सम्पादकीयः किसानलाई समयमै मल उपलब्ध गराउँ



नेपाल कृषि प्रधान देश भनिन्छ । अहिले असारको मध्यान्ह्र चलिरहेको छ । यो समय नेपाली किसानहरूको मानो रोपेर मुरी फलाउने सिजन हो। अहिले अधिकांश किसानहरू आफ्नो खेतमा धान रोपाइँ गर्न व्यस्त छन् । यो सिजनमा धान रोपाइँ गरेर वर्षभरीलाई जोहो गर्न किसानलाई भ्याइनभ्याइ छ । तर कतिपय स्थानहरूमा सिँचाइको अभाव, बीउको अभाव तथा अति आवश्यक मलको अभावका कारण अधिकांश किसानहरू चिन्तित रहेका छन् । सिँचाइ तथा बीउको अभावका कारण पनि धौ–धौ जोहो गरेर यतिखेर धान रोपाइँमा व्यस्त किसानहरू समयमै आवश्यक मल नपाउँदा भने दुखी र चिन्तित बनेका छन् ।

किसानले उत्पादन गरेका खाद्यबस्तुले आफू र आफ्नो परिवारको मात्रै पेट नपालेर समग्र देशकै नागरिकका लागि पु¥याउने गर्दछन् । भन्दा देशलाई कृषि प्रधान देश भनिन्छ । तर व्यवहारमा भने सरकारले किसानलाई समयमै आवश्यक पर्ने सिँचाइ, बीउ तथा मल उपलब्ध गराउन नसक्दा भने उनीहरूको मिहिनेत खेर जाने निश्चित छ । समयमै आवश्यक मल नपाउँदा जति उत्पादन हुनुपर्ने हो त्यो मात्रामा खाद्यबस्तु उत्पादन हुन सक्दैन । सोचेजस्तो उत्पादन भएन भने किसानले आफ्नो परिवार पाल्नुका साथै बिक्री वितरण गरेर आम्दानी गरी वर्षभरी आफ्नो घरखर्च जोहो गर्ने सपना तुहिन्छ ।

यो समस्या यस वर्षको मात्रै भने अवश्य होइन । हरेक वर्ष किसानले आफूलाई आवश्यक परेको समयमा मल पाउन सक्दैनन् । हरेक वर्ष उनीहरूको यो समस्या दोहोरिरहेको हुन्छ । किसानलाई मल उपलब्ध गराउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न कारणहरू देखाएर उम्किने प्रयास गरिरहेको देखिन्छ । कम्पनीको हरेक वर्ष एउटै उत्तर हुन्छ ‘माग गरेअनुसार मल आएको छैन, उपलब्ध मल सहकारीहरूलाई वितरणको व्यवस्था मिलाइरहेका छौँ, बर्खा लाग्यो बाटोघाटो अवरुद्ध हुँदा मल समयमै आउन सकेन बाटोमै छ ।’ हरेक वर्षको यो समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि सरकार, कम्पनी तथा आपूर्तिकर्ता लगायतका सरोकारवाला निकायले समयमै योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

किसानलाई आवश्यक परेको समयमा मल उपलब्ध नभए पछि त्यसको महत्व कम हुन्छ । आवश्यक समयमा मल नपाएर उत्पादनमा पनि कमी आउने र देशको आर्थिक प्रणालीमा पनि असर पर्ने देखिन्छ । स्थानीय सरकार र सहकारीका कारण पनि किसानहरू दोहोरो मर्कामा परेका छन् । एकातिर पर्याप्त मल उपलब्ध नहुँदा किसानहरूलाई सदाझैँ यसवर्ष पनि मल पाउन हम्मेहम्मे परिरहेको अवस्था छ ।
अर्कातर्फ थिति र विधिबिना वितरण प्रणालीले गर्दा घण्टौँसम्म लाइन बस्ने र अन्त्यमा खाली हात फर्कनुपर्ने बाध्यता । यो समस्या सबै सहकारीहरूमा किसानहरूले भोगिरहेका छन् । यसका पछाडि मल वितरण गर्ने प्रणालीमा स्थानीय सरकार र सहकारीले गर्ने बदमासी पनि कारणको रूपमा रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले केही वर्षयता कुन सहकारीमा कति मल आवश्यक छ भनेर स्थानीय सरकारको सिफारिस भएपछि त्यसका आधारमा मल पठाउँछ । तर सामग्री कम्पनीले सिफारिस पठाइदिन पत्राचार गरेपनि समयमै स्थानीय सरकारले मलको सिफारिस नपठाउँदा पनि विलम्व हुन गएको पाइन्छ । समयमै आवश्यक मलको कोटा सिफारिस गरेर पठाए सहकारीमा मल समयमै पुग्ने देखिन्छ । सिफारिस पठाएका स्थानीय तहले पनि एउटै वडाका धेरै सहकारीलाई मल तोकेर पठाउने र धेरै किसान रहेका वडामा भने थोरै मलको कोटा तोकेर पठाउने गरेकाले पनि बढी चाप हुने र सहकारीहरूमा समस्या सिर्जना हुने गरेको देखिन्छ ।

त्यसैमाथि सहकारीमा पनि आफन्त, नातागोता र राजनीतिक दलका नेता कार्यकर्तालाई प्राथमिकता दिँदा पहुँच नहुने किसानहरूले मल समयमा नपाउने अवस्था आउने गरेको छ । सहकारीका सञ्चालक समितिले रेकर्ड नराख्दा कसैले कत्ति पनि नपाउने कसैले पटक पटक मल लिएको पनि पाइन्छ । रेकर्ड नराखी अन्धाधुन्ध मल वितरण गर्ने, मलको कोटा मात्रै निर्धारण गर्ने अनुगमन नगर्ने गाउँपालिका र प्रशासन पनि जिम्मेवार हुन जरुरी छ । दीर्घकालीन रूपमा मल वितरण प्रणालीलाई सहज बनाएर किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार