वृहत् खजुरा तीज महोत्सवको उपाधि पूर्वीलाई



खजुरा (बाँके) ।

बाँकेको खजुरामा भएको वृहत् खजुरा तीज महोत्सव २०८१ को उपाधि ८ वर्षीया पूर्वी विकले उचालेकी छन् । न्यू डाँफे स्पोट्र्स क्लब खजुरा ‘डि’ गाउँको आयोजनामा भएको एकल तीज नृत्य प्रतियोगितामा १५ जना छनोटमा परेका प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेपालगन्ज उमहानगरपालिका १२ बस्ने पूर्वी विकले नगद ५० हजारसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरिन् ।

पूर्वी नेपालगन्जस्थित युनाइटेड एजुकेशनल एकेडेमीमा कक्षा ३ मा अध्ययनरत छिन् । कूल २८ जनाले अडिशन राउण्डमा भाग लिएका थिए । अडिशन राउण्डमा १६ जना छनोट गरिएपछि फाइनलमा भिडन्त गराइएको थियो । प्रतियोगितामा नेपालगन्जका मनिषा परियार दोस्रो भइन् । परियारले नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै तेस्रो जनसेवा मावि खजुराका सुदिक्षा बोहरा भइन् । उनले १५ हजार नगद पुरस्कार राशिसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरिन् ।

सान्तवना सैनिक खजुराका दीक्षा थापा मगर भइन् । दीक्षाले ५१ सय नगद पुरस्कार राशिसहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको आर्थिक संयोजक तथा क्लबका मानार्थ उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । भव्य समारोहबीच आयोजना गरिएको वृहत् खजुरा तीज महोत्सवमामा करिब १० हजार दर्शकको उपस्थिति रहेको आयोजक न्यू डाँफे स्पोट्र्स क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए ।
प्रतियोगितामा सम्पूर्ण पुरस्कार खजुराका समाजसेवी लिलबहादुर थापाले प्रदान गरेका हुन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक रिमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफान प्रमुख अतिथि थिए । कार्यक्रममा खजुराको पहिचान बनिसकेको लाखे नाच समेत प्रस्तुत गरिएको थियो । लाखे नाच हरेक वर्ष तीजका अवसरमा खजुरामा निकालिने गरिन्छ । खजुरास्थित लक्ष्मीनारायण मन्दिरको परिक्रमा गरिसकेपछि मञ्चमा पुगेको लाखे नाच टिमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

लाखे नाचको संयोजन भने लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मानसमेत गरिएको क्लबका उपाध्यक्ष नारायण खनालले जानकारी दिए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष तुफानले तीज महोत्सव हरेक वर्ष खजुरामा विशेष रहने गरेको उल्लेख गरे । खजुराका विभिन्न संस्थाहरूले पालैपालो यसरी तीज महोत्सव गर्दा खजुराको एकता झल्किएको भन्दै प्रशंसा गरे ।

पालिका उपाध्यक्ष मञ्जु मल्लले महिला दिदीबहिनीहरूको विशेष चाडलाई पुरुष दाजुभाईहरूले यसरी व्यवस्थापन गरेर मञ्च तयार गरिँदा आफू हर्षित बनेको उल्लेख गरिन् । प्रतियोगितामा भाग लिनेहरूलाई हौसला दिँदै उपाध्यक्ष मल्लले जितहार भनेको एउटा गणना गर्ने माध्यम मात्र भएकाले मञ्चमा आएर उत्कृष्ट प्रस्तुति दिन सक्नु नै सफलता हुने गरेको बताइन् । महोत्सवमा राष्ट्रिय कलाकार रुबिना अधिकारीले आफ्नो प्रस्तुति दिएकी थिइन् । प्रतियोगिताको निर्णायकमा कलाकार अधिकारीसँगै प्रमुख निर्णायक बालवीर थापा र दिपेन्द्र केसी रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार