भरैयाको सडकमै धान रोपेर सांकेतिक विरोध



कोहलपुर (बाँके) ।

जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १३ का स्थानीयले हिलाम्मे सडकमा धान रोपेका छन् । वर्षाको समय सुरु हुँदा हिलाम्मे भएको सडक मर्मतका लागि सरोकारवाला निकायले चासो नदिएपछि स्थानीयले हिलाम्मे सडकमै धान रोपेका हुन् । पटक पटक आग्रह गर्दासमेत सरोकारवाला निकायले चासो नदेखाएपछि सांकेतिक विरोधस्वरुप धान रोपिएको स्थानीयले बताएका छन् ।

स्थानीय दुर्गाबहादुर रावलले वडा नम्बर १३ को बाल शिक्षा मावि भरैयाको स्कुल क्षेत्रमा रहेको सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको बताए । बाटोको समस्या समाधान गरिदिन स्कुल प्रशासन र वडा कार्यालयलाई आग्रह गर्दासमेत सुनुवाइ नभएको स्थानीय रावलले बताए । निरन्तर वर्षा भइरहेकोले बाटो हिलो भएर हिँड्नसमेत नसकिने अवस्था रहेको रावलको भनाइ छ ।

‘स्कुलमा भवन बन्दै थियो । स्कुलले हिँड्न अप्ठ्यारो भयो भनेर जेसिबी ल्याएर सडक कटान गरिदियो । सडक काटेपछि अहिले हिँड्न लायक छैन । जनताहरूलाई आवातजावतमा समस्या भएको छ । जनता आक्रोसमा छन्’ उनले भने । स्कुल नजिकै मनोमानी रूपमा सडक कटान गरेपछि आफूले प्रधानाध्यापक टर्कबहादुर खत्रीलाई भेटेरै जनताको समस्या समाधानको लागि आग्रह गरेको उनले बताए ।

प्रधानाध्यापक खत्रीले मर्मत गर्ने काम आफूहरूको नभएको भन्दै वडा कार्यालयले काम गर्ने जवाफ दिएको उनको दाबी छ । डोजर लगाएर सडक कटान भएपछि विद्यालय प्रशासन, वडा कार्यालय र स्थानीयबीच छलफलसमेत भएको थियो । छलफलमा समयमै काम गर्ने सहमति भएबमोजिम काम हुनुपर्ने भएपनि दश दिन बितिसक्दासमेत काम नभएको र जनताले सास्ती भोगिरहेका छन् ।

सरोकारवाला निकायले ध्यान नदिएका कारण उनीहरूलाई दबाब दिने उद्देश्यले स्थानीय मिलेर बाटोमै रोपाइँ गरेको उनले बताए । विगत दश दिनदेखि आवातजावतमा पूर्णरूपमा समस्या भइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘मानिस हिँड्न गाह्रो छ । मानिस बिरामी हुँदासमेत बाटोबाट लैजान असम्भव देखिन्छ । उक्त सडक हिलैहिलोले भरिएको छ ।’ उक्त सडक नजिकै स्कुल छ । स्कुलको छेउमै भएका कारण विद्यार्थीहरूलाई समेत असर परिरहेको छ ।

वडा नम्बर १३ का तीन वटा गाउँका स्थानीय हिँड्ने मुख्य सडक नै त्यही हो । तर अहिले हिलाम्मे हुँदा आवातजावतमा निकै ठुलो समस्या देखिएको छ । अन्य बाटोबाट आवातजावत गर्न पुलसमेत नभएका कारण समस्या भोग्नु परेको स्थानीय बलबहादुर खड्काको भनाइ छ । स्थानीय सरकारको चरम लापरबाहीका कारण समस्या भएको उनले बताए । त्यसैको विरोधस्वरुप आफूहरूले सडकमै रोपाइँ गरेको उनले बताएका छन् । स्थानीयले राखेका माग विद्यालय र वडा कार्यालय जसले भएपनि छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने खड्काले बताए ।

स्थानीयले विरोध गर्दै सडकमा धान रोपेको विषय सामान्य भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्काले बताएका छन् । उनका अनुसार बाल शिक्षा माध्यमिक विद्यालय भरैयाका प्रधानाध्यापक टर्क खत्रीका कारण समस्या आएको हो । ‘वडाको आर्थिक सहयोगमा स्कुलले भवन निर्माण गरिरहेको थियो । त्यहाँ नयाँ भवन बन्दैछ । भवन बनाउँदा प्रअले बाटो बढी खनिदिनु भएछ । त्यसपछि विवाद आएको हो,’ वडाध्यक्ष खड्काले भने ।

उक्त सडक क्षेत्रको २५ मिटर जति क्षेत्रमा हिलाम्मे भएको उनले बताए । स्थानीयले विरोध गरिरहेको र वर्षाको समेत समय भएका कारण आगामी दिनमा जनतालाई सास्ती नहोस् भन्ने उनको धारणा रहेको छ । वडाले स्कुललाई योजना दिएको भन्दै हिलाम्मे सडक थप मर्मत गर्न वडाले नसक्ने उनले स्पष्ट पारे । थप समस्या हुन नदिन आफूले पहल गर्ने वडाध्यक्ष खड्काको प्रतिबद्धता रहेको छ । यस विषयमा बुझ्न खोज्दा स्कुलका प्रधानाध्यापक खत्रीको फोन उठेन ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार