चिन्तामणि घिमिरे
उन्नाइसौँ शताब्दीको पहिलो दशकमा प्रख्यात चिकित्सक परिवारमा जन्मेका चाल्र्स डार्विनले चिकित्साको पेशा रोजेनन् । हार मान्दै उनका पिताले उनलाई धर्माचार्यको शिक्षा दिलाउन चाहे तर त्यो पनि पूरा भएन । बाल्यकालदेखिनै प्राकृतिक बस्तुहरूमा रुचि राख्ने चाल्र्सलाई जब प्रकृति वैज्ञानिकको रूपमा बीगल अनुसन्धान जहाजमा यात्रा गर्ने अवसर मिल्यो तब उनले आफ्नो जीवनलाई एक नयाँ मोड दिए । चाल्र्स डार्विन मानव जगतका एक महान वैज्ञानिक हुन् । उनले मानव जातिको उत्पत्तिका साथै सम्पूर्ण प्राणी जगतको विकासबारे महत्वपूर्ण तथ्यहरू पत्ता लगाए ।
हामीले चाल्र्स डार्विनलाई यसकारण महान वैज्ञानिक मान्दछौँ कि उनले ठोस तथ्यहरूको आधारमा मानिसको उत्पत्ति यस धर्तीमा कसरी भयो भन्ने कुराको हल गरे । उनले यो पनि पत्ता लगाए कि पूरै प्राणी जगतको विकासको खास केही निश्चित नियमहरू छन् र मानिस त्यो विकास प्रक्रियाको सबभन्दा उन्नत कडी हो । प्राणी र वनस्पति जगत दुवै निरन्तर बदलिरहन्छन् अर्थात् परिवर्तन भइरहन्छन् । उनीहरूले आफूलाई वातावरणअनुसार अनुकूल बनाइरहनु पर्नेहुन्छ । जसले आफूलाई वातावरणअनुसार ढाल्दै लैजान्छन् उनीहरू विकासको प्रक्रियामा अगाडि बढदै जान्छन् ।
जसले आफूलाई वातावरणअनुसार अनुकूल बनाउँदैनन् तिनीहरू लोप हुन्छन् । डाइनोसोर भन्ने भीमकाय जीव लोप हुनुको कारण आफूलाई परिस्थितिअनुसार चलायमान गराउन नसक्नु र वातावरणमा घुलमिल हुन नसक्नु हो । जबसम्म बदल्ने प्रक्रिया जारी रहन्छ तबसम्म विकासको सिलसिला अगाडि बढिरहन्छ । यसलाई डार्विनको विकासवादी सिद्धान्तको नामले चिनिन्छ । समुद्रदेखि डराउने तथा आलिसान महलमा रहने चाल्र्सले पाँच वर्ष समुद्री यात्रामा बिताए र एक सानो क्याबिनको आधा भागमा गुजारा चलाए । ठाउँ ठाउँका बिरुवाहरू, पातहरू, काठहरू, पत्थर, किरा एवं अन्य जीवाश्म तथा हाडहरूलाई एकत्रित गरे । ती दिनहरूमा फोटोग्राफीको व्यवस्था थिएन ।
अतःउनलाई सबै नमूनाहरू माथि लेबल लगाएर समय समयमा इङ्गल्यान्ड पठाउनु पथ्र्यो । आफ्नो कामको सिलसिलामा उनी दस–दस घन्टा घोडामा सवारी गर्दथे र कैयौँ माइल पैदल पनि यात्रा गर्दथे । ठाँउ ठाँउमा खतराको सामना गर्नु, लुप्त प्राणीहरूको जीवाश्मलाई खोज्नु, अनजान र अनौठा जीवहरूलाई ध्यान दिएर हेर्नु नै उनको जीवनको दिनचर्या थियो । गलापागोजको यात्रा चाल्र्सको लागि निर्णायकसिद्ध भयो । यस द्वीप (टापु)मा उनलाई अदभूत र अनौठा कछुवाहरू र छेपाराहरू (छिपकली) देख्ने अवसर मिल्यो । उनलाई विश्वास भयो कि आज जो देखिरहेका छौँ, हिजो त्यस्तो थिएन । प्रकृतिमा निरन्तर संघर्ष र परिवर्तन हुँदै आइरहेको छ ।
डार्विनले आफ्नो पुस्तक जातिहरूको उत्पत्ति भन्ने पुस्तकमा मानवजाति र सम्पूर्ण प्राणी जातिको उत्पत्ति र विकासबारे स्पष्ट रुपले व्याख्या गरेका छन् । प्राणी जगतको उत्पत्ति ईश्वरले गराएका हुन् भन्ने दैवी सिद्धान्तको बोलबाला रहेको त्यस समयमा डार्विनको खोज एउटा महान क्रान्ति र फड्को थियो । चाल्र्स डार्विनको समयसम्म आइपुग्दा धर्मको जगजगी यथावतै थियोे । सृष्टिको विकासको सम्बन्धमा पहिले थरीथरीका धारणाहरू समाजमा फैलिएका थिए । इसाई पादरीहरूको मत थियोे कि ईश्वरले नै विश्वको रचना गरेका हुन । यस कुराको वैज्ञानिक ढंगले सर्वप्रथम खण्डन गर्ने काम चाल्र्स डार्विनले गरेका थिए जो आज विकासवादको जनकको रूपमा प्रख्यात छन् । उनले आफ्नो गहन अध्ययनबाट यो निष्कर्ष निकालेका थिए कि संसार ईश्वरको देन होइन बरु करोडौँ वर्षको लगातार विकासको परिणाम हो । डार्विनले भनेका छन् कि मानिसको जो स्वरुप आज छ त्यो उसको कैयौँ वर्षहरूको क्रमिक विकासको परिणाम हो र हरेक जीवधारी विकासको शृंखलामा बाँधिएको हुन्छ ।
डार्विनको जन्म १२ फेव्रुअरी १८०९ श्रुस्बेरी इङ्गल्यान्डमा भएको थियो । उनी बालककालदेखि नै गम्भीर र शान्त स्वभावका थिए । उनको सानैदेखि विभिन्न प्रकारका चराचुरुङ्गी ,किराफट्याङग्रा र जीवजन्तुहरूको अवशेषहरू र रुख बिरुवाहरू जम्मा गर्ने शौख थियो । उनको परिवार अत्यन्तै सम्पन्न थियो । उनका पिता एक सफल चिकित्सक थिए । डार्विनको हृदय आफ्नी आमाको जस्तै अत्यन्तै कोमल थियो । कसैमाथि अन्याय भएको देखेपछि उनलाई अत्यन्तै दुःख लाग्थ्यो । जब डार्विनले आठ वर्षको उमेरमा पाइला टेक्दै थिए उनकी आमा यो संसारबाट सदाका लागि बिदा भइन् । कलिलै उमेरमा उनले मातृवियोग सहनुप¥यो । त्यसै समयमा पिताले उनलाई स्कुलमा भर्ना गरे । स्कुलमा पढाइने विषयहरू गणित, ल्याटिन, ग्रिकमा उनको कत्ति पनि ध्यान गएन अर्थात् स्कुले शिक्षाप्रति उनको रुचि जागेन । उनको मन अरु केही गर्ने विषयमा जान्थ्यो । उनले स्कुलमा पढाइने विषयहरूको सट्टा बाहिरतिर चासो दिने गर्दथे । उनले स्कुललाई एक प्रकारको जेल जस्तै ठान्दथे ।
डार्विनले आफ्नो घरको बगँैचामा एउटा गोप्य प्रयोगशाला बनाएरै छाडे । उनले त्यहाँ विभिन्न प्रकारका रासायनिक प्रयोग गर्ने गर्दथे । यिनै विभिन्न प्रकारका रासायनिक प्रयोग गर्ने हुनाले साथीहरूले उनलाई ग्यास डार्विनको नामले बोलाउन थाले । डार्विनको यिनै प्रयोगहरू देखेर उनका पिता अत्यन्तै हैरान भएर उनले डार्विनलाई स्कुलबाट निकालेर एडिनबरा विश्वविद्यालयमा चिकित्साशास्त्र विषयमा भर्ना गरे । डार्विनलाई त्यो चिकित्साशास्त्रको विषय पनि अत्यन्तै अरुचि लाग्यो । एकदिन अपरेसन कक्षमा एक बच्चाको अपरेसन भइरहेको थियो । डार्विन पनि त्यहाँ उपस्थित थिए । त्यस समय बिरामीलाई बेहोस बनाउने औषधिको आविष्कार भएको थिएन ।
यो औषधि बिरामीको शरीरको अङ्गलाई अचेत बनाउने काममा प्रयोग हुन्थ्यो । जसबाट अपरेसनको चिरफारको बेला बिरामीलाई पीडा नहोस् भन्ने थियोे ।बिरामीलाई बेहोस नबनाइकन अपरेसन गरिएको हुनाले बच्चा अत्यन्त छटपटाइरहेको थियो । बच्चाको छटपटाहटले डार्विनलाई अत्यन्तै दुखित तुल्यायो र उनी तुरुन्तै अपरेसन कक्षबाट बाहिरिए त्यसपछि उनले डाक्टर बन्ने विचार पनि त्यागीदिए । छोराको यस्तो सोचाइ र क्रियाकलाप देखेर निराश हुँदै पिताले सोचे कि चाल्र्सलाई डाक्टर होइन, यो डाक्टर बन्दैन, चर्चको पादरी बनाउनुप¥यो । धार्मिक पढाईको लागि पिताले उनलाई क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना गरे । क्याम्ब्रिजमा पढ्दै गर्दा तीन वर्षको अवधिमा उनलाई चर्चको पादरी बन्ने कुराप्रति पनि मोहभङ्ग भयो । त्यहाँ उनको जीवनको दिशालाई मोड्ने एउटा महत्वपूर्ण घटना घट्यो । त्यहाँ उनको परिचय वनस्पतिशास्त्री हेन्सलो सङ्ग भयो, जुन निश्चयनै उनको जीवनको महत्वपूर्ण घटना थियोे ।
हेन्सलोद्वारा डार्विनलाई प्रकृतिका विषयहरूको बारेमा राम्रो शिक्षा मिल्यो । उनको अन्य प्रकृतिविदहरूसङ्ग पनि परिचय भयो । इङ्गलैन्डदेखि बीगल नामक जहाज विश्व यात्रामा जाँदै थियो । यस यात्राको मुख्य उद्देश्य प्रशान्त महासगरका केही टापुहरूको बारेमा खोज, अनुसन्धान गर्नु थियोे । त्यस जहाजमा क्याप्टेन फ्रीप्जरायको साथ प्रकृति अन्वेषकको रूपमा डार्विनलाई यात्रा गर्ने मौका मिल्यो । यो सारा व्यवस्था हेन्सलोको प्रयासबाट सम्भव भएको थियोे । २७ डिसेम्बर १८३१ को डेवनपोर्ट बन्दरगाहबाट डार्विन विश्वयात्राको लागि बीगल जहाजमा सवार भए । बीगलको समुद्री यात्रा पाँच वर्षसम्म चल्यो । यो यात्रा अत्यन्तै जोखिमपूर्ण रह्यो । यात्राका दौरान अत्यन्तै दुःख र कठिनाइहरू बेहोर्नुप¥यो । यस यात्राको दौरानमा डार्विन अत्यन्त धेरै नै अस्वस्थ रहे ।
तैपनि उनले हिम्मत हारेनन् । आफ्नो विकासवादी सिद्धान्तको लागि उनले यस यात्राका दौरानमा भरपुर तथ्यहरू संकलन गरे । यात्राको समय उनले अमेरिकामा चलिरहेको दास प्रथालाई पनि अध्ययन गर्ने मौका प्राप्त गरे । उनलाई ती मान्छेहरूप्रती घृणा लाग्यो जसले आफ्नो निजी फाइदाका लागि अरुलाई दास बनाइरहेका थिए । उनले अत्यन्तै कडा शब्दमा दास प्रथाको निन्दा गरे । १८३६ मा डार्विन बीगलको पाँच वर्षको यात्रा गरेर इङ्गलैन्ड फर्के । बीगलको यात्रा पूरा गरेर फर्केपछि सबभन्दा पहिले डार्विनले बीगलको यात्रा नामक पुस्तक लेखे । त्यसपछि उनले यात्राका दौरानमा संकलन गरिएका तथ्यहरूको आधारमा प्रजातिहरूको उत्पत्ति नामक महत्वपूर्ण पुस्तक लेखे ।
यो पुस्तक सन् १८५९ मा छापिएको थियोे । पुस्तक प्रकाशित हुँदैगर्दा धर्मको दुनियाँमा एउटा हलचल मच्चियो । धर्मले अहिलेसम्म यो बताउँदै आइरहेको थियो कि ईश्वरको चमत्कारले गर्दा नै मानवको उत्पत्ति भएको हो । डार्विनको यो विकासवादी सिद्धान्तले धर्मको यो धारणामाथि प्रश्न खडा गरिदिँदै यो बतायो कि मानिसको उत्पत्ति बानर जस्तो प्राणीबाट भएको हो । यो धारणाको अत्यन्तै मजाक उडाउने काम पनि भयो ।
अर्थात् यो धारणालाई अत्यन्तै खिल्ली उडाउने काम भयो । १८६० को समयतिर अंग्रेजÞ विसप विलवर फोर्सले डार्विनको यो सिद्धान्तलाई धर्मको विरोधी भनेर घोषणा गरिदिए र यसले ईश्वरलाई मान्दैन भनेर पनि भनिदिए । त्यस समय हक्सले नामक जीव वैज्ञानिकले डार्विनको सिद्धान्तलाई जोडदार रूपमा समर्थन गरेर विसपको विरुद्धमा खडा भए । विज्ञानको यो विशेषता रहेको छ कि उसले ती चीजलाई चुनौती दिन्छ जुन तर्क र तथ्यहरू माथि आधारित छैनन् । यसकारण धर्म र इश्वरीय विधानको सबैभन्दा ठुलो र खतरनाक दुश्मन भनेकै विज्ञानको तार्किकता नै हो ।
डार्विनको खोजले धर्मको मान्यतालाई हल्लाइदियो । खोजबाट प्रमाणित भयो कि जीवन ईश्वरको रचना होइन, बरु विकास क्रममा अस्तित्वमा आएको हो । बीगलको यात्राबाट फर्केपछि सन् १८३९ मा उनले आफ्नै मामाको छोरी एम्मा वैजवुडसँग विवाह गरे र केन्टको एक गाउँमा सुखसँग रहन थाले । डार्विनका चार छोराछोरी उच्च श्रेणीका वैज्ञानिक भए, जसमध्ये तीन जनालाई आफ्ना पिताजस्तै रोयल सोसाइटी अफ लन्डनको फेलो नियुक्त गरियो । कुनैपनी बस्तुको विकास सजिलो तरिकाले हुँदैन । अझ खासगरेर विज्ञानको विकास यहाँसम्म आउँदा विज्ञानले अनेकौँ हन्डर, ठक्कर र अपमानहरूका विरुद्ध संघर्ष गरेर अगाडि आएको हो । डार्विन र उनको साथीमाथि चर्चले ठुलो दमन गर्न खोज्यो र उनको सिद्धान्तमाथि खिसीट्युरी ग¥यो । त्यसले डार्विनलाई कुनै फरक परेन । डार्विनको किताब ‘ओरिजिन अफ स्पीशीज’ प्रकशित भएर बजारमा आएपछि माक्र्स अत्यन्तै खुसी भए । उनले डार्विनको किताबलाई रुचिपूर्वक अध्ययन गरे । माक्र्सले तुरुन्तै बुझे कि डार्विनले आफ्नो सिद्धान्तमा द्वन्द्वात्मक, वैज्ञानिक र भौतिकवादी पद्धतिको परिचय दिएका छन् र एङ्गेल्सलाई पत्र लेखेर उनले भनेका छन् कि यो थेसिस हाम्रो समाज विज्ञानको लागि काम आउन सक्छ ।
सन् १८६७ मा जब ‘पुँजी’को पहिलो खण्ड प्रकाशित भयो तब माक्र्सले त्यसको एक सौजन्य प्रति डार्विनलाई पठाइदिए । उक्त किताबमाथि दस्तखत गर्दै माक्र्सले भने कि ‘म तपाईँको ठुलो प्रशंसक हुँ ।’ डार्विनले प्रत्युत्तरमा चिट्ठी पठाए कि ‘म तपाईँको यस उपहारको लागी योग्य भएपनि नभएपनि म तपाईँको पुस्तकलाई प्राप्त गरेर धेरै सम्मानित महशुस गरिराखेको छु ।’ डार्विनले त्यो पुस्तक पढे कि पढेनन् ? थाहा छैन् । जे भएपनि दुई मेधावी मस्तिष्कबीच पत्र आदानप्रदान भयो र एकले अर्कोलाई सम्मान पनि गरे । विज्ञान तथ्यहरूको सङ्ग्रह होइन, यो सोच्ने तरिका हो । विज्ञान तथ्यहरूको विश्लेषण हो । तथ्यहरूको आधारमा तर्क गर्नु विज्ञान हो । तथ्य र तर्कको जोड हो विज्ञान । विज्ञान सत्यको खोजी हो तर यो पूर्णसत्य भने होइन, विज्ञानमा स्थापित सत्यमाथि पनि प्रश्न गरिन्छ । थप तथ्य र प्रमाणको खोजी गरि नयाँ सत्यको उद्घाटन गर्नु नै विज्ञान हो । विज्ञान आलोचनात्मक र विश्लेषणात्मक हुन्छ ।
विज्ञान कुनै विद्वानले भनेको कुरामा शंका गर्न मिल्छ भन्छ । बुद्धले आफ्नै कुरामा शंका गर भनेर आफ्ना चेलाहरूलाई भने । कुनै पनि कुराको आँखा चिम्लेर समर्थन नगर भने । माक्र्सले पनि आलोचनात्मक दृष्टिकोण राख्न भने । हरेक नागरिकमा वैज्ञानिक साक्षरता हुन जरुरी हुन्छ । तर्क गर्ने, छलफल गर्ने, तथ्यहरूको संकलन गर्ने, अध्ययन अनुसन्धान गर्ने प्रश्न गर्ने, व्याख्या र विश्लेषण गर्ने, किन र कसरी भन्ने प्रश्नले मानिसलाई समस्याबाट समाधानको बाटोमा अगाडि बढाउँछ । डार्विन त्यत्तिकै सजिलै वैज्ञानिक भएका होइनन् । उनले आफ्नो जीवन धरापमा राखेर खोज अनुसन्धानको कार्यमा समर्पित थिए । चर्चको दमनलाई झेलेर आफ्ना पाइलाहरू अगाडि बढाएका थिए र सफल भएका थिए । यी महान वैज्ञानिकको निधन १८८२ अप्रिल महिनामा भएको थियो । उनको शव बेस्ट मिनिस्टर ऐवमा गाडियो । उनको समाधीभन्दा पर न्युटनको समाधी छ ।









प्रतिक्रिया दिनुहोस्