तीज नृत्य प्रतियोगितामा गोरखा स्कुल प्रथम



बाँके ।

बाँकेको कोहलपुरमा रहेको गोरखा यूनाटेड पब्लिक स्कुल तीज नृत्य प्रतियोगितामा प्रथम भएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा गोरखा स्कुल प्रथम, नमूना विद्या सदन मावि द्वितीय, दिपज्योति मावि तृतीय र ज्ञानज्योति मावि चप्परगौडी सान्त्वना भए ।

प्रतियोगितामा प्रथम हुने गोरखाले १० हजार, द्वितीय हुने नमूनाले आठ हजार, तृतीय हुने दिपज्योतिले छ हजार र सान्त्वना हुने ज्ञान ज्योतिले चार हजार पुरस्कारसँगै ट्रफि, मेडल र प्रमाणपत्र पाएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीले विद्यार्थीहरूको अन्तरनिहित क्षमता पहिचान गर्नुका साथै विद्यार्थीलाई परम्परागत रूपमा चलिआएको तीज पर्वको संरक्षण र सम्वद्र्धन गर्न प्रतियोगिताले सहयोग पु¥याउने बताइन् ।

साथै उनले प्रतियोगितामा सहभागी हुनेनै सफल भएको बताउँदै अतिरिक्त कार्यसँगै अध्ययनमा जोड दिन सुझाव समेत दिइन् । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत शिला गौतमले प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूको नृत्य प्रस्तुति उत्कृष्ट भएको बताउँदै नृत्य प्रतियोगिताबाट तीजलाई सभ्य बनाउन सकिने बताइन् । उनले तीजको परम्परालाई नयाँ पुस्तामा जानकारी दिन यस्ता प्रतियोगिता अनिवार्य आवश्यकता रहेको बताइन् ।

कार्यक्रम बोल्दै कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका सहायक शिक्षा अधिकृत बलबहादुर नेपालीले पछिल्लो समय तीजमा विकृति देखिएको बताउँदै परम्परागत रूपमा चलिआएको तीजको मौलिकता संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । प्रतियोगितामा नगरका सामुदायिक र संस्थागत २६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा तिलक गाउँले, दिपेन्द्र केसी र शान्ति चौधरी रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार