रचना दिदी र सृष्टिका सुकोमल रचनाहरू



त्यतिबेला रचना नेपाली एउटी २३ वर्षे अविवाहित युवतीको रूपमा थिइन् । उनको घर सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको वडा नंं १ स्थित मसेरीटोलमा छ । उनी अंग्रेजी मूल विषय लिएर वि.एड. पढ्दै थिइन् । उनी बसेको टोलमा एकाध घरका छोडेर सबै मानिसहरू दलित छन् । उनीहरूका आर्थिक विपन्नताले गाँजिएका आफ्नै समस्याहरू छन् । चेतना उठ्न नसकेका कारण उनीहरूका अन्धविश्वास र जीवनसम्बन्धीका अवधारणाहरू पनि उठ्न सकेका छैनन्।

जीतबहादुर शाह

बेथानी हिलको भनाइ छ– ‘तिम्रो कक्षामा आउने हरेक बालबालिकासँग कम्तीमा एउटा–एउटा कथा हुन्छ जो तिमीले सुन्न जरुरी छ । सायद सुन्यौ भने त्यसको केही अर्थ लाग्नेछ ।’ रचनाको कक्षामा आउने हरेक बालबालिकाहरूका पनि आ–आफ्नै कथाहरू छन् । बालबालिकाका धेरै कथाहरू रचनाका आफ्नै कथासँग मिल्छन् । जब उनीसँग बालबालिकाहरू आफ्ना कथाहरू भन्न थाल्छन् रचनालाई लाग्छ उनीहरूले आफ्ना कथा होइन कि रचनाको कथा भनिरहेका छन् ।

त्यसैले रचनालाई उनको कक्षामा आउने हरेक बालबालिका आफ्नै प्रतिविम्ब हुन् जस्तो लाग्छ । त्यसैले उनी हरेक बालबालिकाहरूको दुःख र पीडासँग सह्दय गाँसिएकी छिन् । उनीहरू दुःख र पीडाका कारण रुन थाले भने रचनाका आँखा पनि ओभानो हुँदैनन् । रचना पनि उनीहरूसँगै भक्कानिएर बह बाँड्छिन् । उनीहरूको अनुहारमा खुसीका तरङ्गहरू देखिए भने रचनालाई पनि खुसीको महसुस हुन्छ । त्यस्तो अवस्थामा रचना पनि उनीहरूसँग हाँस्दै खेल्दै रमाउँछिन् । आफ्नै मीठो आवाजमा बालबालिकासँग गीत गाउँदै नाच्न थाल्छिन् उनी ।
यो पङ्क्तिकारले यो परिदृश्यको अवलोकन गर्ने अवसर पाएको पनि दशक पुग्न लाग्यो ।

त्यतिबेला रचना नेपाली एउटी २३ वर्षे अविवाहित युवतीको रूपमा थिइन् । उनको घर सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको वडा नंं १ स्थित मसेरीटोलमा छ । उनी अंग्रेजी मूल विषय लिएर वि.एड. पढ्दै थिइन् । उनी बसेको टोलमा एकाध घरका छोडेर सबै मानिसहरू दलित छन् । उनीहरूका आर्थिक विपन्नताले गाँजिएका आफ्नै समस्याहरू छन् । चेतना उठ्न नसकेका कारण उनीहरूका अन्धविश्वास र जीवनसम्बन्धीका अवधारणाहरू पनि उठ्न सकेका छैनन् । उनीहरूका बालबालिकाहरू उचित मार्गनिर्देशन नपाएका कारण बरालिएर हिँड्दा पनि कसैलाई चासो र सरोकार रहँदैन ।

कसैको दिल पनि दुख्दैन र कसैका आँखा पनि रसाउँदैनन् । टोलमा अपवादको रूपमा रचना नेपाली देखापर्छिन् । आफ्नो टोलका बालबालिकाको यो दुरावस्था देख्दा उनलाई उनिहरूका निम्ति केही गरौँ भन्ने लाग्छ । अरु दिन उनी आफ्नो अध्ययन र सानोतिनो जागीरका निम्ति खर्च गर्छिन् । शनिबारको दिन भने आफ्नो टोलका तिनै बालबालिकाहरूका निम्ति एउटा कोठाको व्यवस्था गरेर कक्षा चलाउँछिन् । उनले त्यसको नाम बालबगैँचा विद्याकुञ्ज राखेकी छिन् । यो पङ्तिकारलाई भने उनले चलाएको त्यो विद्यालयलाई शनिबारीय विद्यालय भन्न मन लाग्यो ।

हामी उनको विद्या कुञ्जमा पुग्दा बालबालिकाहरू आउने क्रम जारी थियो । उनको काखमा २ वर्ष जतिकी एउटा सानी नानी थिइन् । सानी नानी आमाकै काख सम्झेर रचनाको काखमा बसेकी थिइन् भने रचनाले पनि उक्त नानीलाई आफ्नै छोरीभन्दा कुनै मानेमा पनि कम नगरी सुम्सुम्याएर काखमा राखिरहेकी थिइन् । सोधेपछि थाहा भयो, ती नानीको नाम भूमिका रहेछ । सोध्दै गरेपछि अरु धेरै कुरा पनि थाहा भयो । सानी नानी भूमिकाका दुई दिदीहरू पनि त्यही कक्षामा आएका थिए–माइली अस्मिता र जेठी लक्ष्मी ।

मैले सोधेपछि भूमिकाको ८ वर्षे दिदी लक्ष्मीले भनिन्– हाम्रो बाबा बेलुका–बेलुका रक्सीले मात्तिएर आमालाई कुट्नु हुन्थ्यो । छोरी–छोरी जन्माई भनेर गाली गर्नुहुन्थ्यो । आमाले सहनै नसकेपछि घर छोडेर निस्कनु भयो र बिष खाएर मरेको शव घरदेखि धेरै टाढा जंगलको छेउमा भेटियो । अहिले बाबा भारततिर हुनुहुन्छ । हामी बज्यैसँग बस्छौँ । रचनाले थपिन– ‘मेरो कथा पनि यिनीहरूको जस्तै हो । फरक यत्ति हो कि यिनीहरूको आमाले सहन नसकेर आत्महत्या गरिन् । मेरी आमाले त्यसो गरिनन् ।’ काखमा रहेकी भूमिकालाई सुम्सुम्याउँदै अगाडि भनिन्– ‘त्यसैले पनि यिनीहरूको असाध्यै माया लाग्छ ।’

उनको कक्षा भयरहित हुन्छ । बालबालिकाहरूले खुलेर कुरा गर्न पाउँछन् । बालबालिकाहरू रचनालाई दिदी भनेर बोलाउँछन् । कतिपय विद्यालय छोडेका बालबालिका पनि उनको कक्षामा जान्छन् । त्यस्तै विद्यालय छोडेर रचनाको कक्षामा आउने मध्येका एकजना रुपेश हुन् । रुपेशको आमाबाबा सधैँ झैझगडा गरिरहन्छन् । उसलाई उक्त घरमा बस्न मन लाग्दैन । कतिपय रात त उसले सडकमा सुतेर विताउँछ । सडकमा सुत्दा डर लाग्दैन भन्दा के को डर ? के हो डर ? मलाइ थाहा छैन भन्छ । उसलाई विद्यालय जान पनि मन पर्दैन । एकदिन रचनाले रुपेसलाई मायाले अङ्गालो हालेर गफ गर्दै विद्या कुञ्जमा ल्याउँछिन् ।

रुपेसलाई तिमी एकछिन् बस भन्दै उनी केही लेख्न थाल्छिन् । रुपेसले पर्खेर हेरिराख्छ । तिमी पनि लेख्ने हो भनेर सोध्दा टाउको हल्लाएर लेख्दिन भन्छ । मन लागेको चित्र कोरेर बस न त भनेर कागज र रङ्गीन साइनपेन दिएपछि चित्र कोर्न थाल्छ रुपेस । चित्रमा एउटा घर बनाउँछ, घरका दुइटा कोठा बनाउँछ । एउटा कोठामा केटा बसेको बनाउँछ भने अर्कोमा केटी बसेको । यो के बनाएको भनेर रचनाले सोध्दा रुपेश भन्छ– ‘यो मेरो घर हो । मेरो घरको एउटा कोठामा म बस्छु भने अर्को कोठामा तपार्इँ ।’ खुसी हुँदै रचना भन्छिन् – ‘त्यसो भए म तिम्रो दिदी, तिमीले दिदीले भनेको मान्नुपर्छ नि ।’ रुपेसले भन्छ– ‘हुन्छ ।’

रुपेस जस्तै चित्रले पनि केही समय भयो विद्यालय जान छोडे पनि रचनाको कक्षामा भने आउने गरेका छन् । विद्यालय छोड्नुको कारण सोध्दा रचनासँग उनले भनेका छन् –‘मेरो कक्षाका केही साथीहरू झ्यालमा गएर बस्छन् । अनि त्यहीँ एक अर्कालाई धकेल्दै भुइँमा खस्छन् । कतिलाई चोटपटक लागेर रुन्छन् पनि । रोएर हल्ला भएपछि के भएको भनेर सरहरू सोध्न आउँछन् । विद्यार्थीहरूले चित्रले कुटेको भनेर आरोप लगाउँछन् । सत्य कुरा नबुझेर अनाहकमा सरहरूबाट पटकपटक कुटाइ खाएपछि मैले विद्यालय नै छोडिदिएँ ।’ यसरी रुपेस र चित्रले जस्तै अरु बालबालिकाहरूले पनि दिल खोलेर रचनासँग कुरा गर्दछन् ।

कतिपयले त गफ गर्दागर्दै रचनासँग नजिकै आएर कानेखुसी गर्छन् – ‘दिदी मलाई गीत गाउन मन लाग्यो । दिदी मलाई नाच्न मन लागेको छ’ आदि आदि । रुपेस र चित्रलाई रचनाले ‘विद्यालयमा जानुपर्छ, पढाइ छोड्नु हुँदैन’ भनेपछि उनिहरूले ‘हामी त्यो स्कुल जाँदैनौँ, अर्को स्कुलमा भनिदिनोस् जान्छौँ’ भनेका छन् । रुपेस र चित्रलाई अर्को विद्यालयमा लिएर भर्ना गरिदिने रचनाको योजना छ । कतिपय बालबालिकाहरूलाई वर्षौँ वर्ष शिक्षण अनुभव भएका, विश्वविद्यालयहरूबाट पनि उच्च योग्यता हासिल गरेका, शिक्षणसम्बन्धी विभिन्न किसिमका तालिमहरू लिएका र सरकारको ढुकुटीबाट समेत पर्याप्त सेवा सुविधा पाएका शिक्षकहरूका कक्षाहरू मन पर्दा रहेनछन् ।

त्यसैले रुपेस र चित्र जस्ता विद्यार्थीहरू त्यस्ता शिक्षकहरूले पढाउने कक्षा छोडेर रचना दिदीको कक्षामा आउ नभने पनि आफैँ उफ्रिँदै जाने गर्दछन् । यसबाट मलाइ त लाग्छ शिक्षण सिकाइका लागि सवैभन्दा ठुलो कुरा शिक्षक र सिकारुको बीचमा दिलको सम्बन्ध हुनु पर्ने रहेछ । दिलको दूरी भए पनि साह्रै कम हुनु पर्ने रहेछ । मान्छेलाई परिवर्तन गर्नका लागि सर्वप्रथम मान्छेको दिलमा बसेर सर्वप्रथम दिल परिवर्तन गर्न सक्नु पर्ने रहेछ । दिलको निर्देशनमा दिमागले काम ग¥यो भने त्यो काम सुखद र सफल हुँदो रहेछ । विद्याकुञ्जमा त्यही गर्दैछिन् रचना नेपाली । बालबालिकाहरूको दिलदिलमा बसेकी छन् रचना दिदी । हरेक बालबालिकाले आफ्नै घरको मन पर्ने दिदी ठान्छन् रचनालाई । चित्र कोर्दा समेत रचनालाई आफ्नै घरको दिदी भएको कल्पना गर्दै कुची चलाउँछन् बालबालिकाहरू ।

हाम्रा धेरै शिक्षकहरूले आफू अनुभव, तालिम, योग्यता र सुविधाको भारीले थिचिए पनि विद्यार्थीहरूसँग दिलको दूरी घटाउन नसकिरहेको अवस्था छ । त्यस्ता शिक्षकहरू दिलले होइन दिमागले कुरा गर्दछन् विद्यार्थीहरूसँग । विद्यार्थीहरू भने त्यस्ता शिक्षकहरू मन पराउँछन् जुन शिक्षकले आफूभित्रको दिल छोएर सहजीकरण गर्दछ । महात्मा गान्धीले खराब मानिसलाई सुधार गर्ने एक मात्र ओखती माया र स्नेह हो भनेझैँ हाम्रा धेरै बालबालिकाहरू माया र स्नेहका भोका छन् । उनीहरूलाई पर्याप्त माया र स्नेह दिएर कक्षाकोठामा व्यवहार गर्न सकियो भने कुनै पनि बालबालिका उद्दण्ड र अपराधीको रूपमा समाजको सामु आफूलाई उभ्याउँछन् जस्तो लाग्दैन ।

हाम्रा कतिपय शिक्षकहरूका दिमागहरू विषयबस्तुले भरिए पनि विद्यार्थीहरूलाई आवश्यक पर्ने मायाका हिसाबले उनीहरूका मनहरू रित्ता देखिन्छन् । मलाइ त लाग्छ, जबसम्म बालबालिका प्रतिको रचनाको जस्तो उदार र सम्पन्न दिल हाम्रा शिक्षकहरूको हुँदैन तबसम्म न त हाम्रा विद्यालयहरू नै बालमैत्री हुन्छन् न त विद्यार्थीहरूको सिकाइको स्तर नै माथि उठ्छ । तालिम र सेवासुविधाहरू जति बढाए पनि शिक्षकहरूको दिल बालबालिकाप्रति कोमल, मायालु, आशावादी र सकारात्मक हुन सकेन भने सबै व्यर्थ हुन्छ जस्तो लाग्छ र भइरहेको पनि त्यही छ ।
मलाइ त यस्तो लाग्दैछ, शिक्षक हुनका लागि शिक्षक हुनेहरूको मनोवैज्ञानिक परीक्षण गर्ने कार्यलाई अनिवार्य गरिनुपर्दछ ।

ऊ बालबालिकासँग रमाउन सक्छ कि सक्दैन ? उसलाई बालबालिकाहरू र उनीहरूको स्वभाव मन पर्छ कि पर्दैन ? उसको दिल कोमल छ वा निर्मम ? शिक्षण पेशा उसको रुचि हो वा वाध्यता ? आदि पक्षहरूमा परीक्षण गरेर शिक्षकका उम्मेदवारहरू छनौट गर्ने पद्धतिको विकास गरियो भने रचना जस्ता शिक्षिकाहरू अब्बल क्षमता भएका शिक्षिकामा छानिन्थे होला । यस्तो गरियो भने सृष्टिका सुन्दर र सुकोमल रचनारुपी बालबालिकालाई देखेपछि टाउको दुख्ने, उनीहरूलाई सहन गर्न नसक्ने गरी रुने कराउने अवस्थाको सिर्जना गर्दै कुटेकोमा के के न गरेँ भनेर भित्रभित्रै गर्व गर्ने र बालबालिकाको खुसीभन्दा आफ्नो खुसीलाई सर्वोपरी ठान्ने उम्मेदवारहरू पनि शिक्षकमा छानिदैन्थे होला ।

साँच्चिकै मनोवैज्ञानिक परीक्षण गर्ने पद्धतिको थालनी भयो भने मनग्गे सेवा सुविधा पाउनेहरूको कक्षा छोडेर शनिबारको दिन पनि बालबालिकाहरू रचना दिदी भन्दै उनको कक्षामा पनि धाउनु पर्दैनथ्यो होला । त्यतिबेला शिक्षण पेशाको गरिमा पनि साँच्ची कति उच्च हुन्थ्यो होला ∕ सिकाइको उपलब्धि पनि साँच्चीकै उच्च हुन्थ्यो होला । यस्तै छ दुनियाँ, कसैसँग काम गर्ने रहर छ तर काम गर्ने अवसर छैन । कसैसँग काम गर्ने अवसर त छ तर रहर छैन । भएको रहर पनि मर्दै गइरहेको छ । काम गर्ने रहर र काम गर्ने अवसर एउटै व्यक्तिसँग भयो भने त्यही व्यक्ति खुसी र त्यही व्यक्ति सफल हुनेरहेछ । अझै त्यसमा दक्षता थपियो भने त कामले गुणस्तरीय किसिमले फड्को मार्नेरहेछ । विडम्बना भन्नु पर्छ, रचनामा बालबालिका र शिक्षण पेशाप्रति औधी रुचि छ, तर तिनले शिक्षणका लागि अवसर छैन । किन सकिँदैन त रचनाजस्ता जनशक्तिलाई अध्यापन पेशामा प्रवेश गराउन ? हामी वर्षोँदेखि यहीँनेर रुमल्लिरहेका छौँ । बाँकी जो हजुरको मर्जी ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार