महिनावारी हुँदा अझै असुक्षित छन् सुदूरपश्चिमका महिला तथा किशोरी



शेरबहादुर ऐर । कैलाली ।

सामाजिक नकारात्मक मूल्य मान्यताका कारण अझै पनि महिला तथा किशोरीहरु महिनावारी भएकोबेला असुरक्षित बस्नुपर्ने अवस्था रहेको सरोकारवालाहरु बताउँछन् । कृष्णपुरमा महिनावारी भएको समयमा छुट्टै काठले निर्माण गरेको टहरामा राति सुत्दा असार २७ गते कमला आउजीले सर्पदंशका कारण मृत्यु व्यहोर्नुपरेको थियो । बुधबार सुदूरपश्चिम प्रदेश सभाअन्र्तगत रहेको सामाजिक विकास समितिले महिनावारीका समयमा महिलालाई सुरक्षित बनाउन सरकारले गर्नुपर्ने कार्यसहितको सुझाव संकलन गर्न कृष्णपुरमा आयोजना गरिएको छलफलमा सहभागी सरोकारवालाहरुले अझै पनि सामाजिक सोचमा सुधार नहुँदा महिला तथा बालिकाहरुले महिनावारीको समयमा असुरक्षित हुनुपरेको बताएका हुन ।

महिलाहरु महिनावारी हुँदा सर्पदंशसँगै सामाजिक तथा भौतिक रुपमै असुरक्षित हुनुपरेको स्थानीय कबिता शाहीले बताइन् । उनले सरकारले सामाजिक सचेतनासँगै कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘महिनावारीको समयमा महिलाहरुले घरदेखि टाढा बस्नुपर्ने अवस्था रहेको छ । यो समयमा महिलाहरुले वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था छँदैछ भने महिलाहरुले महिनावारी भएको समयमै घरेलु हिँसा सहन बाध्य भएका छन । वन्यजन्तुबाट असुरक्षित हुँदा सबैको ध्यान जान्छ । तर, सोही समयमा समाजिक रुपमा भएका हिँसाबारे खुलेरै बोल्न सक्ने अवस्था रहेको छैन । यी कुराहरु अझै समाजभित्र मिलापत्रमा सकिन्छ ।’

स्थानीय प्रतिमा ओझाले महिनावारी भएको समयमा छोरी मान्छेले वन्यजन्तुसँगै पुरुषहरुबाट असुरक्षित हुनुपर्ने बताइन् । उनले महिनावारीलाई सुरक्षित बनाउन सरकारले लिएका नीतिहरुबारे आम सर्वसाधारणहरुमा सचेतनासँगै बनेका कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘महिनावारी महिलाहरुको नियमित प्रक्रिया हो । तर, यही समयमा हाम्रो नकारात्मक सामाजिक मूल्य मान्यता रहेका छन । धार्मिक मूल्य मान्यताको सकारात्मक पक्षको संरक्षण र नकारात्मक अभ्यासहरुको अन्त्य गराउन सबै पक्ष एक जुट हुनुपर्छ । सरकारले मात्र यस्ता गलत अभ्यासको अन्त्य गराउन सक्दैन ।’

कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर बस्नेतले महिनावारीका समयमा महिलाहरुले असुरक्षित बस्नुपर्ने अवस्थाको अन्त्य गर्न गोठ भत्काउनेदेखि छुट्टै महिनावारी कच्ची कोठा बनाउनेलाई स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित राख्न जरुरी रहेको बताए ।  उनले भने, ‘महिनावारी हुँदा महिलाहरु छुट्टै टहरामा बस्नुपर्ने सामाजिक गलत अभ्यास रहेको छ । अहिले पनि परापूर्वकालदेखि जगडिएको यो अभ्यासलाई हटाउन सकिएको छैन । यो अभ्यासको अन्त्य गर्न सरकारले सेवासुविधा कटौतीदेखि कारबाही लगायतका अभ्यासहरु अघि बढाउन जरुरी रहेको छ । महिनावारीलाई सुरक्षित बनाउन वडा कार्यालयले छुट्टै टहरा भत्काउनेदेखि सचेतनामूलक कार्य गर्दै आएको छ । तरपनि अझै पनि गलत अभ्यासहरु हट्न सकेको छैन ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महिनावारीका समयमा महिलालाई छुट्टै राख्न नपाइने कानुनी व्यवस्था रहेको तर, अझै पनि यो मान्यतालाई हटाउन नसकिएको बताए । उनले सबैलाई कानुनको दायरामा ल्याउन नसकिने तर, यो सोचलाई हटाउन कारबाही तथा जरिवाना गर्नुका साथै गोठ भत्काउन भन्दा पनि सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘सुदूरपश्चिममा महिनावारी भएको समयमा छुट्टै बस्नुपर्ने अवस्था रहेको छ । यसैको नाममा घरभित्र नभई घरदेखि टाढा टहरामा राख्ने गलत अभ्यासको शिकारमा महिलाहरु पर्दै आएका छन । कानुनले सजाय तोकेको छ । तर, कानुनको प्रभावकारी कार्यान्वयन गराउने हो भने धेरै मानिसहरुलाई थुनामा राख्नुपर्ने अवस्था आउँछ । त्यसैले यस्ता गलत अभ्यास हटाउन यो अभ्यासको प्रोत्साहन गराउने केही पात्रहरुलाई सजाय र कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्र अन्य व्यक्तिहरु पनि सचेत हुनेछन् ।’

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले छिट्टै छाउगोठ भत्काउने अभियान अघि बढाउने बताए । उनले १६ हजार बढी घरधुरी रहेकोमा दुई सयदेखि दुई सय ५० वटा घरमा छाउ गोठ रहेको अनुमान व्यक्त गरे । उनले कार्यपालिका बैठक बसाएर कृष्णपुरमा सर्पदंशबाट ज्यान गुमाएकी कमला आउजीका परिवारलाई राहात वितरण गरिने बताए । उनले भने, ‘महिनावारीको समयमा छुट्टै बसेकी आउजीको सर्पदंशले मृत्यु भएपछि नगरपालिकाभित्र घरबाट टाढा निर्माण भएका टहरा हटाउन निर्देशन दिइसकेका छौँ । यो १५ दिनभित्र ती टहरा नहटाए नगरपालिकाले अनुगमन गरि आफैँ भत्काउने छ ।

भत्काउन नमान्नेहरुलाई कारबाहीको दायरामा ल्याइने छ ।’ उनले विगतमा पनि महिनावारीलाई सुरक्षित बनाउन नगरपालिकाले विभिन्न गतिविधि गरेको बताउँदै भने, ‘धामीझाँक्रीहरुसँग अन्तक्र्रिया, महिनावारीको समयमा घरदेखि टाढा टहरा बनाइएका वडामा सचेतनामूलक कार्यक्रम, महिनावारीका गलत अभ्यास हटाउन पटक पटक राजनीतिक दल, विद्यार्थी, ज्येष्ठ नागरिक लगायतसँग बहस पैरवी, तालिम, बालमैत्री वडा घोषणा गराउने लगायतका गतिविधि गरेका छौँ ।’ प्रदेश सभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठकले महिनावारीको समयमा महिलाहरुलाई सुरक्षित बनाउन प्रदेश सरकारले बनाउनुपर्ने नीति, आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि दबाब दिइने बताए ।

उनले समितिले प्रदेश सरकारसँग छलफल गरि महिनावारीको समयमा महिलालाई सुरक्षित बनाउन बुँदागत सुझाव दिने बताए । उनले भने, ‘सामाजिक विकास समितिले सरकारलाई प्रभावकारी रुपमा काम गर्न गराउन निर्देशन दिने, आवश्यक कानुन, नीति निर्माणमा पैरवी गर्ने लगायत हो । सोहीअनुसार आगामी दिनमा समिति अघि बढ्छ ।’ उनले महिनावारीका कारण महिलाहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सचेतनामूलक कार्यक्रमसँगै अभिमुखीकरण गर्न जरुरी रहेको बताए ।

उनले सरकारले बनाएको नीतिअनुसार कार्यक्रमहरु निर्माण गरि महिनावारीका गलत अभ्यासहरुको अन्त्य गराउनतर्फ सरकार लाग्नुपर्ने बताए। गत वैशाखमा भारतबाट छोराछोरीले स्वदेशमै अध्यापन गराउन भनी घर फर्केकी आउजी सामाजिक मूल्यमान्यताको गलत अभ्यासका कारण मृत्यु व्यहोर्नुपरेको थियो । सेती प्रादेशिक अस्पतालमा समयमै आइसियुमा उपचार नभएपछि उनको मृत्यु भएको स्थानीयहरु बताउँछन्।

महिलामाथिका हिंसा रोक्न सात बुँदे ज्ञापनपत्र

महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनुपर्ने मागसहित अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । महिलामाथि भइरहेका सामाजिक विभेद र अन्यायका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनेमसंघले मुख्यमन्त्री कमलबहादुर शाहलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा एमाले निकट महिलाहरूको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कञ्चनपुरसहितका जिल्लाहरूले प्रशासन कार्यालयमार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको प्रदेश अध्यक्ष झुमादेवी चौधरीले बताएकी छन् । सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषणसँगै लैङ्गिक असमानता र छाउ कुप्रथा जस्ता अन्यायपूर्ण व्यवहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।

संघले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा, तथा परम्परामा नाममा गरिने यौनजन्य शोषण र दुव्र्यवहार नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरी तुरुन्त कार्यान्वयनको माग गरेको छ । गत असार २७ गते भारतबाट फर्केकी कमला लामा नामकी महिलाको मृत्युले जनमानसमा गहिरो स्तब्धता छाएको भन्दै अनेमसंघले रोजगारीको सिलसिलामा भारत गएकी कमला स्वदेश फर्केर घरमा बसेको केही समयमै राति छाउगोठमा सुत्दा सर्पले टोकेको र अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको घटनालाई रहस्यमय भन्दै अनेमसंघले छानबिनको माग गरेको छ ।

यस्तै, गत जेठ २२ गते कैलालीको गौरीगंगा–१ मा तुलसी नाथलाई आफ्नै देवरले हत्या गरि शव गहुँबारीमा गाडेको घटनाले समेत गम्भीर सामाजिक प्रश्न खडा गरेको र यो प्रकारको अमानवीय व्यवहारको सिकार महिला नै हुनुपर्ने अवस्थाको अन्त्य गर्न माग अनेमसंघको छ ।
अनेमसंघले महिलामाथिका हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन गर्नु पर्ने, छाउपडी, दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, प्रत्येक पालिकामा सुरक्षित महिला आवास गृहको स्थापना गरिनु पर्ने माग राखेको छ।

यसैगरी महिला उद्यमशीलता प्रवद्र्धनका लागि अनुदान तथा सहुलियत, हिंसापीडित महिलाहरूलाई तत्काल राहत र न्याय सुनिश्चित गर्ने संयन्त्रको स्थापना गरिनु पर्ने माग पनि अघि सारेको छ । अनेमसंघले घटनाहरू दोहोरिरहनुले महिलाहरूको सुरक्षाप्रति राज्यको उदासीनता स्पष्ट भएको भन्दै गम्भीर हुन आग्रह गरेको छ । प्रदेश अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा तत्काल सुधारात्मक र नीतिगत कदम चाल्न अनुरोध गरिएको छ ।

अनेमसंघले महिला अधिकारको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि निरन्तर दबाबमूलक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । जवाफमा मुख्यमन्त्री शाहले प्रदेश सरकार आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक लागिपरेको र सबैको सहकार्य र साथ आवश्यक हुने बताएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार