संघीय सरकारले भेरी अस्पताललाई बेवास्ता ग¥योः सांसद् राठौर



नेपालगन्ज (बाँके) ।

पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा छुट्टै पहिचान बनाएको नेपालगन्जस्थित भेरी अस्पतालले सोमबार आफ्नो १३५औँ वार्षिकोत्सव मनाएको छ । साप्ताहिक रूपमा विभिन्न खेलकुद लगायतका अतिरिक्ति क्रियाकलापका कार्यक्रम गरेर सोमबार एक विशेष कार्यक्रमबीच अस्पतालले १३५औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले लामो इतिहास बोकेको भेरी अस्पताल जुन ढङ्गबाट अगाडि बढ्नुपर्ने हो त्यसअनुरुप अगाडि बढ्न नसकेको बताए । उनले वीर अस्पतालसँगै सेवा सुरुवात गरेपनि भेरी भने सोचेअनुसार अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले संघीय अस्पतालका रूपमा भेरी रहेपनि संघीय सरकारको अगाडि भेरी अस्पताल प्राथमिकतामा पर्न नसकेको र संघीय सरकारले भेरीलाई वास्ता नगरेको बताए । ‘देशका अर्थमन्त्रीले आफ्नो जिल्लामा ८ अर्बको बजेट छुट्याउँदा भेरी अस्पताल आँखामा पर्दैन, मैले बजेट बनाउने क्रममा अर्थमन्त्रीलाई भेटेर भेरी अस्पतालका लागि बजेट हालिदिनुप¥यो भनेँ, उहाँले बजेट हाल्न नसकिएपनि अस्पतलामा आवश्यक सिटी स्क्यान मेसिन खरिद गरेर पठाउँछौँ भन्नुभयो ।

सांसद् राठौरले भने, ‘अहिलेसम्म भेरीमा सिटी स्क्यान मेसिन आएको छैन, उहाँले काम गर्नुभएन, केन्द्र सरकारले भेरीलाई हेर्ने नजर नै फरक छ, सरकारले यो अस्पताललाई बेवास्ता गरेको छ, अनि कहाँबाट सोचेअनुसार यस अस्पतालको विकास हुन्छ ?’ ‘भेरी अस्पताल यस जिल्ला मात्र नभएर लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश मात्र नभएर भारतका समेत नागरिक यहाँ उपचार गराउन आउँछन्, यो यस क्षेत्रकै नमुना अस्पताल हो, यसको समग्र विकासका लागि केन्द्र सरकारबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न जरुरी छ ।’

सांसद राठौरले भने, ‘नेपालगन्जलाई स्वास्थ्य हब बनाउनका लागि आवश्यक पहल गर्नेछु, १३५ वर्षसम्म हुन नसकेको विकास अबको १०–१५ वर्षभित्रमा गर्नका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक पहल गरेर अगाडि बढ्नेछु ।’ उनले एक अर्को प्रसंगमा भने, ‘हामी व्यवस्थापकीय हिसाबमा कमजोर छौँ, सांसद्, मन्त्री, नेता, डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी, सिडिओ कार्यालय, सरकारी कार्यालय लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने सबै हामी जनताका काम गर्दैनौँ, जिम्मेवारी पूरा गर्दैनौँ, अनि कसरी जनसेवा गर्छौँ ? हामी सबै आआफ्नो ठाउँबाट जवाफदेही र जिम्मेवारी बन्न जरुरी छ ।’

उनले नेपाल संसारमै काम नगरेर गफ गरेर खानेमध्येको देश भएको बताए । पत्रकारहरूलाई लक्षित गर्दै उनले भने, ‘पछिल्लो समयमा समाज अराजक बन्दै गएको छ, समाजलाई अराजकतातर्फ धकेल्न पत्रकारको समेत हात छ, तपाईँ पत्रकारहरूले अराजक समाचार सम्प्रेषण गरेर समाज बिथोल्ने काम गर्नुभएन, जातीय, धार्मिक, साम्प्रदायिक दंगा भयो भने देश सिरिया, लेबनन बन्छ, तसर्थः हामी सबै यसप्रति गम्भीर भएर समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन जरुरी छ ।’

उनले आम सर्वसाधारण नागरिकलाई आफूले नेता छान्दा राम्रो नेतालाई भोट दिएर छान्न पनि आग्रह गरे । ‘नेतालाई जिम्मेवार बनाउने जनताले हो, चुनावका बेलामा तपाईँहरूले जाँड, रक्सी, मासु खाएर, पैसा लिएर जस्ता पायो त्यस्ता नेतालाई भोट दिएर जिताएर पठाउँदा देशको यो अवस्था आयो ।’ उनले भने, ‘देशको व्यवस्था ठिक छ, देश चलाउने नेता र उनीहरूको चरित्र खराब हो, अब समयमै सबैले आफ्नो चरित्र सुधार्न जरुरी छ ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालले एक वर्षभित्र गरेका कार्यहरूको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

उनले पछिल्ला वर्षमा भेरीले सीमित जनशक्ति तथा सीमित स्रोतसाधनका बाबजुद उल्लेखनीय सेवा प्रदान गर्दै आएको बताए । उनले वीर अस्पतालको अनुभव लिएर प्रतिष्ठानसँग एमओयु गराइएको, ५४ प्राज्ञिक पदहरू स्थापना गरिएको । अहिले मेडिसिन, सर्जरी, गाइने, अर्थोपेडिक्सबाट एमडीस्तरमा शिक्षण सुरुआत गराइएको र ११ जना डाक्टर प्राज्ञिक पदमा नियुक्त भएको तथा उनीहरूले अहिले एमडी÷एमएसको कलास सुरु भएर यहाँ रेसिडेन्सी गर्दैगरेको बताए ।

मेसु सुवेदीले १० शय्याको जेरियाट्रिक वार्ड र ६ शय्याको बर्न वार्ड सञ्चालनमा ल्याएर अहिले दुवै ‘प्याक’ अवस्थामा सञ्चालन भइरहेको र बिरामीको चाप पूरा गरिरहेको बताउँदै जलनका बिरामीहरूले निःशुल्क उपचार प्राप्त गरिरहेका जानकारी दिए । ‘पुरानो भवनमा १० शय्याको आइसियु रहेकोमा नयाँ भवनमा मेडिकल र सर्जिकल आयसियु छुट्टाछुटै सञ्चालन हुँदै १२ शय्यामा विस्तार गरायौँ । पोष्ट‑अप बेड विस्तार, ओटी विस्तार भयो ।’ उनले भने, ‘लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालले मृगौलाको प्रत्यारोपण सम्पन्न ग¥यो । निःशुल्क प्रत्यारोपणको लागि स्वास्थ्य विभागसँग सूचीकरण प्रक्रियामा छौँ, अबको केही समयमै नियमित सेवा सुरु गर्ने लक्ष्य राखिएको छ ।’

उनले प्रसूति शल्यक्रिया कक्ष, पोष्ट अप्रेटिभ वार्डको क्षमता दुई गुणाले बढाइएको साथै थप १२ शय्याको गाइने वार्ड सञ्चालनमा ल्याइएको र ६ शय्याको डे केयर वार्ड, १० शय्याको हेमाग्लोबिनप्याथी वार्ड सञ्चालन गरिएको बताए । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पतालका लागि आवश्यक थप भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा उपकरणका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले उपलब्ध न्यून जनशक्ति, स्रोत तथा साधनबाट पनि अस्पताले उच्चस्तरको सेवा प्रदान गरिरहेको बताए ।

कार्यक्रममा अस्पतालले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रकाशन गर्दै आइरहेको ‘अक्सिजन’ नामक स्मारिकाको विमोचनसमेत गरिएको थियो भने विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिनुका साथै अस्पतालका पूर्वमेसु तथा अस्पतालमा २५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।

विसं १९४७ साल साउन १२ मा ‘पृथ्वी–वीर डिस्पेन्सरी’का नाममा ७ वटा शय्याबाट अस्पतालले स्वास्थ्य सेवा सुरु गरेको हो । विसं २०१६ सालदेखि २०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृहका रूपमा नामाकरण गरियो । विसं २०२२ सालमा ‘भेरी अञ्चल अस्पताल’ नामाकरण गरी ५० शय्यामा पु¥याइयो । विसं २०४३ सालमा स्तरोन्नति गरेर एक सय शय्यामा पु¥याइयो । अस्पताल विकास समितिको तर्फबाट थप ५० शय्या गरी कुल एक सय ५० शय्या कायम गरियो । विसं २०६१ भदौ २९ मा सरकारले उक्त अस्पताललाई २ सय शय्याको अनुमति दिएपनि त्यो कार्यान्वयनमा भने आउन सकेन ।

सरकारले विसं २०७५ पुसमा ‘भेरी प्रादेशिक अस्पताल’ घोषणा ग¥यो । तर, त्यो घोषणा दुई महिना पनि टिक्न सकेन । सरकारले भेरीलाई २०७५ साल फागुनमा पुनः संघीय अस्पतालका रूपमा घोषणा ग¥यो । २०७५ सालदेखि उक्त अस्पताल संघीय सरकारको मातहतमा रहेको छ । विसं २०८० सालमा अस्पतालको शय्या २ सय ७० पु¥याइएकोमा त्यसलाई निरन्तरता दिँदै २०८१ को अन्तिमतिर संघीय सरकारको स्वीकृत र अस्पताल विकास समितिको समेत गरेर अहिले ३ सय शय्यामा पु¥याइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार