जीतबहादुर शाह
सानो छँदा मसँग पनि साना बालबालिकाहरूसँग जस्तै रहरहरू थिए । बेलुकीपख गाउँमा मादल बज्यो भने मलाई घरमा निदै लाग्दैनथ्यो । मादल बजेको ठाउँमै जानुपथ्र्यो रमाइलो हेर्न । कतै दमाहा र सनाइ बज्यो भने पनि घरमा मन बस्दैनथ्यो । त्यत्तिमात्रै होइन, कतै धामीझाँक्री र ढ्याङ्ग्रोको आवाज सुनियो भने पनि मलाई घरमा बस्न नसक्ने अवस्था हुन्थ्यो । मनभरि जौ–तिल पाक्न थाल्थे र धामीझाँक्री कराइरहेको र ढ्याङग्रो बजाइरहेको ठाउँमा पुगेपछि पाइला रोकिन्थे र मन एकोहोरिन्थ्यो धामीझाँक्रीतिर ।
धामीझाँक्री ढ्याङ्ग्रो बजाउँदै उफ्रिएर बिरामी घरका मान्छेहरूलाई तँ–तँ भन्दै हप्काएको देख्दा अचम्म लाग्थ्यो । उनीहरूका चर्तिकला देखेर भित्रभित्रै म पनि धामीझाँक्री हुन पाए कति जाति हुन्थ्यो होला भनेर मनभरि कल्पना गर्थेँ । अरुलाई ठालु भएर हप्काउन पनि पाइने, पैसा र प्रतिष्ठा पनि पाइने, दालचामल, कुखुरा, बोका पनि पाइने । त्यही भएर धामीझाँक्री त जसरी पनि हुनुपर्छ क्या रे भनेर पनि कति वर्षसम्म यो मान्छेको बालो मनभरि कुरा चलिरहन्थे । घर छोडेर डेरा गरी बाहिर बसेर पढ्न थालेपछि भने त्यस्ता कुरा कतिबेला कता हराएछन्, हेक्कै भएन।
जस्तो परिवेश त्यस्तै मनस्थिति । जस्तो मनस्थिति त्यस्तै रहर । जस्तो रहर त्यस्तै उद्देश्य । त्यो बेला मेरो गाउँको परिवेशले मलाई त्यही सिकाउन खोज्दै थियो । गाउँ छोडेर अलि फराकिलो ठाउँमा गएपछि सोच पनि अलि फराकिलै भयो । पछि बुझ्दै जाँदा धामीझाँक्री समयसुहाउँदो कर्म होइन रहेछ भन्ने बुझेपछि त्यतातिर मन भाँचियो र नजाने ठाउँको बाटो नसोध्ने पक्षतिर लागियो । त्यत्तिबेला मेरा गाउँको परिवेश अनुसारको पाठ्यक्रमले धामीझाँक्री बनाउने किसिमले मलाई झक्झक्याइरहेको थियो । यसरी पाठ्यक्रमले उद्देश्य यकिन गरेपछि धामीझाँक्री कसरी हुने त ? यसको विधि र तरिका के हो ? यो तरिका सिक्नका लागि कोसँग जानु पर्छ र के गर्नुपर्छ भन्ने कुरा क्रमशः जोडिएर आउँदा रहेछन् ।
यसैलाई भनिँदोरहेछ, शिक्षण सिकाइ क्रियाकलाप अर्थात् शिक्षण सिकाइको ढाँचा । यसैका लागि बनाइँदो रहेछ, पाठ्योजना, शिक्षण सुधार योजना, वार्षिक शैक्षणिक योजना र आदि आदि । यसैका लागि चाहिँदो रहेछ अभिभावक, शिक्षक र विद्यालय पनि । माथिको मेरो जीवन भोगाइबाट मैले सिकेको कुरा यही हो कि सिकारुको शिक्षाको निम्ति निर्माण गरी लागू गरिने पाठ्यक्रमले मुख्य गरी के र कसरी को जवाफ दिने प्रयत्न गरिरहेको हुन्छ । के अन्तर्गत के सिकाउने भन्ने कुरा (विषयवस्तु)लाई पाठ्यक्रमले प्राथमिकता दिइरहेको हुन्छ । त्यसबाट केकस्ता सक्षमताहरूको विकास गर्ने भन्ने कुरा पनि किटान गरेको हुन्छ । यसका अतिरिक्त त्यसरी तय गरेका उद्देश्य र सक्षमताहरूलाई सिकारु अर्थात् विद्यार्थीहरूलाई कसरी हस्तान्तरण गर्ने भन्ने कुरालाई पनि प्राथमिकतामा राखी मार्गनिर्देशन प्रदान गरेको हुन्छ ।
अहिले कतिपय मुलुकका पाठ्यक्रमहरूले सामना गरिरहेका सवाल भनेको कतै के सिकाउने भन्ने छ भने कतै कसरी सिकाउने भन्ने रहेको छ । विशेषगरी विकसित मुलुकहरूमा के सिकाउने भन्ने सवालहरूले चुनौतीको रूपमा काम गरिरहेको छ भने विकासोन्मुख मुलुकहरूमा कसरी सिकाउने भन्ने सवालले चुनौतीको रूपमा काम गरिरहेको देखिन्छ । संयुक्त राज्य अमेरिका विश्वकै शक्तिसम्पन्न मुलुक हो । उक्त देशमा विद्यार्थीहरूलाई कसरी सिकाउने भन्ने सवालले भन्दा पनि के सिकाउने भन्ने सवालले सरकार र शिक्षाका सरोकारवालाहरूको टाउको दुखाइरहेको देखिन्छ । अमेरिकामा बसोवास गरिरहेका आदिवासी अर्थात् परम्परावादीहरूले त्यहाँको आदिकालदेखिको परम्परा र संस्कृतिको बारेमा जोड दिन चाहन्छन् पाठ्यक्रममा । इतिहासमा भएका राम्रा कामहरूलाई उजागर गर्न चाहन्छन् पाठ्यक्रममा र विशेषगरी अङग्रेजी भाषा र साहित्यको श्रीवृद्धि हुने गरी सम्बोधन भएको देख्न चाहन्छन् पाठ्यक्रममा ।
त्यसका साथै यौनका मामलामा परम्परावादीहरू सावधानी अपनाउन चाहन्छन् । अर्थात् उनीहरू विवाहअघिको यौनसम्पर्क र यौनिक क्रियाकलापहरूलाई पाठ्यक्रमले बढावा दिने गरी कुनै पनि विषयबस्तु राखिनु हुँदैन भन्ने पक्षमा कट्टर रहेका छन् त्यहाँका आदिवासी अर्थात् परम्परावादी अमेरिकीहरू । यसको विपरीत बहुसंस्कृतिवादी अर्थात् बहुसंस्कृतिका पक्षधरहरू त्यहाँका आदिवासीहरूको मात्र धर्म र संस्कृतिको होइन कि त्यहाँको पाठ्यक्रमले सबै जातजाति र धर्मको संस्कृति, भाषा र रितिरिवाजलाई समेट्न सक्नुपर्छ भन्ने पक्षमा छन् । यसका साथै अमेरिकाको इतिहास अध्ययन गर्दा इतिहासमा भएका क्रियाकलापहरूलाई आलोचनात्मक तरिकाले पाठ्यक्रममा राखिनु पर्दछ भन्ने पक्षमा वकालत गरिरहेका छन् । यौन शिक्षालाई खुलारूपमा विद्यालय उमेरबाटै सिकाउनु पर्छ र यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा पाठ्यक्रममा समावेश गरिनु पर्छ भन्ने पक्षमा छन् । नागरिक शिक्षा, नैतिक शिक्षा, मूल्य शिक्षाका कुराहरू समावेश गर्दा पनि आदर्श व्यक्तित्व कसलाई मान्ने भन्ने सवालमा समेत मतैक्यता हँुदैन । यस्तै यस्तै कारणले कतिपय कलेज र विद्यालयमा द्वन्द्वको सिर्जना भइ शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको देखिन्छ ।
शिक्षकहरूलाई समेत कतिपय अवस्थामा अनावश्यक झमेलाको लागि काँध थाप्नु पर्ने भइरहेको छ । कतिपय विद्यालयहरूमा मूल्य शिक्षा, नैतिक शिक्षा र सामाजिक अध्ययनका कतिपय सवालहरू अभिभावकहरू आफैँले सिकाउनु पर्छ भनेर विद्यालयहरू पन्छिएको अवस्था पनि देखिन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता समस्याहरू यदाकदा स्थानीय पाठ्यक्रम निर्माणको क्रममा देखिने गरेका छन् । तथापि हाम्रो परिवेशमा त्यस्ता सवालहरू कमजोर छन् । यहाँको मुख्य समस्या भनेको कसरी सिकाउने भन्ने हो । पहिले पहिले कुरा उठ्थ्यो, हाम्रो शिक्षा वैज्ञानिक भएन, गरिखाने भएन यस्तै यस्तै । अब त विभिन्न जिल्ला र पालिकाहरूमा प्राविधिक शिक्षा सिकाउने विद्यालय र कलेजहरू पनि सञ्चालनमा छन् । शुल्क पनि त्यत्ति महङ्गो छैन । कतै त कतिपय समूह र वर्गका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । विज्ञान, स्वास्थ्य, कृषि, इन्जिनियरिङ, वन विज्ञान, कम्प्यूटर आदि सिकाउने विद्यालय र कलेजहरू पनि सञ्चालनमा छन् । तथापि तिनै विद्यालय र कलेजहरूले विद्यार्थीहरू नपाएर धमाधम बन्द हुने अवस्थामा पुगिरहेका छन् । कारण भयो के भने कसरी सिकाउने भन्ने विषयलाई ओझेलमा पारियो । त्यहाँ पनि सिद्धान्त र सुत्रहरू घोकेर परीक्षामा लेख्ने र प्रयोगात्मक कर्म नगरिकनै परीक्षामा लेखेकै भरमा प्रयोगात्मक अंक चढाउने भएपछि किन चाहियो त त्यस्तो शिक्षा ?
पाठ्यक्रमलाई सक्षमतामा आधारित भनिएको छ जसमा ज्ञान, सीप, अभिवृत्ति, मूल्य र काम गर्ने क्षमता (प्लयधभिमनभ, कपष्िि, बततष्तगमभ, खबगिभ बलम बदयष्तिथ तय धयचप (प्क्ब्ख्ब्)लाई सिक्नु पर्ने पक्षहरूको रूपमा किटान गरिएको छ । हाम्रा विद्यालयहरूमा ज्ञान दिने काम हुन्छ तर सीप, अभिवृत्ति, मूल्य र काम गर्ने क्षमताको क्षेत्रमा जबसम्म सिकाइले प्रवेश गर्दैन तबसम्म सिकाइ मात्र परीक्षाको लागि हुने गर्दछ, जीवनको लागि भने त्यस्तो शिक्षा र त्यस्तो सिकाइ हात्तीका देखाउने दाँत जस्तो मात्र हुँदोरहेछ । हामी र हाम्रा शिक्षित ग्राजुयटहरूको हबिगत त्यही छ अहिले । अहिले रिजल्ट आएपछि एसईई र एसएलसी ग्राजुयटहरूको यत्ति ग्रेड र उत्ति ग्रेड भनेर भाउ बढेको छ । त्यो ग्रेड दुई महिनामात्रै किताब नहेर्ने हो भने भुसुक्कै बिर्सिएर ननग्रेडेडमा परिणत हुन्छ । कम्तीमा त्यो सिकाइ सीप, अभिवृत्ति र मूल्य हुँदै काम गर्ने क्षमतासम्म पुगेको भए त हाम्रा शिक्षा जीवनोपयागी सीपमा परिणत हुन्थ्यो र सिकेको कुरा बिर्सिनुको सट्टा जीवन जिउने कलाको रूपमा परिणत हुन्थ्यो ।
यसरी सिकाइ कार्य सम्पन्न गर्नका लागि बेलाबेलामा गुणस्तरीय शिक्षा भएन भनेर अरुलाई धारे हात लगाउने स्थानीय पालिकाहरूले त्यो धारेहात आफैँलाई लगाएर सोच्नु पर्ने बेला भएको छ । कम्तीमा प्रयोगात्मक कार्य गरेर सिकाइलाई प्रभावकारी बनाउनका लागि विद्यालयहरूलाई प्रयोगात्मक क्रियाकलाप गर्नका लागि बजेटको जोहो गरिदिएको भए विद्यालयहरूबाट ‘बजेट छैन, त्यसैले प्रयोगात्मक काम गर्न सकेनौँ’ भन्ने कुरा सुन्न पर्दैनथ्यो होला नि । बरु आफ्नो हात माथि पारेर के गर्नु भयो हँ त्यो बजेट ? भन्दै अनुगमन पनि गर्ने अवसर मिल्थ्यो होला । अहिले त आधारभूत तहमा माथि उल्लेख गरिएझैँ पाठ्यक्रमले छुट्याएको पच्चीसदेखि पचास प्रतिशत प्रयोगात्मक कार्य त कोमामा पुगेको छ । शिक्षाको जुन पाटो चाहिने हो त्यही पाटो कोमामा पुगेपछि हाम्रो शिक्षा काम लाग्छ कसरी ? हाम्रो पाठ्यक्रममा खासै खराबी छैन । खराबी छ भने केबल त्यसको कार्यान्वयनको पक्षमा छ । अर्थात् कसरी सिकाउने भन्ने पक्षमा छ, जसलाई जति पाठ्यक्रम बदलिए पनि परिवर्तन गर्न सकिएको छैन ।
यसका लागि सर्वप्रथम त हामी सबैले पाठ्यक्रमको मर्मअनुसार तयार भएर शिक्षकहरूलाई कक्षामा जान उत्प्रेरित गर्न सक्नुपथ्र्यो त्यो गर्नै सकिएको छैन भन्दा हुन्छ । पाठ्यक्रमको मर्मअनुसार तयारी गरेर कक्षामा जाने शिक्षकहरू पनि छन् केही मात्रामा । तथापि तिनीहरूलाई पहिचान र सम्मान गर्न सकेको छैन सरकारले । शिक्षा दिवस वा अरु कुनै अवसर पारेर त्यस्तै अर्थात् पाठ्यक्रमको मर्मअनुसार तयारी गरेर कक्षाकोठामा जाने शिक्षकलाई मात्र पुरस्कार र सम्मान गर्ने वातावरणको थालनी गरौँ न त । अहिलेको अवस्थामा यो पनि सम्भव छैन । यस्तो गर्ने शिक्षक को को छन् भनेर अनुगमन गर्ने संयन्त्र नै शून्यतामा बिलाएको अवस्था छ । अर्को कुरा राजनीतिक पार्टीका पछि पछि लाग्ने शिक्षकका भातृसंगठनहरूले यसलाई प्रभावकारी हुन नदिने अवस्था छ । किनभने उनीहरू जन्मेकै राम्रा शिक्षकलाई होइन कि आफ्ना सदस्य शिक्षकहरूलाई काखी च्याप्नका लागि हो । तिनीहरू नै सरकार र सत्ताको वरिपरि घुमिरहेका हुन्छन् । अनि शिक्षामा सुशासन हुन्छ कसरी ? अनि पाठ्यक्रमको प्रभावकारी कायान्वयन गर्छ कसले ? अनि शिक्षा गतिलो र गरिखाने हुन्छ कसरी ?
जापानमा शिक्षकहरूले दिनमा विद्यालयमा नै उपस्थित भएर दिनको दश घण्टाभन्दा बढी काम गर्छन् । बिहान साढे आठ बजे उपस्थति भएर बेलुका साढे छ बजेसम्म उनीहरू विद्यालयमै हुन्छन् । सुविधा पनि अन्य कर्मचारीहरूको तुलनामा शिक्षकहरूलाई नै बढी छ । त्यहाँ समाजले पनि शिक्षकलाई समाजका असल नागरिक भनेर चिन्ने गर्दछ र सरकारले पनि शिक्षक छनोट गर्दा सबैभन्दा पहिलो कुरा उ समाजको असल नागरिक हो भन्ने यकिन भएपछि मात्र शिक्षक हुनका लागि अघि सर्ने र अघि सार्ने गरी काम हुन्छ । शिक्षाको बजेट कुल बजेटको बीस प्रतिशतभन्दा माथि छ । तथापि समस्या त्यहाँ पनि छन् । केन्द्रीकृत पाठ्यक्रम छ । अनुगमन त्यत्ति प्रभावकारी छैन जति हुनु पथ्र्यो । यत्ति सबै हुँदा हुँदै पनि त्यहाँ पेशाप्रति समर्पित शिक्षक भएकाले शिक्षा प्रणालीमा भएका सानातिना कमीकमजोरीहरू स्वभावैले न्यूनीकरण भइरहेका छन् । त्यसैले हाम्रोमा शिक्षा राम्रो नभएको राम्रो पाठ्यक्रम नभएर होइन कि पाठ्यक्रमलाई कार्यान्वयन गर्ने संयन्त्र प्रभावकारी नभएर हो । हाम्रो शिक्षा प्रणालीमा के को समस्या होइन कि कसरी को समस्या हो । बाँकी जो हजुरको मर्जी !









प्रतिक्रिया दिनुहोस्