सहकारीमा आबद्ध किसानलाई अनुदान



शिवु खनाल । दाङ ।

लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी लुमा वलीले आफूले नसोचेको पैसा पाउँदा निकै हर्षित बनेकी छिन् । यस वर्ष वलीले सहकारीमार्फत सबैभन्दा धेरै अनुदान पाएका छिन् । उनले आर्थिक वर्ष ०८१–०८२ मा ३८ वटा खसीबोका सहकारीमार्फत बिक्री गरेर २१ हजार ५७ रूपैयाँ अनुदान प्राप्त गरेकी हुन् ।

‘पहिला निर्वाहमुखी ढंगले बाख्रापालन गर्दै आएको थिएँ ।  वडामा जनप्रतिनिधिहरू निर्वाचित भइआएर आर्थिक सहयोग बढाउँदै लग्यो अनि मैले पनि बाख्रा बढाएँ, कृषक वलीले भनिन्, ‘मैले सोचेको पनि थिएन आफ्ना बाख्रा बेच्दापनि सहकारी संस्थाले यति धेरै पैसा दिन्छ भनेर । घरको मुख्य स्रोत भनेकै बाख्रापालन हो ।’ वडा नम्बर ९ तेलियाकी कमला खत्रीले सहकारी संस्थामार्फत २९ वटा खसीबोका बिक्री गरेर १५ हजार ३ सय ९७ रूपैयाँ प्राप्त गर्दा आश्चर्यमा परिन् ।

त्यस्तै कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रिहारमार्फत तीन सय ५६ जना खसी बोकापालक किसानले आठ लाख ७ हजार ७ सय १३ रूपैयाँ अनुदान पाएका छन् । अनुदान पाउने सबै किसान हर्षित छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आर्थिक वर्ष ०८१–०८२ मा स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (खसीबोका बिक्रीमा आधारित) कार्यक्रमले किसानमा उत्साह छाएको हो ।

२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत तीन सय ५६ जना किसानले आठ लाख ७ हजार ७ सय १३ रूपैयाँ अनुदान पाएका संस्थाका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिए । किसानले सहकारीमा बिक्री गरेको खसीबोकाको प्रतिकिलो १८ रूपैयाँ ८७ पैसाका दरले बिक्री गरेको मात्राको आधारमा किसानलाई अनुदान वितरण गरिएको छ । उक्त सहकारी संस्थामार्फत गतवर्ष तीन सय ७० जना कृषकलाई सोह्र लाख ५८ हजार ५ सय २५ रूपैयाँ अनुदान वितरण गरिएको थियो ।

लमही ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले सहकारी समृद्धिको मुख्य आधार भएको बताए । सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उनले सहकारीले स्थानीय उत्पादित बस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्फ लाग्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरे । ‘अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालनगर्न सहकारी आवश्यक रहेको छ । देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने हुन्छ,’ वडाध्यक्ष केसीले भने, ‘जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ, सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय कामगर्न सक्छ ।’

त्यसैगरी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६२ जना बाख्रापालक किसनालाई एक लाख ९४ हजार ४ सय ३० रूपैयाँ अनुदान रकम वितरण गर्न लागेको संस्थाका बजार व्यवस्थापक सुरज चौधरीले जानकारी दिए । लमही १ सुन्डबरीस्थित निलकमल सहकारीले ९५ जना बाख्रापालक कृषकलाई एक लाख ५१ हजार ५ सय ७८ रूपैयाँ वितरण गर्न लागेको बजार व्यवस्थापक पुनम भण्डारीले जानकारी दिइन् । उनले सहकारीमार्फत दूध बिक्री गरेका तीन सय ३ जनाले कृषकलाई पाँच लाख ५१ हजार ८ सय १५ रूपैयाँ अनुदान रकम वितरण गर्न लागेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार