बाँके ।
नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका–७ नन्कौपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.१ बाँकेको आयोजना र नेपालगन्जस्थित एचसीआरसी अस्पतालको प्राविधिक सहयोगमा राप्ती सोनारी नन्कौपुरमा महिलाहरुका लागि निःशुल्क एकदिने शिविर सम्पन्न भएको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख अतिथ्यतामा शिविर सञ्चालन भएको थियो । स्वास्थ्य सेवामा सक्रिय रहँदै आएकी पाण्डेले वीपीको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित शिविरलाई महिलाको स्वास्थ्य सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा रहेको बताइन् । ‘अझै पनि हाम्रो समाजमा महिलाहरूको स्वास्थ्य समस्या लुकाउने र दबाउने गरिन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा महिलामैत्री स्वास्थ्य शिविरले उनीहरूलाई सहज रूपमा समस्या खुलाउने, जाँच गराउने र समाधानतर्फ अघि बढाउने अवसर दिन्छ । विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित यस्ता कार्यक्रमले सामाजिक परिवर्तनमा योगदान दिने विश्वास छ ।’
राप्ती सोनारी गाउँपालिका–७ को विकट बस्ती नन्कौपुर क्षेत्रमा मधेशी र थारु समुदायको उल्लेखनीय बसोबास रहेको उनले बताइन् । सामाजिक संरचनाका कारण महिलाहरूको प्रजनन स्वास्थ्यप्रति पहुँच र चेतना कमी लगायतका समस्या देखिएकाले शिविर महिला लक्षित रूपमा सञ्चालन गरिएको उनको भनाइ थियो । शिविरमा एक सय जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणमा बाँझोपन, पाठेघरको समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको चिकित्सक डा.मञ्जु विसीले जानकारी दिइन् ।
उनले २५ जना महिलामा गम्भीर प्रकृतिका समस्या देखिएको र अन्य २ जना महिलामा भने पाठेघरको मुखको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएको बताइन् । गम्भीर समस्या देखिएकाहरूलाई नेपालगन्जको एचसीआरसी अस्पतालमा थप परीक्षण र उपचारका लागि ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराइने उनको भनाइ छ ।
नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले वीपी कोइरालाको बिचार र आदर्शलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमको महत्व रहेको बताए । वीपी कोइरालाले महिलाको सामाजिक, राजनीतिक र स्वास्थ्य सशक्तीकरणमा सधैँ जोड दिएको उनको भनाइ थियो । स्मृतिमा आयोजित शिविरले वीपीको बिचारलाई यथार्थमा रूपान्तरण गर्ने प्रयास रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्