बाँके ।
गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा चन्द्रकान्त भण्डारीले बाँकेको राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुङ्गा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरेका हुन् ।
त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुङ्गा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग मागसमेत गरे । यस्तै सांसद चन्द्रबहादुर विश्वकर्माले रूकुम जिल्लाको चौरजहारी नगरपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेपछि अनाथ बनेका बालबालिकालाई प्रधानमन्त्रीको पहलमा राजधानी ल्याएर पठनपाठनको व्यवस्था गरिएको बताए ।
जातीय छुवाछूतको अन्त्यका लागि कानुन बने पनि त्यसको कार्यान्वयन हुन नसकेकाले उनले यथाशीघ्र त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए । सांसद रामप्रकाश चौधरीले अन्नको भण्डार मधेश प्रदेशमा अहिले पानी नपरेर समस्या भएकाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटले समेटेर लैजान माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्