ताक्लाकोट जान १० हजार बढीले लिए सीमापास



हुम्ला ।

कामका लागि चीनको ताक्लाकोट जान १० हजार बढीले सीमापास लिएका छन् । छिमेकी देश चीनको ताक्लाकोट जानका लागि १० हजार बढी हुम्लावासीले सीमापास लिएका हुन् । वर्षेनि उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलो मिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । वर्षेनि हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सीमापास लिने हुम्लावासीको संख्या हालसम्म १० हजार ९५५ जना पुगेको हो । जसमा नयाँ सीमापास लिने संख्या ८ हजार २३७ जना रहेको छ भने पास नवीकरण गर्नेको संख्या २ हजार ७१८ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार यो पास भने बर्षेनि साउनपछि नवीकरण गर्नुपर्ने हुन्छ । ‘केही व्यापारी ताक्लाकोटबाट व्यापारी प्रयोजनका सामान खरिद गरेर ढुवानी गर्न र केही निर्माण सामाग्री खरिद गर्नका लागि ताक्लाकोट जाने गर्नुहुन्छ,’ उनले भने, ‘अधिकांश हुम्लावासी यसरी ताक्लाकोटमा काम गर्न ६ महिनाका लागि जाने गर्दछन् ।’

ताक्लाकोटमा काम गरेको ६ महिनाको अवधिमा प्रतिव्यक्तिले ४ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको स्थानीय धन्जित भण्डारीले बताए । हाल उनी ताक्लाकोटमा काम गरिरहेका छन् । २०८२ सालको वैशाख महिनायता मात्रै ३ हजार ९०६ जनाले सीमापास लिएका हुन् । यसमा २ हजार ६५७ वटा नयाँ र १ हजार ७४१ वटा नवीकरणका सीमापासहरू रहेका छन् ।

यसरी सीमापास लिने कार्य १२ महिना खुला रहने भएपनि मङ्सिर महिनासम्म मात्रै लिने गर्दछन् । मंसिरपछि केही महिना नारालेकको हिउँले आउजाउ बन्द हुने गरेको छ । कोरोना माहामारीपछि २०८१ साल वैशाख १८ गतेबाट चीनले हुम्ला नाका सञ्चालनमा ल्याएको हो । कोरोनाको समय पनि ४७ जना हुम्लावासीले ताक्लाकोटमा गएर काम गरेका थिए । चीनले हिल्सा नाका बन्द गर्दा उनीहरु त्यतै काम तथा तथा व्यापार व्यवसाय गर्दै आएको थिए ।

यति धेरै हुम्लावासी चीनको पुराङ काउन्टीको ताक्लाकोट गएर काम तथा व्यापार व्यवसाय गर्ने चलन हरेक वर्ष बढ्दै गएको छ । ताक्लाकोटमा गएर अधिकांशले विभिन्न विकास निर्माणका काम गर्दै आएका छन् भने ३१२ जनाले व्यापार व्यवसाय गर्ने र होटेल तथा रेस्टुरेन्टमा काम गर्ने भन्दै सीमा पास लिएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार