जीतबहादुर शाह
ॐशान्तिको आश्रममा हरेक बिहान उपस्थित भक्तजन र शुभेच्छुकहरूको बीचमा विभिन्न विषयमा शिव बाबाको सन्देश भनेर छलफल गरिन्छ। यसलाई ॐशान्तिको आफ्नो शब्दमा मुरली वाचनको नामले चिन्ने गरिन्छ । विभिन्न दिन वाचन गरिएका यस्ता सन्देशहरू गुगल संसारमा गएर पनि पढ्न, सुन्न र हेर्न सकिन्छ । यस्ता मुरली अर्थात् शिव बाबाको महावाणीको रूपमा हरेक दिन सम्प्रेषण हुने सन्देशहरू साँच्चिकै सन्देशमूलक हुन्छन् । कतिपयले त ह्दयमा छुन्छन् र सोच्न बाध्य बनाउँछन् । कतिपयले व्यक्तिलाई परिवर्तन हुन झक्झक्याउँछन् । यस्तैमा एक बिहान दुर्गा दिदीले मुरली वाचन गर्ने क्रममा शिव बाबाको महावाणी भन्दै यो जगतका मानिसहरूले आफू स्वयम्को मूल्यांकन तीनवटा दृष्टिकोणबाट गरिरहेका हुन्छन् भनेर चर्चा गर्नुभएको थियो ।
यसले मेरो मनको शान्त तलाउलाई हल्लाएपछि यसको बारेमा मैले केही शब्दहरू खर्चँदैछु यो आलेख मार्फत । त्यसरी आफूलाई स्वमूल्यांकन गरिने तीनवटा दृष्टिकोणहरूमा पहिलो देहअभिमानी ‘म’, दोस्रो निरीहवादी ‘म’ र तेस्रो आत्मा अभिमानी ‘म’ रहेछन् । मैले बुझेको अर्को शब्दमा भन्नुपर्दा पहिलो अहम्वादी ‘म’, दोस्रो निराशावादी ‘म’ र तेस्रो मानवतावादी ‘म’ । यो जगतका मानिसहरू यिनै तीनवटा दृष्टिकोणमध्ये कुनै एउटा दृष्टिकोणका आधारमा जिन्दगी चलाउँदा रहेछन्, जिन्दगी बाँच्दो रहेछन् र यो विश्व व्रम्हाण्डलाई पनि त्यही दृष्टिकोणको आधारमा नियाल्दा रहेछन् । कतिपय अवस्थामा एउटै व्यक्तिमा पनि परिवेश अनुसार फरक फरक दृष्टिकोणहरू पनि देखिँदा रहेछन् ।
एउटै व्यक्तिमा पनि कहिले निराशावादी दृष्टिकोण, कहिले अहम्वादी दृष्टिकोण त कहिले आशावादी अर्थात् मानवतावादी दृष्टिकोण देखा पर्ने गर्दछन् । यसरी फेरिरहने चञ्चले अवस्था प्रायःगरी कलिलो उमेरमा देखापर्ने गर्दछ जतिबेला उसको मन कोमल हुन्छ र जतिबेला उसले दुनियाँका धेरै कुरा सिक्न बाँकी हुन्छ । मानिस परिपक्व भइसकेपछि भने उभित्र कथम्कदाचित विभिन्न दृष्टिकोण देखा परेपनि कुनै एउटा दृष्टिकोणले भने अधिपत्य जमाएर बस्ने गर्दछ । एउटाले अधिपत्य जमाएपछि अरु दुई दृष्टिकोणहरू यदाकदा पाहुना जस्ता भएर आउँदा रहेछन् र छोटो समयको बसाइँपछि ती दृष्टिकोणहरू बिदा भएर गइहाल्दा रहेछन् ।
देहअभिमानी अर्थात् अहमवादी मान्छेहरूले आफूलाई अरुको तुलनामा वरिष्ठ नै सम्झिन्छन् । यस्ता मान्छेलाई बारबार अरुले आदेश दिएको मन पर्दैन । समूहमा काम गर्दा वा समूह निर्माण गर्दा समूहका सदस्यहरू आफूभन्दा सिनियर छन् भने त्यस्तो समूहमा उसलाई काम गर्न मन पर्दैन । ढिलोचाँडो त्यस्ता समूहबाट भाग्छ र उ त्यतातिर लाग्छ, जता उसले अरुलाई आदेश दिएर कामकाज गर्ने वातावरणको सिर्जना हुन्छ । यस्ता मानिसहरू आफूलाई भन्दा आफूले पाएको पद र प्रतिष्ठाको आडमा अरुमाथि रजाइँ गरेर बाँच्न चाहन्छन् । क्रमशः उनीहरूभित्र लेखनाथ पौडेलले तरुणतपसीमा भनेजस्तै ‘मै खाउँ, मंै लाउँ, सुखसयल वा मोज म गरूँ, मै बाँचु, मै नाँच, अरु सब मरुन् दुर्बलहरू’ भन्ने मानसिकताले राज गर्न थाल्छ । अन्ततः उसको दृष्टिकोण नै आफूमात्र ठिक र अरु सब बेठिक भन्ने हुन्छ । उसले अरुप्रति गरिने व्यवहार पनि त्यही सोच र दृष्टिकोणबाट निर्देशित हुने गर्दछन् ।
अहमवादी व्यक्तिको अहमवादी व्यवहारकै कारणले उ टिममा मिलेर काम गर्न सक्दैन । मानिसहरूले उसलाई उ सत्ता र शक्तिमा रहँदासम्म मन पराउँछन् । भित्रभित्र उसलाई चाकरी गर्नेहरू पनि उ सत्ता र शक्तिबाट बाहिरियो भने फर्केर पनि हेर्दैनन् । कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो भनेर हाइसञ्चो मान्छन् । अहम्वादी मान्छेलाई भने आफू सत्ता र शक्तिमा रहने बेला उसलाई लाग्छ कि म सधैँ यसरी नै सत्ता र शक्तिमा रहिरहनेछु र मानिसहरूले यसरी नै मलाई जिहजुरी र चाकरी गरिरहनेछन् । त्यो उसको भ्रममात्रै हुन्छ । अन्ततः उसलाई वास्तविकताको बोध हुनेछ, सत्ता र शक्तिबाट बाहिरिएपछि । उसलाई सह्दय मन पराउनेहरू औँलामा गन्न सकिनेजति पनि बाँकी रहँदैनन् । सरकारी सेवामा रहेर फुर्तीफार्ती गरेका कतिपय उच्चपदस्थ कर्मचारीहरूको हालत देख्दा त्यस्तो आभास मिल्ने गर्दछ ।
कुलिङ अफ पिरियड त्यस्तै सोचका कर्मचारीहरूका निम्ति अहिले घाँडो भएर देखा परेको छ । मसानघाटतिरको साइत गर्ने अवस्थामा पनि सत्ता छोड्न नचाहने हाम्रा नेताहरूलाई छोटै समय भएपनि बेलाबेलामा सत्ताबाहिर रहँदाको अवस्था कस्तो कहालीलाग्दो हुन्छ भन्ने बुझिसकेका हुन्छन् । त्यसैले सास रहँदासम्म सत्तामै बस्न चाहन्छन् । अब कुरा गरौँ निरीह व्यक्तिहरूको । यिनीहरूलाई निराशावादी भनेर पनि चिन्न सकिन्छ । यस्ता मानिसहरूलाई आफ्नो क्षमता र सम्भावनाको बारेमा बोध पनि हुँदैन, विश्वास पनि हुँदैन र कसैले आफ्नो क्षमताको बारेमा सकारात्मक किसिमबाट बखान गरिदियो भनेपनि उनीहरूलाई त्यसको पनि भरोसा हुँदैन । नर्मन काउजिनले भनेका छन्– ‘मानिसका लागि मृत्युभन्दा दुःखदायी त्यत्तिबेला हुन्छ, जतिबेला उ बाँचिरहँदा पनि उसका क्षमता, प्रतिभा र सम्भावनाहरू मरिरहेका हुन्छन् ।’
यस्तो दुःखदायी अवस्थाको भोगाइ यस वर्गका निराशावादी मानिसहरूले गरिरहेका हुन्छन् । किनभने उसले गर्न सक्ने थुप्रै कामहरूका लागि उसँग क्षमता भएरपनि आफ्नै क्षमतामा उसलाई विश्वास नभएको कारण त्यो उसले त्यो काम गर्दैन । मान्छे जिउँदै भएपनि उचित अवसरमा क्षमताको प्रयोग नगरेपछि त्यो क्षमता मरेतुल्य नै हुन्छ । हनुमानसँग उड्ने क्षमता भएरपनि उनलाई आफ्नो क्षमता थाहा नभएजस्तै हालतमा हुन्छन् यस्ता मानिसहरू । हनुमानलाई त उनका गुरुले भनेपछि थाहा भयो र उनले आफ्नो क्षमताको उपयोग गरे । हाम्रो समाजमा कतिपय मानिसहरू यस्ता पनि छन् जसलाई आफ्ना शुभेच्छुकहरूले यो काम गर्न सक्छस् भनेपनि उनीहरू त्यो काम गर्न अघि सर्दैनन् ।
यस्ता व्यक्तिहरू हदैसम्म निराशावादी त हुन्छन् नै नकारात्मक पनि त्यत्तिकै हुन्छन् । उनीहरूको जीवन हरेक दिन ‘हुँदैन, सकिँदैन, ठिक छैन, बरबाद भयो, खतम भयो’ आदि आदि भाषिक अभिव्यक्तिहरूबाट सुरु हुन्छ र त्यसरी नै अन्त पनि । यिनीहरू आफू पनि काम गर्न सक्दैनन् र अरुलाई पनि सफलताका लागि शुभकामना, सहयोग र साथ दिन पनि सक्दैनन् । यस्ता मानिसहरूले जतिबेला पनि आलोचना, अनावश्यक गनगन् र अन्ततः डिप्रेसनको शिकार हुँदै सिध्याउँछन् आफ्नो जीवन । कसैले यो काम तिमी गर्न सक्छौ भनेर त्यस्ता मानिसहरूलाई दिएको हौसला पनि निमेषभरमै बिलाउँछ । बरु उसमा उसकाजस्तै निराशा र नकारात्मक कुरा ग¥यो भने कान थापेर सुन्ने बानीको विकास भइसकेको हुन्छ ।
तेस्रोथरी मानिस भनेको मानवतावादी मान्छे हो । यो वर्गको मानिसले मानवतालाई उच्च प्राथमिकतामा राख्छ । आफू पनि हाँस्छ र अरुलाई पनि हाँसेको देख्न चाहन्छ । समूहमा काम गर्न मन पराउछ । पद र प्रतिष्ठाभन्दा पनि जिम्मेवारी र कर्तव्यलाई प्रमुख ठान्दछ । यस्ता व्यक्तिहरूको आत्मा पवित्र हुन्छ र त्यसैले पनि यस्ता मानिसलाई आत्माअभिमानी भनिएको हो । यस्ता व्यक्तिहरू दया, माया, करुणा, सहयोग, सहानुभूति, समानुभूति, हार्दिकता, अहिंसा, परोपकार, मित्रता, सद्भाव जस्ता संवेदनाहरूले भरिएका हुन्छन् । यिनीहरूले स्वउन्नति पनि गर्छन् र सेवा पनि गर्छन् । यस्ता व्यक्तिहरू आशावादी हुन्छन् । अरुका निम्ति रोलमोडल भएर बाँच्ने गर्दछन् । यिनीहरूको व्यवहार शिष्ट हुन्छ र सबैका निम्ति अनुकरणीय र विशिष्ट भएर बाँच्ने गर्दछन् ।
तानातानको तनावमुक्त जीवनबाट पनि टाढा हुन्छन् यस्ता मानिसहरू । परोपकार पुण्यायको जीन्दगी बाँच्नुमा गर्व गर्छन । यस्तै व्यक्ति र व्यक्तित्वहरू आफ्नै कामका कारणले अन्ततः यो धर्तीमा सबैले पूज्ने गरी देवत्वको रूपमा परिणत हुने गर्दछन् । मानिसहरू सबै तेस्रोथरी अर्थात् मानवतावादी ‘म’ किन हुन सक्दैनन् त ? किन देहवादी हुन्छन् ? किन निरीहवादी हुन्छन् ? यस सम्बन्धमा वैज्ञानिकहरूको तर्क रहेको छ कि मानिसहरूमा पनि अरु प्राणीमा हुने जिन कोडहरू हुन्छन् । योगी विकासानन्दको प्रवचनका आधारमा भन्नुपर्दा मानिस र चिम्पान्जीमा हुने उन्नान्सय प्रतिशत जिनहरू एकअर्कासँग मिल्दाजुल्दा हुन्छन् । मानिस र कुकुरका चौरासी प्रतिशत जिनेटिक कोडहरू मिल्दाजुल्दा छन् ।
त्यसैगरी बाघसँग पञ्चानब्बे प्रतिशत जेनेटिक कोडहरू मानिससँग मिल्दाजुल्दा छन् । यत्ति हो अरु प्राणीमा भविष्यसम्म सोचेर बुद्धि विवेकको काम गर्ने हाम्रोजस्तो अघिल्लो भागको मष्तिष्क (नियोकर्टेक्स) उनीहरूसँग छैन ।
त्यसैले कतिपय प्राणीहरू भिन्न स्वभावका छन्– जस्तो गङ्गटो र माकुराको बच्चाहरूले आमालाई खाएर हुर्किन्छन् । सलह किराले सम्भोगपछि पोथी सलहले भाले सलहको टाउको काटेर मारिदिन्छ । कतिपय जातको सर्पको आमाले आफ्नो बच्चा आफैँले खाइदिन्छ । त्यही भएरै अण्डाबाट निस्कनेबित्तिकै सर्पका बच्चाहरू भाग्ने गर्दछन् । बाघ र बिरोलोका भालेले पनि आफ्ना बच्चालाई भेटाए भने खाइदिन्छन् । यस्ता प्राणीका जिनहरू मानिसमा पनि रहेका छन् । अन्य प्राणी र जनावरका जस्ता जिनहरू मानिसमा पनि हुने भएकाले कहिलेकाहीँ मानिसले पनि यस्ता स्वभाव र क्रियाकलापहरू देखाउने काम गर्दछन् । जब मानिस अलिकता मानवतासँग सम्बन्धित स्वभावहरू– दया, माया, करुणा, सहयोग, सहानुभूति, हार्दिकताजस्ता स्वभावबाट झरेर रिस र क्रोध गर्न थाल्छ र त्यो रिस र क्रोध जनावरको जस्तै गरी बढ्न थाल्छ । अनि मानिसले पनि प्रेमीको हत्या गर्न थाल्छ, सलहले जस्तै । मानिसले आफ्नै सन्तानहरूको हत्या गर्न थाल्छ, सर्प र बाघले जस्तै ।
मानिसले पनि आफ्ना बाबाआमाको हत्या गर्न सक्छ, गङ्गटो र माकुराले जस्तै । यस्ता घटनाहरू सुन्दा अनौठो लाग्छ तर भइरहेका छन् । जतिबेला हामीले हाम्रो होस गुमाएर पागलजस्तै हुन्छौँ त्यत्तिबेला मानिस मानवता विरुद्धका स्वभावहरूको दास बन्छौँ । अनि देखापर्छन् यस्ता पशुवत क्रियाकलापहरू । अनि मानिस मानिसजस्तो नलागेर पशुजस्तो लाग्छ । किनभने पशुमा हुने जेनेटिक कोडहरू मानिसहरूसँग पनि छन् । अब कसरी हुने त मानिस मात्र मानिसजस्तो ? अब कसरी बचाउने त आफूलाई पशुवत व्यवहारबाट ? यसको एउटै उपाय हो, बुद्धि र विवेकको अधिकतम प्रयोग गर्ने । अरुमा नभएको र हामीसँग मात्र भएको नियोकर्टेन्सको अत्यधिक उपयोग गर्ने ।
कुनै पनि काममा हात हाल्नुअघि त्यो कामको बारेमा सोचविचार र चिन्तन गर्ने । पशु र अन्य प्राणीसँग नभएको र मानिससँग मात्र भएको हाँस्ने र मुस्कुराउने स्वभावलाई आफूभित्र निरन्तररूपमा प्रयोग गर्ने र प्रयोग गरिरहने । यसरी मानिस मुस्कुराउन थालेपछि रिसाउने बानी कम हुन्छ । रिसाउने बानी घटाउने र मुस्कुराउने बानी बढाउनका लागि आफूभित्र सकारात्मक चिन्तनको विकास गर्ने । रछ्यानमा फालेको टपरी पनि काम लाग्छ भनेझैँ यो धर्तीमा भएका हरेक चिजमा केही न केही काम लाग्ने चिज हुन्छ भनेर उभित्र भएका राम्रा र काम लाग्ने कुराहरूको खोजी गर्ने । यत्ति गर्न सके रिसाउने बानी घट्न थाल्छ । रिसाउने र आवेगमा आउने बानी घटेपछि हामी अन्य पशुजस्तो हुने बानी पनि घट्दै जान्छ । क्रमशः हामी एकदिन यस्तो पनि हुन्छौँ कि अन्य कसैले हामीलाई तपाईँ कुन खाले ‘म’ भनेर साोध्यो भने त्यत्तिबेलासम्म हामी नजानिदो तरिकाले हामी मानवतावादी ‘म’ भइसकेका हुनेछौँ । हामी आत्माअभिमानी ‘म’ मा परिणत भइसकेका हुनेछौँ । बाँकी जो हजुरको मर्जी ।









प्रतिक्रिया दिनुहोस्