नागार्जुनका प्रमुख बस्नेतलाई आठ वर्ष कैदको फैसला



विशेष अदालतले भ्रष्टाचार गरेको कसुरमा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्षभन्दा बढी कैद सजाय र दुई करोड रूपैयाँँभन्दा बढी जरिवाना हुने फैसला सुनाएको हो ।

काठमाडौँ ।

विशेष अदालतले भ्रष्टाचार गरेको कसुरमा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्षभन्दा बढी कैद सजाय र दुई करोड रूपैयाँँभन्दा बढी जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार उक्त मुद्दामा अन्तिम सजाय निर्धारण गरेको हो ।

अदालतले बस्नेतसँगै व्यवसायी राजुप्रसाद कँडेल, पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिलाई पनि दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ । अदालतले उनीहरूबीच नौ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँँ घुस लेनदेन भएको ठहर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम घुस लिएको कसुरमा प्रतिवादी बस्नेत र घुस दिने कम्पनी पद्मा कोलोनी, पद्मा मर्चेन्ट तथा कम्पनीका अध्यक्ष कँडेललाई जनही दुई करोड ३० लाख ६१ हजार ५०८ रूपैयाँँ जरिवाना तोकिएको छ ।

साथै, बस्नेत र कँडेललाई जनही आठ वर्ष कैद सजाय हुने फैसला भएको छ । नगर प्रमुखजस्तो सार्वजनिक ओहोदामा बसेर कसुर गरेकाले बस्नेतलाई थप तीन महिना कैद सजायसमेत सुनाइएको छ । घुस लेनदेन भएको कुल बिगो बराबरको रकम चारै जना प्रतिवादीबाट दामासाहीले जफत हुनेछ ।

अदालतले बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम उनलाई तीन वर्ष कैद र बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रूपैयाँँ जरिवाना हुने फैसला भएको छ ।

राष्ट्रसेवक कर्मचारीले सम्पत्ति शुद्धीकरणको कसुर गर्दा १० प्रतिशत थप सजाय हुने कानुनी व्यवस्थाअनुसार बस्नेतलाई थप तीन महिना १८ दिन कैद र दुई करोड ६२ लाख ५४ हजार ६०६ रूपैयाँँ जरिवानासमेत तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार