वीरगञ्ज नाकाबाट दुई हजार ३८५ विद्युतीय सवारी आयात



वीरगञ्ज (पर्सा) ।

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालू आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व संकलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । ‘यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ ।’

चालू आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार