सम्पादकीयः सामाजिक सञ्जालमा मात्र सीमित नरहोस्



हिजो शनिबार कुशे औँसी (बुवाको मुख हेर्ने दिन) सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले आफूले प्रयोग गर्ने फेसबुकलगायतका अन्य सामाजिक सञ्जालमा आआफ्ना बुवाका तस्बिर राखेर शुभकामना प्रदान गरे । मृत्यु भइसकेकादेखि लिएर जीवित सबै आफ्ना पिताका तस्बिर राखेर शुभकामना प्रदान गरेको देखियो । यो हाम्रो संस्कृति संस्कार परम्परा पनि हो । यो धार्मिकरूपमा समेत जोडिएको छ । सांस्कृतिक पर्व पनि हो । यसले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समयमा नेपाली समाज सकारात्मकभन्दा पनि नकारात्मकतातिर बढी धेकिलिएको देखिन्छ । समय छँदासम्म बाउआमालाई नहेर्ने, स्याहार सुसार नगर्ने, आवश्यक औषधिउपचार, खानपीनको व्यवस्थापनतिर ध्यान नदिने उस्तैपरे त अझ बुढेसकाल सुरु हुन लागेपछि वृद्धाश्रमतिर पठाइदिने र वर्षमा एकदिन आउने बाउको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिनमा भने सामाजिक सञ्जालभरि रुँदै कराउँदै जीवनमा कसैले गर्न नसकेको काम गरेको जस्तोगरी समाजलाई देखाउनका लागि गरिने नाटकले समाजलाई पक्कैपनि सही दिशातर्फ लैँजादैन्।

वर्षमा एकदिन मात्र किन बाउआमाको मुख हेर्ने चटक गर्नुप¥यो । ३६५ दिनमा नै उनीहरूलाई आवश्यक खानपानको व्यवस्था, उचित औषधिउपचार, मिठोमिसनो चिजहरू, उनीहरूसँग नजिकै बसेर कुराकानी गर्दा कति उत्तम हुनेथियो र बल्ला त्यतिखेर साँच्चिकै आफ्ना बाउआमालाई गरेको सेवा सहीरूपमा सेवा हुन्थ्यो । र बाउआमाले पनि दिएको आर्शीवादले जीवनमा काम गर्नेथियो होला । तर पछिल्ला केही वर्षयता नेपाली समाजमा देखासिकी गर्ने प्रचलनले गर्दा समाज नकारात्मकतातिर गइरहेको छ । यो प्रवृत्तिले पक्कैपनि राम्रो र सकारात्मक सन्देश दिन सक्दैन् । जन्माउनेदेखि लालनपालन, शिक्षादीक्षा, बिहेबारीलगायतका सामाजिक परम्परा र रीतिरिवाज पूरा गर्नका लागि बाउआमाले कति कष्ट व्यहोरे होलान, कति दुःख गरे होलान, आफ्ना सन्ततिमाथि भविष्यमा आफ्नो कति खुसी जीवन देखे होलान, आफू भोकै रहेर पनि आफ्ना सन्तानको पेट भर्न, उनीहरूका हरेक मागहरू सम्बोधन गर्न कति औँला खियाए होलान ? हामीभने अहिले शिक्षित, टाठाबाठा र सहरीया बनेर बिस्तारै आफ्नो संस्कार, संस्कृति र परम्परा बिर्सँदै गएका छौँ ।

जीवित हुँदासम्म केही नगर्ने, हेला गर्ने, रेखदेख नगर्ने र मृत्यु भइसकेपछि सामाजिक सञ्जालमा गोहीका आँसु खसाल्ने हाम्रो प्रवृत्तिबाट नयाँ पुस्ताले के सिक्ने ? यतिमात्र होइन, जीवितै आमाबुवालाई स्याहार सुसार गर्नुको बदलामा वृद्धाश्रमतिर पठाइदिने, आफूभने मोजमस्ती गरेर जीवन बिताउने र वर्षमा एकदिन सामाजिक सञ्जालमा आएर रोइकराइ गरेर नौटंकीबाज गरेर उनीहरूको सम्मान मिल्दैन कि उल्टै बाउआमाको अपमान भइरहेको छ । तसर्थः हामी सबैले आआफ्ना बाउआमाको समयमै ख्याल राख्न जरुरी छ । होइन भने भाली हाम्रो बाटो पनि त्यही हो । हाम्रा सन्ततिले हामीबाट जे सिके त्यही कुरा भविष्यमा उनीहरूले गर्ने हुन् । यसतर्फ हामी सबै गम्भीर बन्न जरुरी छ । सामाजिक सञ्जालमा गोहीका आँसु झार्नभन्दा पनि साँच्चिकै रूपमा बाउआमाको सेवा गरौँ । एकदिन मात्र होइन ३६५ दिननै आआफ्ना बाउआमालाई सेवा गरेका तस्बिरहरू राखौँ । यसो गरेमा हरेकदिन आफ्ना बाउआमाको मुख हेरेको सार्थकता हुनेछ भने मुख हेर्ने दिनले पनि न्याय पाउनेछ । बुबाको मुख हेर्ने दिनले सन्तानलाई आफ्ना बुबाको अनुहार अवलोकन गर्ने, फूलमाला अर्पण गर्ने, मिठा खानेकुरा चढाउने र आशीर्वाद लिन दिने परम्परालाई जीवन्त बनाएको छ । आशीर्वादलाई जीवनयात्राको दिशानिर्देशक शक्ति मानिने विश्वासले यस पर्वलाई अझ अर्थपूर्ण बनाएको छ । यसलाई जीवन्त बनाउन हरेकले आफ्ना बाउआमालाई साँच्चिकै सेवा गर्न जरुरी छ । र मात्र यो पर्वले सार्थकता पाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार