‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु



काठमाडौँ ।

विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेल लगायतको सहभागिता थियो । विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

यस कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य रहेको छ । विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ । कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइनेछ ।

फिफा र युनेस्कोको सहकार्यमा थालिएको ‘फिफा फुटबल फर स्कुल’ परियोजनाका लागि एन्फाले फिफाबाट ५० हजा डलर पाइसकेको छ । परियोजनाअन्तर्गत नेपालभरका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गरिनेछ । परियोजना १२ देखि १६ वर्षका विद्यार्थीलक्षित हुने एन्फाले जनाएको छ ।

‘५० हजार दर्शक अट्ने रंगशाला बन्दै छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने कुरा दोहो¥याएका छन् । बिहीबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै उनले सूर्यविनायकमा रंगशाला बनाउने कुरा दोहो¥याएका हुन् । अघिल्लो महिना उनले राष्ट्रिय खेलकुद परिषदको कार्यक्रममा सूर्यविनायकमा रंगशाला बनाउने घोषणा गरेका थिए ।

उनले हालको दशरथ रंगशालाको १५ हजार दर्शक क्षमता नेपाली फुटबलप्रेमीका लागि साँघुरो बन्दै गएकोले सरकार ठूलो रंगशाला निर्माणमा जुटेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो भनाइमा खेलकुद पूर्वाधार निर्माणमा सरकारको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो (दशरथ) रङ्गशाला १५ हजार दर्शक अटाउने हो, अब यो सानो भयो । हामी छिट्टै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको रङ्गशाला बनाउँछौँ ।

कीर्तिपुरमा क्रिकेट रङ्गशाला गत वर्ष सुरु गरेका थियौँ, अहिले पूरा हुनै लागेको छ । झापा र धनुषामा पनि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउँदैछौँ । अब खेल सिक्नका लागि खेल मैदानको कमी हुनेछैन । महिला फुटबलका लागि पनि अभ्यास गर्ने ठाउँ र रङ्गशाला हामी तयार गरिरहेका छौँ ।’

उनले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको र ऐतिहासिक दशरथ रङ्गशालाको पनि थप मर्मतसम्भार गरिने जानकारी दिए । महिला फुटबलका लागि समेत पूर्वाधार तयार भइरहेको बताउँदै उनले अब खेलाडीहरूलाई अभ्यास गर्न मैदानको कमी नहुने प्रतिबद्धता जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार