भेडीगोठ र भक्तजनहरू



जीतबहादुर शाह

केही समय पहिले एउटा पत्रिकामा एउटा गतिलै लेखकको शैक्षिक भेडीगोठ शीर्षकको लेख पढ्ने साइत जुरेको थियो । शीर्षक हेर्दा अनुमान गरेको थिएँ– गोठजस्ता जीर्ण र भौतिक पूर्वाधारको हिसाबले अनुपयुक्त लाग्ने हाम्रा विद्यालयहरूलाई संकेत गर्न खोजिएको होला । तर कुरोको चुरो मैले अनुमान गरेजस्तो नभइ अर्कै रहेछ । भेडाका बथानहरूमा अघि लागेको भेडाले जता–जता डो¥याउँछ पछि लाग्ने भेडाहरू पनि त्यतै त्यतै हिँडेजस्तै गरी हिँड्ने हाम्रा शिक्षाका सारथीहरूलाई भन्न खोजिएको रहेछ । लेखले प्रष्ट नखोले पनि अध्ययन गर्दा भाव त्यस्तो झल्किन्थ्यो । सिर्जनशील मानिसहरूको बाहुल्यता भएका उच्च शिक्षासम्म हाँक्ने मानिसहरू र उनीहरू आबद्ध संस्थाहरूलाई पनि भेडा र भेडीगोठ भन्न मिल्छ र भन्ने तर्कनाले धेरै समयसम्म मनस्थितिमा ज्वारभाटा चलिरह्यो । आखिर हो रहेछ भन्ने बिन्दुमा मैले आफूलाई कन्भिन्स गरेँ ।

यो मनले आंकलन गर्न भ्यायो कि हाम्रा दर्जनभन्दा बढी शिक्षकहरूका संस्थाहरू पनि त्यस्तै त रहेछन् भेडीगोठहरू जस्ता । उच्च शिक्षा हाँक्ने प्राध्यापकहरूका आधा दर्जनजति संघसंस्थाहरू पनि शैक्षिक भेडीगोठहरू जस्तै रहेछन् । भविष्यका देशका कर्णधार भनेर सम्बोधन गरिने विद्यार्थीहरू आबद्ध संघसंस्थाहरू पनि शैक्षिक भेडीगोठहरू भन्दा फरक रहेनछन् कतिपय अभिभावकका समूहहरू पनि शैक्षिक भेडीगोठअन्तर्गत नै पर्दारहेछन् । यी भेडीगोठहरूमा आबद्धहरू आफ्नै अगुवाको इसारामा चल्ने रहेछन् । अगुवाले जे गर भन्यो त्यही गर्ने रहेछन् । दायाँ फर्क भन्यो भने दायाँ फर्कन्छन्, बायाँ फर्क भन्यो भने बायाँ फर्कन्छन् । कसैको विरोध गर् भनेमा विरोध गर्छन् भने कसैको समर्थन गर् भनेमा समर्थन गर्छन् । यसमा कुनै कारण चाहिँदैन । यसमा कुनै काम गर्नु र नगर्नुका बीचमा पछि लाग्नेहरूबाट कुनै पुष्टयाइँ माग्नु पनि आवश्यक ठानिँदैन । भेडीगोठका भेडाहरू अघि लागेको भेडा जता लाग्यो त्यतै त्यतै लाग्न कुनै कारण आवश्यक नपरे झैँ हुन्छ शैक्षिक भेडीगोठहरूमा पनि । कसैकसैले हिजोआज भेडीगोठमा आबद्धहरूलाई झोलेहरू पनि भन्न थालेका छन् ।

शिक्षा के हो भन्ने सम्बन्धमा धेरैले धेरै कुरा भनेका छन् । पेष्टालोजीले शिक्षा मानिसको आन्तरिक शक्तिहरूको स्वाभाविक, सन्तुलित र प्रगतिशील विकास हो भनेका छन् । महात्मा गान्धीले शिक्षा बालक र मानिसको शरीर, मन र आत्मामा रहेका सम्पूर्ण असल कुराहरूलाई बाहिर निकाल्नु हो भनेका छन् । नेल्सन मण्डेलाले शिक्षा विश्व परिवर्तन गर्नका लागि प्रयोग गरिने एउटा सशक्त हतियार हो भनेका छन् । चाणक्यले शिक्षा मानिसको सबैभन्दा असल साथी हो, जसले गर्दा नै शिक्षित मानिसहरू जहाँ पनि सम्मानित हुन्छन् भनेका छन् । जर्ज वासिङ्टन क्यानरले शिक्षा मानिसको स्वतन्त्रताको सुनौलो ढोका खोल्ने साँचो हो भनेका छन् । सन्त र योगीहरूले शिक्षालाई सबै बन्धन र समस्याहरूबाट हुने उन्मुक्तिको नाउँ हो पनि भनेका छन् । यसरी अध्ययन गर्दा शिक्षा विकास रहेछ, शिक्षा ऊर्जा रहेछ, शिक्षा सिर्जनशीलता रहेछ, शिक्षा स्वतन्त्रताको अनुभूति रहेछ र शिक्षा सबै प्रकारका विकारहरूबाट मुक्ति पनि रहेछ । सारमा भन्दा शिक्षा एउटा शक्ति रहेछ जसले खुसी र समुन्नतिका ढोका खोल्न सहयोग गर्दछ ।

शिक्षाको परिभाषाहरू र हाम्रा शैक्षिक भेडीगोठहरूको अध्ययन गर्दा परिभाषाहरूमा भेटिए जस्तो शिक्षा व्यवहारमा भेट्न सकिने स्थिति देखिँदैन । परिभाषाहरूमा शिक्षाले व्यक्तिमा सिर्जनशीलता र नवीनताको विकास गर्दछ भन्ने कुराको बोध हुन्छ । हाम्रो परिवेशमा भने शिक्षाले अन्धभक्त र अन्ध समर्थकको झुण्ड निर्माणका खातिर कार्य गर्दछ भन्ने कुराको हस्को आउँछ । हाम्रो शिक्षामा जिज्ञाशा, उत्सुकता र अनुसन्धानको लागि एक इञ्च पनि स्थान देखिँदैन । भएभरको स्थान भक्ति, प्रार्थना, पूजा–आराधना, अनुनयविनय आदिले ओगटेको छ ।अलिकति कतै बाँकी भएको स्थान पनि भक्ति र प्रार्थनासँगै अन्तर्घुलन भएर चाकडी, चाप्लुसी, नातावाद, कृपावाद, आफन्तवाद, फरियावाद, भनसुन आदिले ढाकेको देखिन्छ । यस्तै प्रभावका कारण हाम्रो शिक्षाले सिर्जनशीलताको गर्भाधान र उत्पादन गर्न सकिरहेको छैन । उर्वर र नवीनताको खोजी गर्न सक्ने मष्तिष्कहरू पनि भक्तिगानको पछि लागेर उदासिन र बाँझिएका जस्ता देखिन्छन् । उपलब्धिको हिसाबले मानिसहरूका नसाहरूमा रगत होइन कि पानी बगेझैँ प्रतीत भइरहेको छ ।

मानिसहरू चाहन्छन्–छोटो बाटोबाटै काम भइहाल्छ भने लामो बाटो किन हिँड्ने ? अलि–अलि दुःख गरेर काम भइहाल्छ भने धेरै दुःख किन गर्ने ? अधिकारप्राप्त अधिकारीलाई रिझाए भइहाल्छ भने अधिकारकर्मी अर्थात् लक्षित समूहलाई किन पो रिझाउने ? अर्थात् साष्टाङ्ग दण्डवत गर्दै वरिपरि घुमे काम भइहाल्छ भने सुमेरु पर्वत किन घुम्ने ? आज यही गणेश प्रवृत्तिले हामी उर्वर भएर पनि बाँझिने क्रममा छौँ ।
हामी केही गर्न सक्ने भएर पनि गर्न नसक्ने जस्ता भइरहेका छौँ । हामी प्रजनन क्षमता भएर पनि भ्यासेक्टोमी र मिनिल्याप गरेजस्ता भइरहेका छौँ । भूपि शेरचनको भाषामा हामी बुद्धु भएर पनि बहादुरजस्ता देखिएका छौँ । परिवेश भक्तिगान गाउनेहरूका लागि अनुकूल बनिरहेको छ । भक्तिगान गाउन सक्यो भने उसले गरेको तिलजतिको राम्रो कामलाई पनि पहाड बनाएर बखान गरिन्छ । भक्तिगान गाउन नसकेर आफूले आर्जन गरेको शिक्षाको शक्तिमा भर प¥यो भने त्यस्ता व्यक्तिले गरेको उल्लेखनीय कार्यलाई तिलजति पनि महत्त्व दिइँदैन । यही कारणले आज सिर्जनशीलता, नविनता र अध्ययनशीलताले टुँसाउन समेत नपाइरहेको अवस्था छ ।

नेपाल आमाले जन्माएका सन्तानहरू बाँझा त छँदैछैनन् तथापि परिवेश बाँझिएकोे छ । केही गर्न सक्ने क्षमता भएका मानिसहरू अप्ठ्यारोमा छन् । राणाशासनको बेला नवीनताका खोजी गर्ने हातहरू छिनालिएजस्तै यतिबेला पनि केही गर्न चाहने मनहरूलाई मनोवैज्ञानिक हिसाबले टुक्र्याउने र छिन्नभिन्न गराउने काम भइरहेको छ । क्षमता भएका मानिसहरू हरेक दिन विदेसिन विवश छन् । विदेशका महत्वपूर्ण स्थान र पदहरूमा हाम्रा नेपालीहरूले चुनौतिपूर्ण जिम्मेवारीहरू सम्हालेर विश्वलाई आश्चर्यचकित बनाउँदै आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका छन् । विदेशमा भएका त्यस्ता प्रतिभावान मानिसहरूलाई स्वदेशमा आकर्षण गर्ने वातावरण छैन । कोही स्वदेश फिर्ता हुन खोज्यो भने पनि काम गर्ने ऊर्जा उतै छोडी भक्तिगान गाउने सीप सिकेर भित्रिनुपर्ने स्थिति छ । देशमा देखिएको यही विडम्बनाका कारण आज भेडीगोठहरू फस्टाउने अवस्थामा छन् भने नवीनताको सिर्जना गर्ने प्रयोगशालाहरूमा भोटे ताल्चा लगाउनुपर्ने स्थिति छ र त्यो क्रम जारी छ ।

जे होस्, देशमा भेडीगोठहरू बढ्दै छन् । त्यसमा पनि हाम्रो देशको शिक्षामा भेडीगोठहरूको बढ्ने गति अन्य क्षेत्रमा भन्दा तीव्र छ । यी भेडीगोठका भेडाका बथानहरू आ–आफ्नै पाराका छन् । अरुले के गरे र कहाँ पुगे कुनै चासो हुँदैन । हाम्रो कारणले शिक्षा क्षेत्र रसातलतिर भाँसिदैछ कि उन्नतितिर लाग्दैछ भन्ने कुराको पनि खासै हेक्का हुँदैन । हेक्का हुने भनेको अघि हिड्ने अगुवाको आज्ञापालन गर्ने हो ।
एउटै कुराको कहिले विरोध र कहिले समर्थन गर्नु परेपनि फरक नपर्नेगरी अगुवाको आज्ञापालन गर्दै जाने हो । आफ्नो भेडीगोठको बथान सरकार नजिक पुग्यो भने समर्थन पनि गर्नुपर्ने भयो भने त्यो पनि गर्ने हो भने सरकारबाट झ¥यो भने त्यसकै विरोध गर्नुपर्ने भयो भने पनि विरोध गर्ने नै हो । अगुवा भेडाले भनेपछि जे पनि गर्ने हो । सरकारबाट टाढा हुँदा विपक्षीहरूसँग मिलेर सरकारसँग गरेका सहमतिहरू कार्यान्वयन गर्नुपर्छ भनेर सडक तताउने हो भने सरकारमा पुगेपछि त्यस्ता सहमति च्यातेर कन्टेनरमा मिल्काइदिन पनि पछि पर्ने होइन भन्ने कुरा भेडीगोठमा बस्नेहरूले ख्याल गर्नु पर्ने प्रमुख कुरा हुन ।

आज देशको सिङ्गो शैक्षिक क्षेत्र यही भेडीगोठको प्रवृत्तिबाट गुज्रँदैछ । शिक्षा विधेयकले गाइजात्रा मनाउन थालेकै दशक पुग्यो । संविधान आएको अर्को वर्षमै शिक्षा ऐन आउँछ भनिएको थियो । एक दशक हुँदा पनि आएको छैन । यहाँ पनि शैक्षिक भेडीगोठहरूका आआफ्नै आशक्ति र गुनासाहरू छन् जसलाई सम्बोधन गर्नका लागि अलिअलि धम्की र अलिबढी जीहजुरी चलिरहेको छ । त्यो धम्की र त्यो जीहजुरी शिक्षालाई कसरी वैज्ञानिक, व्यवहारिक र गरिखाने बनाउनेमा भन्दा आफ्ना आफ्ना स्वार्थ समूहका आकाङ्क्षाहरूलाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा केन्द्रित देखिन्छ । विश्वमा अब्बल सावित भएको निरन्तर विद्यार्थी मूल्याङकन प्रणाली जसरी हामीले असफल बनाउँदैछौँ त्यसरी नै अहिले आएर व्यावसायिक र प्राविधिक शिक्षालाई पनि असफल बनाउँदैछौँ । सीप दिनुपर्ने शिक्षाले सर्टिफिकेट मात्र दिन थालेपछि आकर्षण बढोस् पनि कसरी ?

एसईई र एसएलसीको नतिजा बढेको देख्दा लाग्छ शिक्षाले मुलुकमा रातारात परिवर्तनको काँचुली फेर्दैछ । एकैवर्षको बीचमा दश प्रतिशतको हाराहारीमा नतिजा बढेको छ । के त्यस्तो चमत्कार भयो त मुलुकको शिक्षामा, एकैवर्षमा दश प्रतिशतभन्दा बढी नतिजा बढ्ने गरी ? आदेश र हुुकुम प्रमाङ्गीले चल्ने देशका तर्कहरू तुहिएका छन् । त्यसैले चुपचाप छन् भेडीगोठ र भक्तजनहरू । बढ्यो भनेपछि बढ्यो, खेल खतम् । अहिलेका जेनजी पुस्तालाई शिक्षा दिनका लागि कस्ता शिक्षकहरूको कसरी व्यवस्थापन गर्दैछौँ ? तिनीहरूको छनोट कसरी हुँदैछ ? एउटा खराव शिक्षक शैक्षिक पद्धतिभित्र प्रवेश ग¥यो भने त्यसको परिणामा कति पीडादायी हुन्छ भन्ने कुरा भेडीगोठहरू भित्र छलफल र बहस हुने कुरा पनि भएन । त्यही हो भेडीगोठहरूले थर्ड डिभिजनवालाहरूबाट फस्ट डिभिजन नतिजा ल्याउने उत्पादनहरू खोजिरहेको छ । भेडीगोठहरू तथास्तु भनेर जयगान गाउने चक्करमा छन् ।

शिक्षा विश्वकै सबैभन्दा शक्तिशाली विषय हो । जुन जुन देशले शिक्षाको यो महत्वलाई अङ्गिकार गरेर अघि बढे ती देशहरूले विकासका सिँढीहरू अकल्पनीय तरिकाले चढ्न सके । जुन जुन देशहरूले शिक्षाका महत्वलाई बुझ्न सकेनन् ती देशहरूले शिक्षाको मात्र होइन विकासका हर क्षेत्रका उद्देश्य र अपेक्षाहरू पूरा गर्न सकेनन् । त्यसैले स्पष्ट छ कि शिक्षा विकास र उन्नतिको अतुलनीय शक्ति हो । यसलाई राम्रो बनाउनुको विकल्प छैन र प्राथमिकता दिनुको पनि अर्को विकल्प छैन । यो देशलाई राम्रो बनाउने हो भने शिक्षाले पनि राम्रा र क्षमतावान मानिसहरू उत्पादन गर्नु र त्यस्ता मानिसहरूलाई प्रोत्साहित गर्नुको विकल्प पनि देखिँदैन । विश्वले मङ्गल ग्रह र चन्द्रमामा बस्ती बसाउने बहस गरिरहँदा हाम्रो भेडीगोठहरूमा अहिले पनि परीक्षा आफैँले दिने कि अरुलाई दिन लगाउने ? ह्वाटसएप र मेजेन्जरबाट कसरी परीक्षाहलमा चिट सप्लाइ गर्ने भन्ने बारेमा बहस भइरहेको हुन्छ । परिणामस्वरुप ब्रह्माले देखेको कुरा बोल्न नसकेर अघि हिँडेकोले जे बोल्छ त्यही बोल्नुपर्ला भनेर पर्खिबस्ने भेडीगोठका बथानहरू उत्पादन भइरहेका छन् । यस्तो शिक्षा हुनुभन्दा नहुनुमै धेरै भलो हुन्छ समाजलाई । किनभने यतिबेला समाजका धेरै मानिसहरूसँग अशिक्षित भनिएका मानिसहरू भन्दा शिक्षित भनिएका मानिसहरूबाट सख्त घाइते भएका पीडादायक कथाहरू सुरक्षित छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार