ठाकुरबाबामा प्रअ भत्ता एक हजार प्रतिशतसम्म वृद्धि



नगरपालिकाले शिक्षा विकासलाई प्राथमिकता दिएको छ । त्यसैले हामीले प्रधानाध्यापकलाई थप जिम्मेवार बनाउन खोजेका छौँ । उहाँहरू अतिरिक्त खटिनुहुन्छ । प्रधानाध्यापकलाई थप जिम्मेवार र जवाफदेही बनाउन पनि यस्तो निर्णय गरिएको हो ।

कोहलपुर (बाँके) ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने निर्णय गरेको छ । भदौ १३ गते बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले नगरस्तरमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने निर्णय गरेको हो । नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने उल्लेख गरेको थियो ।

सोही नीतिअनुसार चालू आवको बजेटमा प्रधानाध्यापकहरूको भत्ताका लागि नगरपालिकाले कूल ४ लाख ९१ हजार बजेटसमेत विनियोजन गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत सीताकुमारी भण्डारीका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार साउन महिनादेखि लागु हुनेगरी प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने निर्णय गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको मनोबल उच्च राखी कुशल नेतृत्व र जवाफदेहिता अभिवृद्धि गर्न नगरपालिकाले सो निर्णय गरेको उनको भनाइ छ ।

यसअघि नगरपालिकाले नगर क्षेत्रका ९ जना प्रधानाध्यापकलाई सेतो नम्बर प्लेटको मोटरसाइकल वितरण गरेको थियो । ठाकुरबाबामा कूल १८ वटा सामुदायिक विद्यालय रहेका छन् । माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका नौ वटा विद्यालय, आधारभूत तह ६ देखि ८ कक्षासम्मका चार वटा र कक्षा १ देखि ५ सम्मका प्राथमिक पाँच वटा विद्यालय रहेका छन् । शिक्षा शाखा प्रमुख भण्डारीले १८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गर्ने निर्णय भएको मिसन टुडेलाई जानकारी दिइन् ।

‘प्रधानाध्यापकलाई संघीय सरकारलेसमेत भत्ता उपलब्ध गराउँछ । त्यसैमा तहगत रूपमा थप हुने गरेर नगर शिक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । साउन महिनाबाट लागु हुनेगरी सो निर्णय गरिएको हो,’ उनले भनिन् । संघीय सरकारले मावि तहका प्रधानाध्यापकलाई उपलब्ध गराउँदै आएको भत्तामा ६०० प्रतिशत भत्ता वृद्धि गरिएको छ । अब नगरपालिकामा रहेका ९ वटा माविका प्रधानाध्यापकले मासिक रूपमा नगरपालिका तर्फबाट ३ हजार रूपैयाँँ अतिरिक्त भत्ता प्राप्त गर्नेछन् । आधारभूत तहतर्फ भने ८३३ प्रतिशत भत्ता वृद्धि गरिएको छ ।

अबदेखि आधारभूत तहको विद्यालयका ४ जना प्रधानाध्यापकले मासिक २ हजार ५ सय रूपैयाँँ नगरपालिकाबाट अतिरिक्त भत्ता प्राप्त गर्नेछन्। यसैगरी प्राथमिक तहका प्रधानाध्यापकका लागि १००० प्रतिशत भत्ता वृद्धि गरिएको छ । नगरपालिकाअन्तर्गत रहेका प्राथमिक तहका ५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले नगरपालिकाको तर्फबाट मासिक २ हजार रूपैयाँँ अतिरिक्त भत्ता प्राप्त गर्नेछन् । यस्तै सो बैठकले प्रधानाध्यापकबाट विद्यालयमा नवप्रवर्तनात्मक कार्य गर्न ६ लाख बजेट प्रस्ताव गरी सोको कार्यान्वयनका लागि विद्यालयहरूबाट प्रस्तावना माग गर्ने निर्णय समेत गरिएको छ ।

सिर्जनात्मक एवं नवप्रवर्तनात्मक कार्य गर्नका लागि विद्यालयहरूले बजेट तथा अन्य आवश्यक सहायता प्राप्त गर्र्ने निर्णय भएको भण्डारी बताउँछिन् । नगरपालिकाले समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नमा अहम् भूमिका खेल्ने विश्वाससहित प्रधानाध्यापकहरूलाई भत्ता प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख तिलकराम लम्साल बताउँछन् । उनका अनुसार गुणस्तरीय शिक्षासँगै शिक्षामा नवीनतम पद्धतिको अवलम्बन शिक्षाको हब बनाउने उद्देश्यअन्तर्गत भत्ता प्रदान गर्ने निर्णय गरिएको हो ।

‘नगरपालिकाले शिक्षा विकासलाई प्राथमिकता दिएको छ । त्यसैले हामीले प्रधानाध्यापकलाई थप जिम्मेवार बनाउन खोजेका छौँ । उहाँहरू अतिरिक्त खटिनुहुन्छ । प्रधानाध्यापकलाई थप जिम्मेवार र जवाफदेही बनाउन पनि यस्तो निर्णय गरिएको हो,’ नगर प्रमुख लम्सालले भने । नगर प्रमुख लम्सालले विद्यार्थी, अभिभावक र शिक्षकहरूसँग निरन्तर अन्तरक्रिया गरिएको बताए । शैक्षिक सत्र २०८१ को बालविकासदेखि कक्षा १२ सम्म सामुदायिक तथा संस्थागतहरूमा कूल विद्यार्थी सङ्ख्या १३ हजार ५९४ जना रहेको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या मात्रै १० हजार रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा सामुदायिकतर्फ ३९७ जना जनशक्ति कार्यरत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार