हर्षोल्लासका साथ मनाइयो तीज



कोहलपुर (बाँके) ।

तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट रहेको बाँकेको कोहलपुरसहित देशभर मंगलबार नेपाली हिन्दू महिलाहरूको महान पर्व तीज हर्षोल्लासका साथ मनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य ट्रान्जिट प्वाइन्ट कोहलपुरमा तीज हर्षोल्लासका साथ मनाइएको हो । तीजका अवसरमा मंगलबार कोहलपुरका विभिन्न वडामा अवस्थित धार्मिक मन्दिरहरूमा महिलाहरूको घुइँचो देख्न सकिन्थ्यो । महिलाहरू रातो पहिरनमा सजिएर पूजापाठ गर्नका लागि बिहानैदेखि मन्दिरमा पुगेका थिए ।

विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामना गर्दै वर्त बसे । अविवाहित नारीहरू भने सुयोग्य बर पाइयोस् भन्दै वर्त बस्ने चलन छ । कोहलपुर क्षेत्रका रैथाने, विभिन्न कामको सिलसिलामा अस्थायी रूपमा बसोबास गरिरहेकाहरूले समेत एक आपसमा शुभकामना व्यक्त गर्दै तीज पर्व मनाएका हुन् । तीजको अवसरमा कोहलपुर नगरपालिकाले तीज विशेष कार्यक्रम नै आयोजना गरेको थियो । कोहलपुर–११ स्थित न्युरोड मैदानमा आयोजना गरिएको कार्यक्रममा कोहलपुर क्षेत्रका नागरिकहरूले आपसमा नाचगान गरेर भव्य रूपमा मनाएका थिए ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी नारीहरूको महान पर्व तीजको अवसरमा स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँछिन् । उनका अनुसार तीजको अवसरमा मानिसहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
‘तीजको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भए । स्थानीय सरकारले दर पार्टीसमेत आयोजना गरेको थियो । तीजको दिन शुभकमना आदानप्रदानका साथै रमाइलो गरेर कार्यक्रम नै आयोजना गरेर मनाइएको हो’ उपप्रमुख सुवेदीले भनिन् ।

यस्तै वडा नम्बर ८ ले समेत तीज विशेष कार्यक्रम आयोजना गरेको थियो । वडाध्यक्ष लालबहादुर रानाका अनुसार नेपाली हिन्दू नारीहरूको महत्वपूर्ण पर्वको रूपमा रहेको तीजको अवसरमा वडाको तर्फबाट वडावासीहरूसँग सामूहिक रूपमा रमाइलो गर्ने र नाचगान गर्ने उद्देश्यले तीज विशेष कार्यक्रम आयोजना गरिएको हो । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १४ मा रहेको समाज सेवा संस्था नेपालको आयोजनामा हरितालिका तीजको दिन लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

तीज पर्वलाई रमाइलोको रूपमा मात्रै नभएर सन्देशमूलक रूपमा मनाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष विनोद थापाका अनुसार संस्थाले विगत लामो समयदेखि सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ । विभिन्न अभियानमार्फत सामाजिक सचेतना फैलाइरहेको उनले बताए । अन्य संघ संंस्थाहरूले रमाइलोको लागि मात्रै कार्यक्रम आयोजना गरेपनि आफूहरूले तीजको अवसरमा नागरिकलाई केही सन्देश दिन सकिन्छ भन्ने ध्येयले कार्यक्रम आयोजना गरेको अध्यक्ष थापाको भनाइ छ ।

लेखक तथा साहित्यकार महानन्द ढकाल तीज पर्व विगतको भन्दा पछिल्लो समय फरकपन देखिन थालेको बताउँछन् । उनका अनुसार आजभन्दा १० वर्ष पहिले र अहिलेको तीज पर्वमा समयक्रमसँगै फेरिन थालेको छ । उनका अनुसार पहिला तीज निकै कम दिन चल्थ्यो । अहिले महिना अघिदेखि नै तीजकौ रौनक सुरु हुन थालेको छ । ‘पहिला तीजको बेलामा टोलहरूमा सामूहिक रूपमा रमाइलो हुन्थ्यो । अहिले सीमित मानिसहरू नाचगानमा व्यस्त छन् । बाँकी सबैलाई उनीहरूलाई हेर्नलाई पुग्छन्,’ उनले भने । हुँदाखाने र हुनेखानेबीचको स्पष्ट खाडल तीजमा देखिन थालेको ढकालको भनाइ छ । तीज पर्वको मौलिकतामा ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् ।

सामाजिक अभियन्ता भूमबहादुर भण्डारीका नजरमा त हरितालिका तीज धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक गरिमाको प्रतीक हो । उनका अनुसार एक समय अनकण्टार जंगलमा देवी–देवताको आराधनास्वरूप मनाइने यो पर्व आजकल भड्किलो हुन थालेको छ । उनी भन्छन्, ‘तीज भड्किलो हुन थाल्यो । डिस्को, क्याबिन र होटल–रेस्टुरेन्टमा सीमित हुन थालेको छ । हाम्रो मौलिक संस्कारको दिव्यता हराउन दिन हुन्न । तीजलाई भद्र, शालिन र गरिमामय बनाउने संकल्प गरौँ ।’

जुंगे महादेवको मन्दिर पुनर्निर्माणपछि दर्शनार्थी खुसी

बाँकेको नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगे महादेवको मन्दिर र पुल पुनर्निर्माणपछिको पहिलो तीजको अवसरमा दर्शनका लागि पुगेका भक्तजनहरूले खुसी व्यक्त गरेका छन् । पहिले रहेको साँघुरो र कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नुपर्ने अवस्था रहेको थियो । अहिले बनेको पुल फराकिलो हुनुका साथै जुंगे महादेवको मूर्ति रहेको मन्दिर पनि फराकिलो बनाइएको छ । यसले धेरै दर्शनार्थीहरूले एकैपटक दर्शन गर्न पाएका छन् ।

मन्दिरमा पुगेकी नेपालगन्जकी लछिमा भण्डारीले अहिले मन्दिर आकर्षक र पुल पनि फराकिलो बनेको भन्दै खुसी व्यक्त गरिन् । ‘पुरानो पुलमा साँघुरो भएर मन्दिरसम्म पुग्नै धौ धौ हुन्थ्यो । अहिले त सजिलो भयो । पुल चौडा बनेको छ,’ भण्डारीले भनिन् । पुल फराकिलो भएसँगै दर्शनार्थीहरूलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको थियो । जसले दर्शनार्थीहरू सहजरूपमा आवतजावत गर्न पाएका थिए । नेपालगन्ज– ४ की स्वस्तिका शाहीले पनि पहिलेको भन्दा यसपटकको तीजमा सहजै मन्दिर दर्शन गर्न पाइएको बताइन् ।

‘पहिले त धेरै मान्छे भयो भने पुल भत्किन्छ भन्थे । पालो कुर्दा लाइन पनि बस्नुपरेको थियो । यसपटक त्यस्तो परेन,’ स्वस्तिकाले भनिन् ।
तीजजस्ता ठूलो चाडबाडमा बागेश्वरी मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । पहिले धेरै भिड भएका बेला एकैपटक सबैलाई प्रवेश दिइँदैनथ्यो । लाइनमा सीमित व्यक्तिलाई मात्रै जान दिएर जुंगे महादेवको पूर्जा गर्न दिने गरिएको थियो । २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा नै पूजाआजाको व्यवस्था मिलाइ महादेवको मूर्तिसम्म पुग्नका लागि रोक नै लगाइएको थियो ।

भक्तजनहरूको पुल पुनर्निर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालबाट निर्माणको काम सुरु गरिएको थियो । तर निर्माण कम्पनीको लापरबाहीले एक वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल निर्माण पूरा हुन तीन वर्ष लाग्यो । मन्दिर पुनर्निर्माणमा ढिलाइ हुँदा दर्शनार्थीहरूले दुई वर्ष महादेवको दर्शनबाट वञ्चित हुनुपरेको थियो । पुल निर्माण चाँडो सक्नका लागि विभिन्न तहतप्काबाट आवाज उठे पनि ठेकेदारले काममा तीव्रता ल्याएको थिएन ।

भाका नाघिसक्दा पनि निर्माण पूरा नहुँदा पनि उपमहानगरले ठेकेदारलाई कारबाही गरेका थिए । निर्माण कार्य यसैवर्ष निर्माण पूरा भई गत साउन ६ गते पहिलो साउने सोमबारबाट मन्दिर दर्शनका लागि खुला गरिएको थियो । करिब एक करोड नौ लाख रूपैयाँँमा मन्दिर पुनर्निर्माण कार्य गरिएको हो । पुनर्निर्माणपछि पहिलोपल्ट तीजका व्रतालु महिला तथा दर्शनार्थीहरूले जुंगे महादेवको मन्दिरको दर्शन गरेका छन् ।
यसैबीच तीजको अवसरमा बागेश्वरी मन्दिर परिसरमा दर्शनार्थीहरूको ठूलोे घुइँचो लाग्यो ।

मंगलबार एकाबिहानैदेखि बेलुकीसम्म मन्दिरमा दर्शनार्थीहरूको आवतजावत चलिरहेको थियो । मन्दिरमा महिलाहरूले विशेष पूजापाठ गर्नुका साथै मन्दिर दर्शन पनि गरेका थिए । यसैगरी बागेश्वरी मन्दिरपरिसरमै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको आयोजना र नेपालगन्ज वडा नम्बर १ को कार्यालयको सहकार्यमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । मन्दिरमा दर्शनका लागि पुगेका महिलाहरूको उक्त अवसरमा नाचगान गरी मनोरञ्जन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार