रोल्पाको थवाङमा बम विष्फोट र उत्साहपूर्ण मतदान



रोल्पा, ९ मंसिर/  माओवादी जनयुद्धको उद्गम थलोको रुपमा चर्चित रोल्पाको थवाङमा एकातिर बम विष्फोट र अर्कोतिर उत्साहपूर्ण मतदान सँगसँगै भइरहेको छ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष आधार क्षेत्र मानिएको थवाङमा उनका कार्यकर्ताहरुले विभिन्न स्थानमा बम विष्फोट गराएका छन् भने अर्कोतिर गाउँगाउँबाट आएका मतदाताहरुले उत्साहका साथ मतदान पनि गरिरहेका छन् ।

थवाङका एक स्थानीयवासीका अनुसार हिजो बेलुकी नेकपाका कार्यकर्ताहरुले मतदान गर्न नजान भन्दै हाँक हाल्ने काम गरेका थिए । बिहानैदेखि मतदाताहरु मतदान गर्न नजाऊन् भनेर बम विस्फोट पनि गराएका थिए । यद्यपि गाउँगाउँबाट मतदाताहरु मतदान केन्द्रमा जाने र मतदान गर्ने क्रम यो समाचार तयार पार्दासम्म चलिरहेको छ । “अहिलेसम्म मतदान जारी छ । बम विस्फोट गरिए तापनि कुनै अप्रिय घटना भने भएको छैन ।”

पञ्चायतकालमा बारम्बार चुनाव बहिस्कार गरेर चर्चामा आएको थवाङमा त्यही कारणले तत्कालीन पञ्चायती व्यवस्थाले थवाङमाथि ठूलो दमन गरेको थियो । विगतदेखि नै विद्रोह ओकल्ने थवाङी जनताले गत स्थानीय तह निर्वाचनमा भने उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार