दैलेख ।
नवजात शिशु चोरी गरी हैरानी दिने १६ वर्षीया किशोरीलाई दैलेख जिल्ला अदालतले ४० महिना अर्थात् ३ वर्ष ४ महिना कैद र ३३ हजार ३३३ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार किशोरीमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना र आपराधिक उपद्रव अभियोगमा २ वर्ष कैद र २० हजार जरिवाना माग गरिएको थियो ।
ती दुवै मुद्दा एकीकृत गर्दै ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको थियो । तर बाल न्याय प्रणालीअन्तर्गत दोषिको उमेरको आधारमा एक तिहाइ छुट दिँदा सजाय घटाएर ३ वर्ष ४ महिना कैद र ३३ हजार ३३३ रुपैयाँ जरिवाना कायम गरिएको हो । घटना गत चैत २८ गते ठाटीकाँध गाउँपालिका–१ सिलाडीमा घटेको हो । बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई ती किशोरीले आगलागीको नाटक गर्दै सुताइएको स्थानबाट चोरी गरेकी थिइन् ।
हराएका शिशुलाई चैत २९ गते बिहान चामुण्डामा फेला पारिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दर्ता गरेको थियो । सोही दिन थुनछेक बहसपछि किशोरीलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्