उसु विश्वकपमा कांस्य जितेका विजयले पाए ६५ लाख पुरस्कार



काठमाडौँ ।

गत वर्ष जापानमा भएको उसुको थाउलो विश्वकपमा कांस्य जितेका उसु खेलाडी विजय सिँजालीले सरकारबाट नगद ६५ लाख पुरस्कार प्राप्त गरेका छन् । गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्र्ड कपमा कास्य पदक विजेता सिँजालीलाई बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को अनुसुची–४ क को बुँदा नम्बर ३ मा व्यवस्था भएअनुसार सिँजालीले नगद ६५ लाख पुरस्कार पाएका हुन् । उक्त बुँदामा अन्तर्राष्ट्रिय महासंघ (आईएफ) विश्व च्याम्पियनसिप जस्ता इभेन्टमा कांस्य जित्नेलाई ६५ लाख पुरस्कार दिने व्यवस्था छ । नेपाली खेलकुदमा एकै पदकमा धेरै पुरस्कार पाउने खेलाडीमध्ये विजय पनि परेका छन् ।

यसअघि पेरिस पारालिम्पिकमा कांस्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पनि सरकारबाट नगद ६५ लाख पुरस्कार प्राप्त गरेकी थिइन् । विजय सिँजालीले जापानमा भएको थाउलो विश्वकपअन्तर्गत छेन्सुतर्फको विधामा ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।

मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते । विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार