जीतबहादुर शाह
एकजना पत्रकार इजिप्टको भ्रमणको क्रममा उटमा चढेर यात्रा गर्छन् । यसरी उटमा चढेर यात्रा गर्ने क्रममा उटमा चढाउने मानिसले ती पत्रकारलाई एउटा कथा सुनाउँछन्– धेरै पहिले यो ठाउँमा एउटा किसान थिए । उनीसँग जग्गाजमिन प्रशस्तै थियो । जे होस् हुनेखाने किसानमा गनिन्थे । उनको नाम अल हाफेद थियो । उनलाई एकदिन एकजना बौद्ध भिक्षु आएर यता नजिकै कतै एक एकडजति जमिनमा हिराको खानी छ भनेर सुनाइदिएछन् । त्यसपछि उनले त्यही दिनदेखि हिराको खोजीमा जुटे । त्यसका लागि उनले सबैतिर खन्ने खोस्रने गरेर धेरै समय बिताए। उक्त कार्यमा आफूसँग भएको जग्गाजमिनसमेत बेचेर अरु मान्छे लगाएर पनि खोजी गर्ने र खन्ने खोस्रिने काम गरे । तथापि हिरा भेटाउन सकेनन् । हिरा खोज्दाखोज्दै उनी बुढो, अशक्त र रोगी पनि भए र हिरा नभेटाइकनै एकदिन उनको मृत्यु भयो । अल हाफेद मरिसकेपछि पनि त्यसपछिका अन्वेषकहरूले हिरा खोज्ने कार्यलाई जारी राखे । एकदिन हिराको खानी अन्वेषकहरूले पत्ता लगाए । उक्त खानी अल हाफेदकै जग्गामा रहेछ, जुन जग्गामा अल हाफेदले खोजी गरेनन् ।
किसानले सुनाएको यो कथाले पत्रकारलाई निकै गहिरोसँग छोयो । यो कथा वास्तवमा अल हाफेदको मात्र नभइ अधिकांश मानिसको कथा हो भन्ने लाग्यो उनलाई । मानिसले दुनियाँको बारेमा वर्षौँ लगाएर अध्ययन गर्छ तर आफ्नो बारेमा दिनमा एकघण्टा पनि समय दिन सक्दैन । त्यसैले अधिकांश मानिसहरूको जिन्दगी अल हाफेदको जस्तै निरर्थक तरिकाले खेर गइरहेको छ । त्यसपछि उनले पत्रकारिता छोडेर आफ्नै बारेमा खोजी गर्नु पर्ने सन्देश सम्प्रेषण गर्दै हिँडे । त्यही किसानले सुनाएको अल हाफेदको कथालाई विस्तार गरेर उनले एउटा किताब लेखे जसको नाम राखे, ‘एकड्स अफ डायमण्ड’ । उनको त्यो किताबको लोकप्रियता सोचेभन्दा बढी भयो । यसैबाट उत्साहित भएर उनले चालीस वटासम्म किताब लेखे । यसले गर्दा उनको लोकप्रियता झनै बढायो । जता गए पनि उनलाई पछ्याउने मान्छेहरूको घुइँचो लाग्न थाल्यो । यस्तै परिवेशले साथ दिइरहेको मौका छोपेर अमेरिकाको फिलाडेल्फियामा उनले एउटा विश्वविद्यालयको स्थापना गरे जसको नाम टेम्पल युनिभर्सिटी हो । उक्त विश्वविद्यालयमा अहिले तीस हजार विद्यार्थीहरूले पढिरहेका छन् । अमेरिकाका दश राम्रा विश्वविद्यालयहरूमध्ये यो विश्वविद्यालय पनि एक हो जसको स्थापना जसको स्थापना पत्रकार एवम् एकड्स अफ डायमण्डका लेखकले गरेका थिए । उनको नाम हो रस्सेल कनवेल । जसको भित्रको सुतिरहेको मानवलाई अल हाफेदले सुनाएको किसानको कथाले ब्युँझाइदिएको थियो ।
मानिसको संसार दुइटा हुँदा रहेछन्– बाह्य संसार र आन्तरिक संसार । बाह्य संसार भनेको देखिने संसार वा भनौँ भौतिक संसार । जसलाई हाम्रा इन्द्रियहरूले देख्छन्, भोग्छन् र महसुस गर्छन् । जसलाई विज्ञानले विश्वास गर्छ, पत्याउँछ, नाप्छ, तौलिन्छ र मूल्यांकन गर्छ । अर्को छ आन्तरिक संसार जो देखिँदैन तर जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, चलचित्रको निर्देशकले जस्तै । जो चलचित्रमा देखिँदैन तर चलचित्रका सबै कुरा उसैको निर्देशनमा भइरहेको हुन्छ । जुन कुरा मानिसमा पनि उसले लगाएको लुगा, गहना र जुत्ता जस्तो गरी देखिँदैन तर एउटा मान्छेलाई मान्छे बनाउने कि राक्षस बनाउने, अल्छी बनाउने र फुर्तिलो बनाउने आदि सवालमा उसकै भूमिका हुन्छ । मान्छेलाई यस कार्यमा उभित्र रहेको विचार, सोच, चिन्तन, लक्ष्य, उद्देश्य, दृष्टि, दूरदृष्टि आदिले असर पार्दोरहेछ । यी कुराहरू मस्तिष्कसँग पनि जोडिएका छन् । मस्तिष्कसँग जोडिएको नाताले विज्ञानले पनि अध्ययन गर्छ । त्योभन्दा बढी यो मन र आत्मासँग जोडिएको छ । आत्माको अध्ययन गर्ने भनेको अध्यात्मले हो ।
वैज्ञानिकहरूका पनि वैज्ञानिक भनेर नाम कमाएका अल्वर्ट आइन्सटाइनले भनेका छन् –‘अध्यात्मबिनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञानबिनाको अध्यात्म अन्धो हुन्छ ।’ जीन्दगीभर विज्ञानको उचाइका निम्ति काम गरेर अल्वर्ट आइन्सटाइनले यो के भनेका होलान् जस्तो लाग्थ्यो पहिले पहिले । अब त ठिकै हो भन्ने लाग्छ । उनले काम त गरे विज्ञानको उचाइमा इँटा थप्नका लागि तर उनलाई त्यो काममा प्रतिबद्ध र लगनशील बनायो उनको अध्यात्मले । अर्थात् उनको मन, विचार र आत्माले । उनी आफ्नो मन र चिन्तनलाई एकाग्र बनाएर घण्टौँसम्म सदुपयोग नगरेको भए उनी वैज्ञानिकहरूका पनि वैज्ञानिक हुन सम्भव थिएन । उनको मृत्युपश्चात् उनको दिमागमा अरुभन्दा त्यस्तो के फरक छ र भनेर वैज्ञानिकहरूले पच्चीस वर्ष अध्ययन गरेर नतिजा निकालेका थिए – ‘दिमागको बनावट उनको र अरुकोमा केही फरक थिएन । उनी एकाग्र भएर अनवरत मेहनत गरेकाले यो नतिजा देखिएको हो ।’ त्यसैले होला उनले पनि विज्ञान र अध्यात्म एकअर्काबिना अपुरो र अधुरो हुन्छन् भनेको । एपिजे अब्दुल कलामले पनि विज्ञान र अध्यात्मको चर्चा गर्ने क्रममा विज्ञानलाई बाहिरी दुनिया र अध्यात्मलाई आन्तरिक दुनिया भनेका छन् ।
मानिस खुसी, असल र सन्तुष्ट हुनका लागि बाह्य दुनियाभन्दा आन्तरिक दुनियाको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा मानिसहरूका जीवनीहरूको अध्ययनबाट सिद्ध हुँदै गइरहेको छ । संसारकै धनीमध्येकै व्यक्ति रतन टाटाले आपूmले अपाङ्गता भएका बालबालिकालाई ह्विलचियर वितरण गर्दा बालबालिकाको अनुहारमा जुन खुसी देखियो त्यो क्षणलाई जीवनकै सबैभन्दा सुखद क्षण भनेका छन् । बिलगेट्सले अबको बीस वर्षभित्रमा आफूले कमाएको सारा सम्पत्ति गरिवब दुखी र अशक्तहरूलाई बाँड्नेछु भनेर घोषणा गरिसकेका छन् । अहिलेको विश्व हल्लाइरहेका एलेन मस्कलाई सङ्केत गर्दै युवाहरूले मान्छे हुनुपर्छ त एलेन मस्क जस्तो हुनुपर्छ भन्दै गर्दा एलेन मस्कले मजस्तो दुखी र तनावग्रस्त व्यक्ति किन हुनुप¥यो भनेर दुनियालाई जवाफ दिन्छन् । यत्तिमात्र होइन, सन् १९२३ ताका विश्वका धनी घोषणा गरिएका ८ जना व्यक्तिहरूमध्ये पच्चीस वर्षकै बीचमा सबैको अवसान भयो । जेसी लिभरमोर, इभार क्रुजर र लिवन फ्रेजरले जीवनदेखि दिक्क भएर आत्महत्या गर्न पुगे । रिचर्ड ह्विट्नी र अल्बर्ट फलले गैरकानुनी काम गरेर जेल परे । हावर्ड हब्सन पागल भए । चाल्र्स स्वाव र आर्थर क्युटन आफूले गरिरहेको व्यवसायबाट टाट पल्टिएर फेरि उठ्न नसक्ने गरी थला परे ।
आध्यात्मिक यात्रामा लागेका मानिसहरू आत्महत्या र हत्याको बाटोमा लागेको देखिँदैन । उनीहरू जीवनमा असफल भएको पनि देखिँदैन । कसैले उनीहरूलाई असफल भनिहाले पनि उनीहरूले आफूलाई असफल भएको महसुस गर्दैनन् । राजसी सुखसयल त्याग गरेर बाहिरिँदा त्यत्तिबेलाका कतिपय मानिसहरूले सिद्धार्थ गौतमलाई नकारात्मक तरिकाले पनि टिप्पणी गरे । तर गौतम बुद्धले आफूलाई कहिल्यै पराजय र पश्चातापको भुङ्ग्रोमा पिल्सिनु परेन । बरु दुनियालाई एउटा जिउने दर्शन दिएर गए । व्यक्तिले आफ्नो आन्तरिक दुनियालाई कसरी विशाल र कसरी उन्नत बनाउने सम्बन्धमा दृष्टिकोण दिएर गए । जुन दृष्टिकोण प्रेम, करुणा र मानवताको पक्षमा थियो र छ । जुन दृष्टिकोण दुनियालाई सकारात्मक नजरले नियाल्दै जीवनलाई खुसीमय बनाउने कलासँग सम्बन्धित छ । जुन दृष्टिकोण मानव मस्तिष्कको अवचेतन पाटोलाई ब्युँझाएर मानवताको लागि लगानी गर्ने अथाह खजानाको उत्खनन गर्ने सवालमा महत्वपूर्ण सावित भएको छ ।
विज्ञान भनेको कम्प्युटरको हार्डवेयरजस्तै रहेछ भने अध्यात्म भनेको सफ्टवेयरजस्तै । सफ्टवेयर जस्तो छ बाहिरी दुनियामा देखिने र खोजिने कुरा पनि त्यस्तै हुँदोरहेछ । लोकलाजका कारणले केही कुरा केही समयसम्म लुकाउन सकिए पनि अन्ततः समय आएपछि सबै कुरा देखिने रहेछन् । आम नागरिकको हितमा काम गर्छौँ भन्नेहरू अन्ततः आम नागरिककै विपक्षमा उभिएर आफ्नो दुनो सोझ्याउन थालेजस्तै । किनभने उनीहरूको आन्तरिक संसारमा दुनियालाई सम्पन्न बनाउने भन्दा पनि पहिले आफू सम्पन्न हुने कुराले घर गरिरहेको थियो । मानिसले आन्तरिक संसारलाई विशाल र सुन्दर बनाउन सक्यो भने उसको लागि बाह्य संसार पनि सुन्दर देखिने रहेछ । यो काम शिक्षाले गर्नुपथ्र्यो तर पनि अहिलेको शिक्षा मानिसको आन्तरिक संसार सिंगार्नतिर भन्दा बाहिरी संसार सिंगार्नतिर उद्यत देखियो । त्यही भएर मानिस आज उच्चतहको शिक्षा प्राप्त गरेर पनि खुसी र सन्तुष्ट हुन नसकिरहेको अवस्था छ ।
युनेस्कोले शिक्षाका चार खम्बा भनेर अघि सारेको पनि देखिन्छ– शिक्षा जानकारीका लागि, शिक्षा काम गर्नका लागि, शिक्षा बसुधैव कुटुम्बकम (सँगै बाँचौँ, सँगै हाँसौँ)का लागि र शिक्षा व्यक्तित्व विकासका लागि । अहिलेको शिक्षाले अगाडिका दुई खम्बा ‘जान्नका लागि र काम गर्नका लागि’लाई मात्र प्राथमिकता दियो । पछाडिका दुई खम्बालाई बेवास्ता ग¥यो । यसले गर्दा मानिसहरूको बीचमा सहकार्य, सहसम्बन्ध, सद्भाव, सहयोग, मित्रता र विश्वासजस्ता कुराहरू मौलाउन सकेनन् । यसरी मानिसको आन्तरिक संसार कमजोर भएको कारण मानिसको व्यक्तित्व उठ्न सकेन । मानिस आफू र अरुप्रति समेत सकारात्मक, सहयोगी, भरपर्दो र विश्वासिलो हुन सकेन । मानिसहरू अल हाफेद जस्ता त भए तर पत्रकार रस्सेल कनवेल जस्तो हुन सकेनन् । जीवनलाई ऊर्जा दिने जीवनको आन्तरिक पाटो नै कमजोर भयो भने मानिस असल र सशक्त हओस् पनि कसरी ! मानिस एउटा धर्म विशेषको झण्डा बोकेर धार्मिक त भयो तर अध्यात्मिक हुन नसकेपछि समस्या देखिएको हो । धर्म र विज्ञान दुवै पक्षबाट जीवनको आध्यात्मिक पाटो ओझेलमा परेपछि मानिसहरू बीचको प्रेम, करुणा र सद्भावका विशाल फाँटहरू पनि बगरमा परिणत हुँदै गएका हुन् ।
कतिपय मानिसहरूले आफूलाई आध्यात्मिक होइन भने पनि उभित्र अध्यात्म छ । किनभने अध्यात्म भनेकै आत्मा, विचार, चिन्तन र मनको अध्ययन गर्ने शास्त्र हो । यी कुरा सबैसँग छन् । मानिस अन्य प्राणीभन्दा फरक हुने कारण पनि यसैले गर्दा हो । जुन अरु प्राणीसँग यी पक्षहरू कमजोर छन् । मानिससँग विचार छ, मन छ, सोच छ, चिन्तन छ, लक्ष्य छ, उद्देश्य छ । त्यसैले उ अरुभन्दा श्रेष्ठ छ र अरुभन्दा प्रगतिशील पनि । तर जुन मानिसको आन्तरिक संसार अर्थात् विचार, सोच, लक्ष्य र उद्देश्यको हिसाबले कमजोर छ त्यो मानिस मानिसजस्तो नभएर पशुजस्तो हुने गर्दछ । त्यसैले पनि मानिस वास्तवमै मानिस हुनका लागि अल्बर्ट आइन्स्टाइन र अब्दुल कलामले भनेजस्तै मानिसको बाहिरी संसार (भौतिक विज्ञान) र आन्तरिक संसार (अध्यात्म) उत्तिकै सशक्त हुनु जरुरी छ ।
अझै मानिस पशुभन्दा माथि उठेर मानव भएर जिउने हो भने ऊभित्रका सोच, विचार, चिन्तन, उद्देश्य र लक्ष्यलाई अरुको निम्ति समेत उपयुक्त हुने गरी परोपकार पुण्यायको भावबाट अघि बढ्न उभित्रको अध्यात्मिक पाटो बलियो हुन जरुरी छ । मानिसहरूको बीचमा प्रतिस्पर्धा होइन कि प्रेम, करुणा र हार्दिकताका बगैँचाहरू ढकमक्क फुलाउनका लागि मानिसको आन्तरिक पाटो जगमगाउनु जरुरी छ । आन्तरिक पाटो जगमगाउन सक्यो भने हामी पनि अल हाफेदबाट रस्सेल कनवेल हुन सक्ने सम्भावना छ । त्यसैले पनि यस्ता सवालहरूमा बहस चलाउनु जरुरी छ । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्