राजेशलाई चित्र बनाउन, पेन्टिङ गर्न अहिले नेपालगन्ज मात्रै नभएर बाहिरबाट समेत बोलावट हुने गरेको छ । गत वर्ष उनले एक वर्ष धनगढीमा बसेर धनगढी रंग्याए । अहिले कोहलपुर नगर विकास समितिमार्फत न्यूरोडमा रहेको भ्यू टावरमा विभिन्न विभूति, नेपालको नक्सा, राष्ट्रिय झण्डा, चराहरु, कोहलपुर चिनाउने सांस्कृतिक तथा सामुदायिक चित्रहरु बनाइरहेका छन् ।
गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।
एउटा चित्रको मूल्य कति हो ? कसैले चित्रकारलाई सोध्यो भने उनको उत्तर हुन्छ ‘चित्रको पनि मूल्य हुन्छ र ?’ चित्रको मूल्य नहुने भए किन बिक्थे मोनालिसाका चित्रहरु करोडौँ मूल्यमा । किन बोल्थे भित्ताका निर्जिव बस्तु । भित्ताका पनि कान हुन्छन् ? होइन, भित्ताको तस्बिर पनि बोल्छ । तर कसरी ? त्यसै भनिएको होइन नी, हजार शब्दभन्दा शक्तिशाली हुन्छ, एउटा तस्बिर । तस्बिर खिच्छ, फोटोग्राफरले । चित्र बनाउन चित्रकारले । त्यही चित्रकारको अदभूत कलाको परिणाम हो, मोनालिसाको चित्र । जसलाई संसारकै एकमात्र सजिव चित्रको रुपमा व्याख्या गरिन्छ ।
यो रहस्यमयी चित्र बनाएका हुन् लियोनार्दो दा भिन्चीले । भिन्ची एक विश्वविख्यात चित्रकार थिए । ५ सय वर्ष पुरानो उनको कलाकृतिको आजपर्यन्त पनि उत्तिकै विख्यात छ । जुन चित्र बनाउन भिन्चीले १४ वर्ष लगाएका थिए । १८औँ शताब्दीमा बनाइएको मोनालिसाको चित्र हेरेर मान्छेले आत्महत्या नै गरेका छन् भन्दा पत्यार नलाग्न सक्छ ? तर यो कटु सत्य हो । सन् १८५२ जुन २३ मा लुक मासफेरो नाम गरेको फ्रेन्च युवा कलाकारले पेरिसस्थित एक होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरे । कारण थियो, मोनालिसाको रहस्यमयी मुस्कान । त्यसबाट उनी पागल बनेका थिए ।
मोनालिसाको सुन्दरतामा फसेका ती युवाले एक सुसाइड नोट पनि छाडेका थिए । जसमा लेखिएको थियो– ‘मोनालिसालाई अब धेरै समय पर्खन सक्दिनँ ।’ यो सबै चित्रको सौन्दर्य हो, चित्रको शक्ति हो । त्यसै भनिएको होइन, एउटा मान्छेको रुचि अर्को मान्छे हो । अर्थात् एउटा चित्रको रुचि अर्को चित्र हो । यस्तै रुचि÷इच्छाले चित्रकलामा डो¥याएको थियो नेपालगन्ज उपमहानगरपालिका–१ का राजेश परियारलाई । उनी साविकको पाताभार गाविस–३ बर्दियामा जन्मिएका थिए । उनको सानैदेखि चित्रकलामा रुचि थियो । जिन्दगीका पाँच दशक पार गरिसकेका राजेश अहिले पनि चित्रकलामै व्यस्त छन् । उनको प्रमुख जीविकोपार्जनको माध्यम यही चित्रकला हो । चित्रकला उनको लागि अर्को जीवन हो, जीवन नै चित्रकला हो ।

कुनै समय पेन्टर राजेश परियारका लागि नेपालगन्जमा काम गर्न भ्याइनभ्याइ थियो । दिनरात लगाएर वाल पेन्टिङ, साइनबोर्ड लेखाइ लगायतका पेन्टिङसम्बन्धी काम उनको पसलमा ओइरिने गर्दथ्यो । नेपालगन्जको धम्बोझी चोकमा रहेको उनको ‘राजेश आर्ट’ २०४७ देखि २०५० सम्म नाम चलेको आर्ट पसलमध्येमा पर्दथ्यो । ५० वर्षीय राजेश भन्छन्, ‘गाउँकै स्कुलमा ८ कक्षासम्म पढेँ, कक्षा ८ पास भइसकेपछि धनगढी पुगेँ, त्यहाँ दाजुले जागिर गर्नुहुन्थ्यो, मेरो आर्टिस्ट बन्ने सानैदेखिको इच्छा थियो, स्कुल पढ्दाताका नै मैले धेरै चित्र बनाउँथे, धनगढी पुगेपछि आफ्नो इच्छाअनुसार आर्टिस्टको काम सिक्न सुरु गरेँ ।’
अहिले उनी कोहलपुरमा छन् । कोहलपुरका श्यामश्वेत भित्ता रंग्याइरहेका छन्, राजेशले । राजेश आफूले सानैदेखि पढाइभन्दा पनि इच्छालाई रोजेको बताउँछन् । ‘पढाइतिर भन्दा पनि त्यतिखेर मलाई आफ्नो इच्छाअनुसारको काम सिक्न र गर्न मन लाग्यो । एक वर्ष धनगढी काम सिकेपछि भारतको अलिगढ पुगेँ, त्यहाँ दुई वर्षजति ठुला ठुला आर्टिस्टहरुसँग काम हेर्ने र सिक्ने गरेँ, २०४६ सालमा घर फर्केँ ।’ राजेश भन्छन् ।
उनी जतिबेला नेपालगन्ज आए, त्यतिबेला खुबै चलेको थियो ‘प्रकाश आर्ट’ । जहाँ उनले एक वर्ष काम गरे । त्यतिबेला आर्टका पसलहरु खुबै चलेका थिए । विसं २०४७ सालमा आफैँले ‘राजेश आर्ट’ सुरु गरे । जुन राजेशको इच्छाकै परिणाम थियो ।
जतिबेला उनले आर्ट खोले, त्यतिबेला उनले काम सिकिसकेका थिए । ‘प्रशस्तै काम आउँथ्यो, त्यतिबेला नेपालगन्जमा ७–८ वटा आर्टसम्बन्धी पसल थिए होलान ।’ उनले विगत सम्झिँदै भने । २०५० सालसम्म काम राम्रै चलेको उनको व्यवसाय, त्यसपछि भने ओरालो लाग्यो । राम्रो कमाई हुन छोडेपछि राजेशले पसलसमेत छाडे । भएको पसलसमेत छोडेपछि उनी रोजगारीको खोजीमा कतार पुगे । राजेश भन्छन्, ‘दुई वर्ष त्यहाँ काम गरेर नेपाल फर्केँ, यहाँ आएर पुनः पेन्टिङ पेसामा फर्किन मन लागेन, कहिले होटल खोलेँ, कहिले के गरेँ यस्तैमा ७–८ वर्ष बिताएँ, घरखर्च चलाउन मुश्किल परेपछि फेरि जोर्डन पुगेँ, त्यहाँ एक वर्षमात्र काम गरेँ, भनेजस्तो नभएपछि २०६४ मा फेरि नेपाल फर्केँ ।’

नेपाल फर्केर उनी २–४ वर्ष बिनाकाम बस्नुपरेको बताउँछन् । ‘मेरो जीवनमा धेरै उतारचढाव आयो, म स्थिर हुन सकिनँ, एक वर्षपछि फेरि रोजगारीका लागि साउदी पुगेँ, त्यहाँ पनि भनेको जस्तो भएन र देश फर्केँ, यहाँ आएर केही वर्ष सिमेन्ट उद्योगको मुनिम भएर काम गरेँ, तबसम्म नेपालमा आर्टिस्ट र पेन्टिङसम्बन्धी नयाँ प्रविधि भित्रिसकेको थियो, पुराना आर्ट पसलहरु बन्द भइसकेका थिए,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । उनी आफूसँगै भएको सीपलाई सही सदुपयोग गर्न नसकेर धेरै वर्ष भौँतारिएको बताउँछन् । उनका अनुसार २०६७ सालमा आएर बल्ल बुद्धि फि¥यो । उनी पुनः आफ्नो कर्ममा फर्किए । राजेश भन्छन्, ‘त्यसयता मलाई पछाडि फर्किएर हेर्न परेको छैन, काम आइरहेको छ, कमाइ पनि राम्रै भइरहेको छ, चारजनाको परिवारलाई आरामसँग पालिरहेको छु ।’
पेन्टर राजेशलाई चित्र बनाउन, पेन्टिङ गर्न अहिले नेपालगन्ज मात्रै नभएर बाहिरबाट समेत बोलावट हुने गरेको छ । गत वर्ष उनले एक वर्ष धनगढीमा बसेर धनगढी रंग्याए । ‘गत वर्ष धनगढी एक वर्ष बसेर त्यहाँका भित्ताहरु विभिन्न चित्रले रंग्याए । मानिसहरु अहिले कम्मरमा हात राखेर आफूले बनाएको चित्र हेर्दै फोटो खिचाएको देख्दा मनमा आनन्द हुन्छ, अहिले कोहलपुर नगर विकास समितिमार्फत न्यूरोडमा रहेको भ्यू टावरमा विभिन्न विभूति, नेपालको नक्सा, राष्ट्रिय झण्डा, चराहरु, कोहलपुर चिनाउने सांस्कृतिक तथा सामुदायिक चित्रहरु बनाइरहेको छु ।’
पेन्टिङकै कमाइबाट राजेशले अहिले नेपालगन्जमा आफ्नै घर बनाएका छन् । एक छोरा नेपालगन्जमै रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बिटेक इन सिभिल इन्जिनियरिङमा अध्ययन गर्दैछन्, भने सानी छोरी भने नेपालगन्जकै सोफिया इङ्लिस मिडियम स्कुलमा नर्सरीमा पढ्दैछिन्।
‘जेठो छोरो अहिले स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्दैछन्, उनलाई कहिल्यै पेन्टिङप्रति रुचि नै भएन र मैले जबर्जस्ती गरिनँ पनि, तर सानी छोरी नर्सरीमा पढ्दैछिन्, उनले साह्रै इच्छा गर्छिन् चित्र बनाउन, जतिबेला पनि उनी चित्र बनाउने र मलाई सिकाउन आग्रह गर्छिन् सायद छोरीलाई यसप्रति रुचि छ ।’ उनले भने, ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ भनेजस्तै म आफैँभित्र भएको सीपलाई समयमै चिन्न नसक्दा बेक्कार थुप्रो वर्ष खेर गयो, अहिले यसै पेसाले पुनः मेरो जीवनमा रङ ल्याएको छ, विद्यालयका भित्ताहरु र सार्वजनिक स्थलका भित्ताहरुमा चित्र बनाउँदैमा दिनहरु बितेका छन् । अत्यन्तै खुसी छु पेसाप्रति ।’ अबको बाँकी जीवन चित्रकलामै बिताउने उनको योजना छ ।









प्रतिक्रिया दिनुहोस्