सहजीकरण गरिदिन आग्रह गरेका थियौँ । उहाँले आफूले सबै वडाहरूमा निर्देशन दिने वचन दिनुभएको छ ।’ अध्यक्ष धितालले भने । भेटमा सिंजा गाउँपालिका र कोहलपुर नगरपालिकाबीच असल सम्बन्ध विकास गर्ने, भ्रमण आदनप्रदान गरी दुई पालिकाबीच असल अभ्यास आदनप्रदान गर्ने बारेमा छलफल भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार