भेरीमा नर्स पठाउने कोहलपुरको निर्णय



कोहलपुर (बाँके) ।

बाँके कोहलपुर नगरपालिकाले भेरी अस्पतालाई दुई वटा नर्स उपलब्ध गराउने भएको छ । नगरवासीको स्वास्थ्य सुरक्षार्थ आमा तथा शिशु कार्यक्रमअन्तर्गत दुई वटा नर्स पठाउने निर्णय गरेको हो । साउन २ गते कार्यवाहक उपप्रमुख संगीता सुवेदीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्माण गरेको हो । कोहलपुर नगरपालिकाका अनुसार साउन १ गते भेरी अस्पतालले नगरपालिकाका तर्फबाट जनशक्ति व्यवस्थापनका लागि पत्र लेखेको थियो ।

अस्पतालले नगरपालिकालाई लेखेको पत्रमा प्रसूति सेवालाई व्यवस्थित गराउन थप जनशक्ति व्यवस्थापन गरिदिन अनुरोध गरिएको छ । ‘अस्पतालले जनशक्ति माग गरेको पत्र लेखेको थियो । हामीले कार्यपालिकाको बैठकबाट निर्णय गरेर दुई जना स्टाफ नर्स पठाउने निर्णय गरेका छौँ । अब कार्यालयले औपचारिक रूपमा प्रक्रिया अघि बढाउँछ,’ कार्यवाहक नगर प्रमुख सुवेदीले भनिन् ।

साउन २ गते बसेको कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले गरेका निर्णयको ४ नम्बर निर्णयमा भनिएको छ, ‘भेरी अस्पतालबाट प्रसूति सेवा व्यवस्थित गर्नको लागि थप जनशक्तिको लागि अनुरोध भइआएकोमा यस नगरपालिकाका नगरवासीको स्वास्थ्य सुरक्षार्थ २ जना स्टाफ नर्स खटाउनका लागि कार्यालयलाई निर्देशन दिने ।’ कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार निर्णय केही दिनमै कार्यान्वयन हुन्छ । ‘हाम्रो नगरपालिकामा दरबन्दीअनुसार नर्स छैनन् । नगरपालिकाले पठाउने निर्णय गरेको छ । अभ्यासका लागि पठाउने हो,’ स्वास्थ्य शाखा प्रमुख सेनले भने । साउन २ गते बसेको कार्यपालिका बैठकले कूल ८ वटा निर्णय गरेको थियो । नगर अस्पतालको सेवालाई व्यवस्थित गराउन रिक्त रहेको मेडिकल सुपरिटेन्डेन्ट करारमा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ बमोजिम छनौट हुनेगरी दोस्रो पटक सूचना जारी गर्ने निर्णय गरेको छ ।

यस्तै नगरपालिकाअन्तर्गत स्वास्थ्य सेवातर्फ प्रयोगशाला तथा रेडियोलोजीसम्बन्धी कामकाज गर्ने कर्मचारीहरूलाई जोखिम भत्तावापत सुरु तलब स्केलको १५ प्रतिशत रकम चालू आवदेखि ४ जना कर्मचारीलाई उपलब्ध गराउने गरिएको छ । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ३ को कम्पाउण्ड वाल निर्माण गर्नको लागि प्रदेश सरकारबाट १० लाख रूपैयाँ विनियोजन भइ आएकोमा नगर पालिकाको समपूरक कोषबाट १० लाख रूपैयाँ थप गरी ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाको २०८२ असार ३० गतेको पत्रअनुसार कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ मा खानेपानी आयोजना निर्माणका लागि संघीय सरकारले विनियोजन गरेको ३ करोड रूपैयाँ कार्यान्वयनका लागि प्रारम्भिक वातावरण मूल्यांकन कार्यका लागि बजेट माग भइआएकोमा उक्त कार्यका लागि आवश्यक बजेट सेवा परामर्श शीर्षकबाट भुक्तानी हुने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार