टीकापुरका युवा नासाको च्यालेन्जका लागि छनौट



नेपालगन्ज ।

कैलालीको टीकापुरका युवा अरुण लोहार नासा स्पेस एप्स च्यालेन्ज २०२५ का लागि नेभिगेटरको भूमिकामा छनौट भएका छन् । खगोल विज्ञानसम्बन्धी अमेरिकी संस्था नासाले हरेक वर्ष आयोजना गर्ने नासा स्पेस एप्स च्यालेन्जको चालू वर्षको संस्करणका लागि छानिएका लोहारले विश्वभरबाट च्यालेन्जमा सहभागीहरूलाई मार्गदर्शन गर्ने र उनीहरुका परियोजनाहरुको मूल्याङ्कन गर्ने अवसर पाउनेछन् ।

उक्त एप्स च्यालेन्जमा संसारभरका विद्यार्थी, नवप्रवर्तक, वैज्ञानिक, प्रोग्रामर, डिजाइनर, शिक्षक र उद्यमीहरू सहभागी हुन्छन् । उनीहरुले खगोल विज्ञानसम्बन्धी परियोजनाहरु तयार गर्ने गर्छन् । नेभिगेटरमा छनौट भएका लोहारले टीकापुर लगायत सुदुरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा खगोल विज्ञानसम्बन्धी निःशुल्क क्रियाकलाप गर्दै आएका छन् ।

उनले टेस्ला सान्स सेटर नामक संस्था स्थापना गरी करिब ७० हजारभन्दा बढी विद्यार्थी तथा विज्ञानमा रुचि राख्नेहरुलाई खगोल विज्ञानबारे आधारभूत जानकारीहरु प्रदान गर्ने काम गरिसकेको बताउँछन् । उक्त च्यालेन्जमा स्वयंसेवी भूमिकामा रहने नेभिगेटरहरूले सहभागीहरूका लागि प्राविधिक पक्षहरू, डेटाको प्रयोग, वैज्ञानिक अवधारणाहरू र समस्या समाधानका रणनीतिहरूमा मार्गदर्शन प्रदान गर्ने काम गर्ने स्पेश एप्स च्यालेन्जको वेवसाइटमा उल्लेख छ ।

उनीहरूले वैज्ञानिक प्रक्रियाका बारेमा जानकारी दिन सक्छन्, जसले टोलीहरूलाई अनुसन्धान गर्न, खोज गर्न, विचारहरू आदानप्रदान गर्न, प्रोटोटाइप बनाउन र परीक्षण गर्न प्रोत्साहन गर्छन् । नेभिगेटरहरु इन्टरनेटको माध्यमबाट भर्चुअल रुपमा सहभागी भएर भाग लिन्छन् । यसवर्षको च्यालेन्ज कार्यक्रम अक्टोबर ४ र ५ मा हुने जनाइएको छ । लोहारले सिभिल सब ओभरसियरको अध्ययन पूरा गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार