वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत खजुरामा अधुरै छोडिएको सडक खण्डमै पर्छ पेडारी नालामाथिको पुल । करिब ६ दशक पुरानो उक्त पुल भत्काएर नयाँ बनाउने योजना सडकको ठेक्का लगाउँदा नै छुटाइएको थियो । उक्त पुल जोखिमपूर्ण रहेकोले भत्काएर नयाँ बनाउन भने खजुरावासीहरूले एक दशकदेखि गर्दै आएको माग अब पूरा हुने भएको छ । हुलाकी सडक आयोजनाले उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता सम्पन्न गरेको छ ।
अब वर्षा मौसम सकिएसँगै पुल निर्माणको काम सुरु गरिने हुलाकी सडक आयोजनाको नेपालगन्जस्थित कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेले जानकारी दिए । उक्त पुल निर्माणका लागि जयबहादुर खत्री सञ्चालक रहेको नारायणम निर्माण सेवा नामक कम्पनीसँग आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रूपैयाँमा निर्माणको सम्झौता गरिएको पाण्डेले जानकारी दिए । २०८२ जेठ १९ गते गरिएको सम्झौतामा २०८३ वैशाख १९ गतेभित्र पुल निर्माण गरिसक्ने भनिएको छ ।
निर्माण हुने ४ लेनको पुलको लम्बाइ ३४ दशमलव चार मिटर हुनेछ । जसमा ११–११ मिटरका दुईवटा पुल गाँसेर तयार गरिने डिजाइन तयार गरिएको छ । पुलको बीचभागमा दुई मिटरको डिभाइडर राखिने र हालको पुलभन्दा झण्डै २.५ मिटर अग्लो उचाइको पुल निर्माण गरिने भएको छ । पुल निर्माणअघि १५ मिटर उत्तर दक्षिण तटबन्ध गरिने भएको छ ।
पुलको एकातर्फको भाग निर्माण भएपछि अहिलेको पुल भत्काएर अर्काे भाग बनाएर आवागमनलाई व्यवस्थापन गरिने पाण्डेले जानकारी दिए । बाँके बर्दियाका सहित हुलाकी राजमार्ग हुँदै यात्रा गर्ने लाखौँ नागरिकहरू उक्त पुल निर्माण नहुँदा सास्ती खेप्दै आएका छन् । पुलमा वर्षातको समयमा बेला बेला बाढी आएरसमेत नागरिकको आवागमनलाई प्रभावित गर्ने गरेको छ ।
उक्त निर्माणका लागि भनेर खजुरा क्षेत्रका विभिन्न नेताहरूले पहल गरिरहेको बताउने गरेका थिए । पुलका लागि ठेक्का आह्वान हुँदा जनप्रतिनिधिहरूबीच जस लिने होडबाजी पनि चलिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्