आँसुुहरु आगोमा बदलिने दिन नआउलान् र ?



जीतबहादुर शाह

‘नानी के भयो ?’ नानीले झट्पट् उठेर भन्छिन् – ‘आमा बाहिरबाट कराइरहनु भएको छ । जाऊ न ढोका खोल्न ।’ दिदीको अभिनय गर्दै दर्शनाले भन्छिन् – ‘सुत नानी, तिमीले सपना देखेको हो । आमा आउनु भएको होइन ।’ त्यसपछि दर्शनाले यो गीत गाउँछिन् ः
भन्थ्यौ आमा नेपालमा दुःख छ
विदेशमा त पैसाको रुख छ,
कालो बादल निलो आकाशमा,
गयौ आमा चढेर जहाजमा, फक्र्यौ बाकसमा ।
नेपाल आइडलको प्रतियोगितामा चितवनकी विद्यालय उमेरकी दर्शना गान्धारीले सुमधुर स्वरमा प्रस्तुत गीत त गाइन् नै । सारा निर्णायक र दर्शकहरुलाई पनि रुवाइन् । मेरो त झन् किन हो खै मन साह्रै कोमल छ । यस्ता भावुक गीतहरु सुमधुर स्वरमा सुन्नै सक्दिनँ, सुरुवातमै आँखाहरु रसाउन थाल्छन् । त्यत्तिले पुग्दैन, मुटु भक्कानिन थाल्छ । अनि त त्यस्ता गीतहरु सकिसक्दा पनि आँसु रोकिँदैनन् ।

फेरि त्यही गीतलाई दोहो¥याइ तेह¥याइ सुनिरहन मन लाग्छ । त्यसरी नै आँसु झारिरहन मन लाग्छ । पीडा भोग्न र महसुस गर्न बानी परिसकेछ क्या रे । पीडाबाट भाग्नभन्दा पनि नजिकिन मन लाग्ने । यो मनको बनावट पनि विचित्र र बुझिनसक्नुको हुँदोरहेछ । आफ्नै मनको बारेमा यसरी द्विविधा भएपछि अरुको मन बुझ्ने सुविधा हओस् पनि कसरी ! व्यक्तिले जुन परिवेश भोगिरहेको छ, त्यही परिवेशलाई प्राण बनाएर साहित्य र सङ्गीतले आफ्नो विषयबस्तु पस्किन्छ भने त्यही साहित्य र सङ्गीतले मानिसलाई रुवाउँछ । आज हरेक नेपालीको घरबाट परिवारका सदस्यहरु विदेसिएको अवस्था छ । यस्तो परिवेश यस्ता गीतहरु गाउँदा सारा नेपालीहरुको मन छिया–छिया हुनु अस्वाभाविक पनि होइन ।

वैदेशिक रोजगारीको घनचक्करमा कतिका सपनाहरु त जेनतेन पूरा भएका होलान्, कत्तिका भने बिचैमा तुहिएका छन् । वैदेशिक रोजगारको नाममा कतिका परिवारहरुको विखण्डन भएको छ । गीतमा भनेझैँ धेरैका सपनाहरु बाकसमा बन्द भएर पनि फर्कने गरेका छन् । यो घट्ने लक्षण छैन । बरु झन् झन् बढने अवस्था छ । नारायण रायमाझीको सङ्गीत र कमलेश बिसीको रचनामा तयार भएको यो गीतलाई नेपाल आइडल प्रतियोगितामा बहिनी दर्शनाले गाउँदा मन त्यत्ति भावविह्वल भयो, जति उषा मगरको ओरिजिनल आवाजमा यो गीत सुन्दा पनि भएको थिएन । यो पङ्क्तिकारको म्याडमले हेर्ने होष्टेलमा एकजना ५÷६ वर्षको सानो बाबु छ । सानै छँदा आँखा कमजोर भएकोले पावरदार चश्मा लगाउँछ । उसको बाबा, आमा दुवै विदेश छन् । विदेशमा पनि सँगै होइन, अलग अलग देशमा । कहिलेकाहीँ बिहानको घुमघाममा होष्टेलका नानीबाबुहरुसँग निस्किँदा उक्त सानो बाबु मेरै हात समातेर हिँड्न मन पराउँछ ।

उसको त्यो स्वभावले मलाई धेरै पटक गम्भीर बनाएको छ । मलाई लाग्छ, उसले अभिभावक खोजिरहेको छ, उसले अभिभावकको आवश्यकतारुपी तिर्खा मेट्नका लागि मेरो सहारा लिन चाहन्छ । ऊ आफ्ना साथीहरुसँग त्यत्ति राम्रोसँग मिल्न पनि सक्दैन । बाबाआमासँग उसको समय समयमा भलाकुसारी र भिडिओ कल त हुन्छ, तथापि त्यत्तिले मात्र बाबाआमासँगको सामिप्यताको तिर्खा भेट्न नसकिरहेको अवस्था छ उसले । उसलाई लाग्छ, मेरो यो उमेर भनेको अरुले झैँ बाबाआमाको काखमा बसेर उनकै माया र स्नेहको छत्रछायाँमा हुर्किने उमेर हो । उसका लागि यो कुरा सम्भव भएन । पीडा उता अभिभावकलाई पनि छ । यो अवस्था करिब करिब धेरै नेपाली जनजीवनले सामना गर्नुपर्ने स्थिति मुलुकमा निम्तिरहेको छ र निम्तिने क्रम जारी छ ।

यो पङ्क्तिकारकै छिमेकी भाइ वैदेशिक रोजगारीकै क्रममा रुसी सेनामा भर्ना भएर दुई वर्षसम्म काम गरे । त्यत्तिबेला रुस र युक्रेनको युद्ध चर्किएको खबर मिडियामा आयो भने मुटु ढक्क फुल्थ्यो । कतिपय दिन त रुसी सेनाको तर्फबाट ज्यान गुमाउने नेपालीहरुको नामसमेत बाचन गर्न थाल्दा मुटु ढुकढुकी झनै बढ्न थाल्थ्यो । भाइलाई कतै केही भइहाल्यो भने ती भाइको पत्नी र सन्तानहरुलाई के भनेर बाँकी जीवन जिउन प्रेरित गर्ने होला भनेर मन र मस्तिष्क अवसादको एउटा गहिरो तलाउमा डुब्न खोज्थ्यो । परिवार र हामी शुभेच्छुक सबैको भाग्य बलियो भएरै होला, छिमेकी भाइलाई त्यस्तो केही भएन । उनैले भनेअनुसार ब्यारेकबाट भागेर दुईरात जङ्गलको बाटो हिँडेर गन्तव्य पुगेपछि प्लेनको बाटोमा पुग्छन् र त्यसपछि घर फर्किन सम्भव हुन्छ उनका निम्ति । घर आएर दुई दिनसम्म बाहिर निस्किँदैनन् कारण उनी थकाइले लखतरान भएका थिए । उक्त दुई देशको युद्धमा समेत अहिलेसम्म दुईसय जति नेपाली युवाहरुले ज्यान गुमाइसकेको अवस्था छ ।

नेपालीहरु स्वर्गजस्तो सुन्दर जन्मथलोलाई छोडेर विश्वका कुना कुनासम्म पुगेका छन् कामको खोजीमा । मुलुकमा काम गर्नका लागि उर्वर भूमि भए पनि अगुवाहरुको भूमिका उर्वर हुन सकिरहेको छैन । सामान्य एउटा कुनै उद्योग व्यवसाय गरौँ भन्यो भने पनि सरकारको सहयोग भन्दा सास्ती व्यहोर्नु पर्ने हुन्छ । राजनीतिक दलहरु पैसा कमाउने अभियानमा एकीकृत रुपमा लागेका छन् । सत्तामा पुगेकाहरु कोही पनि चोखा रहन सकेका छैनन् । त्यसैले कुनैबेला सत्तामा गएकाहरुले सत्तामा हुनेहरुको आलोचना पनि खरो रुपमा गर्न सकेका छैनन् । निहुँ खोज्न थाल्यो भने सत्तामा भएकाले ‘तँलाई पनि ….’ भन्यो भने चुप लाग्नु पर्ने अवस्था छ । भिजिट भिसाका नाममा मानवतस्करीको विरोध पनि भइरहेको छ र मानवतस्करी पनि भइरहेको छ । भ्रष्टाचार, ढिलासुस्ती र आग्रहपूर्वाग्रह पालिका र बस्तीसम्म असरल्ल फैलिएको छ ।

कसैलाई कसैको डर छैन । जोसँग डराउनु पर्ने हो, उसैले नै डराउनु पर्दैन भने पछि डराउने कुरा पनि त भएन । मन्त्री स्वयम्ले भ्रष्टाचारको डिल गर्न थाले पछि सचिव र अरु कर्मचारीहरु त डराउनु पर्ने कुरै के भयो र ! हामीले मुलुक बनाउन भनी पठाएका नेताहरु आफ्नो बाहेक अरुको नसोँच्ने भए । धेरै सोचे आफ्नो निर्वाचन क्षेत्रसम्मको सोच्न भ्याउँदा रहेछन् । बजेट पाउने र दिने सवालमा समेत पर्सेन्टको हिसाब हुँदो रहेछ । कानुन पारित गर्दासमेत कस्तो कानुन ल्याउँदा मुलुकको हित हुन्छ भन्ने कुरामा भन्दा पनि मेरो हित कसरी हुन्छ भन्ने कुरालाई महत्व दिँदा रहेछन् माथिकाहरु । निजामति विधेयकमा भएको कुलिङ अफ पिरियडको लफाडा पनि त्यसैको ज्वलन्त नमुना हो । मुलुकको सेवासुविधा खाएर राइँदाइँ गरिरहेका उच्चपदस्थ अधिकारीहरुले समेत आफ्नो बाहेक मुलुक र अरुको बारेमा सोँच्दैनन् भन्ने कुराको पनि यही हो ज्वलन्त नमुना । शिक्षाले बाठो त बनायो तर इमान्दार बनाएन भन्ने कुराको पनि यही हो ज्वलन्त नमुना ।

विद्यालय शिक्षा विधेयकमा पनि शिक्षाको गुणस्तर उठाउने कुराभन्दा पनि समूह स्वार्थका कुराहरु बाझिएका छन् । के गरेर सिकारुको सिकाइ वातावरण प्रभावकारी हुन्छ भन्ने कुरामा भन्दा पनि के गरेर आफू सुरक्षित भइन्छ भन्ने कुराले महत्व पाइरहेको अवस्था छ । यसरी माथिका मानिसहरुले आआफ्नो स्वार्थ सिद्धिका लागि नैतिकता, चरित्र र इमान्दारितालाई बन्धकी राखेर काम गर्न थाले पछि तलकाले उनीहरुबाट सिक्ने के ? असल कि खराब ? हाम्रा शिक्षकहरु तिनै माथिका अगतिलाका पछिपछि लाग्ने कार्यकर्ताजस्ता भएपछि शिक्षकहरुबाट पनि सिक्ने के ? फुटपाथमा एउटा स्कुले बाबुले स्याउ बेच्न राखेको हुन्छ । बिचरा उसलाई केही सहयोग पनि होला भन्ने अहोभावका साथ बार्गेनिङ नै नगरी ऊबाट स्याउ किनेर ल्यायो । घर आएर स्याउ हेरेको त, मेरो आँखा छलेर उसले कुहिएको स्याउजति मेरै भागमा राखिदिएको हुन्छ । यो कुरा कसरी सिक्यो त त्यो स्कुले बाबुले ? प्रष्ट छ, परिवेशबाट । असल कुरा सिक्ने त माथिबाट होला नि ! माथिका मानिसहरुबाट नै असलभन्दा खराब कुरा सिक्ने वातावरण भएपछि असल कुरा सिक्ने पनि कसरी ? गाउँबस्तीसम्म पनि परिवेश यस्तो भइसक्यो कि पैसाका लागि जे पनि गर्ने । यो सबै कुरा मानिसले भर्खर जन्मेको बच्चाबाट होइन कि माथि भएका मान्छेरुपी पशुहरुबाट सिकेको हो ।

नेपालीहरुको विडम्बना नै यस्तै रहेछ । मलाई मन रुवाउने गीत पटकपटक सुन्न मन परेजस्तै सरकारमा भएका मानिसहरुले पनि नागरिकलाई रुवाउने र पीडा दिने खेल पटक पटक खेलिरहने बानी परेको छ यो मुलुकमा । सरकारमा गएका मानिसहरु जसलाई हामी नेता भन्छौँ, उनीहरुको पनि मुलुकको विकासको निम्ति दूरगामी सोच छैन । त्यस्तो दूरगामी सोच उनीहरुकै पछिपछि लाग्न बानी परेका नागरिकहरुको झन् हओस् पनि कसरी ? यस्तै बीचमा कसैको दूरगामी सोच बनिहाल्यो भने पनि सरकारी तबरबाट प्रोत्साहन भन्दा पनि पीडा प्राप्त हुने वातावरण तयार हुन्छ । जीवनमा महत्वपूर्ण समयहरु बिताएर अब त आज हो कि भोलि भन्ने उमेरमा पुगेका नेताहरुमा समेत भ्रष्टाचारप्रतिको मोह झन्पछि झन् बढ्नुले मुलुकको समुन्नतिका सबै बाटाहरु बन्द भएका छन् । साँच्ची अचम्मै छ, बदमास र बदनियत भएका मानिसहरु समेत उमेर ढल्किँदै गएपछि सज्जन र सालीन भएका दृष्टान्तहरु भेटिन्छन् । हाम्रा नेताहरु भने भ्रष्टाचार र व्यभिचारको मामलामा झन् झन् बुढिदै र सुरिदै गरेको देख्दा उदेक लाग्छ ।

अब त अति हुन थाल्यो । असल र इमान्दार व्यक्तिहरु स्वदेशमा बस्नै नसक्ने स्थितिको सिर्जना हुन थाल्यो । हुँदा हुँदा सत्तामा भएकाहरुबाट न्यायालयलाई समेत आफ्नो निर्देशनमा काम गर्ने अड्डाको रुपमा रुपान्तरण गर्ने हरकतहरु हुन थाले । समान केशमा कोही हाजिर गरेर घर फर्किने र कोही जेलमा सड्ने घटनाहरु घट्न थाले । अपराधीहरु पैसा र पावरका भरमा सडकमा छाती फुलाएर हिँड्ने स्थिति बढ्दै जान थाल्यो । प्रतिभा र क्षमताको कदर र सम्मान नभएका कारण प्रतिभा र क्षमता भएकाहरुले स्वदेशमा बसेर काम गर्ने कुरा सपनामा समेत देख्न छोडे । अन्ततः नेपाल गरिबहरुले बसोबास गरेको धनी देशमा चिनिन थाल्यो ।

‘गयौ आमा चढेर जहाजमा, फक्र्यौ बाकसमा’ जस्ता गीतहरु सुनेर भक्कानिनु घरघरको कहानी हुन थाल्यो । यही पाराले नेताहरुले आफ्नो लागि मात्र सोच्ने र नागरिकको घाउमा मल्हल लगाउनुको साटो नुनखुर्सानी छर्किँदै रुवाइ राख्ने हो भने रुनुको पनि त सीमा हुन्छ होला, आँसुको पनि त निश्चित परिमाण हुन्छ होला । अनि त कुनै दिन यस्तो आउला जुन दिन भ्रष्टाचारको विरुद्ध मानिसहरु आँसु होइन कि आगो ओकल्दै देशविदेशबाट अघि बढ्ने होलान् । के त्यत्तिबेला पनि भ्रष्टाचारीहरुको यसरी नै रजगज चलिरहला त ? बाँकी जो हजुरहरुको मर्जी ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार