शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख कमरुद्दिन राईले हस्ताक्षर गरेका छन् । हाल रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा जसपा नेपालका नेतासमेत रहेका राईले हस्ताक्षर गरेका हुन् । सहकारीका बचतकर्ताहरूको बचत अपचलन मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको न्यायको लागि रास्वपाले देश तथा विदेशमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा सुरु भएको अभियान देशभर सञ्चालन भइरहेको छ । उक्त अभियानलाई समर्थन गर्दै आफूले हस्ताक्षर गरेको राईले बताए । उनका अनुसार लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण फसाइएको हो । उनले यसअघि पनि नागरिकता प्रकरणमा लामिछानेलाई फसाइएको बताए । ‘देशमा लामो समयदेखि राजनीति अवस्था बिग्रिरहेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीका कारण जनतामा निरासा छ । उनीहरूले धेरै काम गरेका छैनन्, राजमार्गसमेत बनाउन सकेनन् ।
तर रवि युवा हुन् । उनले केही गर्न सक्छन् । उनलाई सफाइएको छ । उनको न्यायको लागि हस्ताक्षर गरेको हुँ,’ उपप्रमुख कमरुद्दिन राईले मिसन टुडेसँग भने । लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ राजनीतिक शक्तिको नेताको रूपमा उदाएका रविमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको उनको भनाइ थियो । रविमाथि अन्याय भएको भन्नु भयो ? अब तपाईँ रास्वपामा प्रवेश गरेको संकेत हो हस्ताक्षर ? भन्ने प्रश्नमा राईले भन्छन्, ‘यति कसैमाथि गलत भइरहेको छ भन्ने चुप बस्ने होइन, आफ्नो पार्टीभित्र होस् या पार्टी बाहिर । त्यसको विरुद्धमा बोल्नुपर्छ ।
हाम्रो फरक पार्टी छ, फरक विचार छ । उहाँ एउटा तहबाट राजनीतिमा आउनु भयो । म अर्को रूपमा राजनीतिमा आएको मान्छे हो । उहाँमाथि अन्याय भएको छ । त्यसैले हस्ताक्षर गरेको हो । रास्वपा प्रवेश गर्ने भन्ने कुरा होइन ।’ राज्यले गलत गरेको कुरामा एउटा सचेत नागरिकले खबरदारी गर्नु, विरोध गर्नु नागरिकको कर्तव्यका रूपमा लिनुपर्ने उनले बताए । आफ्नो पार्टीको राष्ट्रिय अध्यक्षले अभियानमा समर्थन जनाएको भन्दै आफूलाई पार्टीले कारबाही गर्ला भन्ने पीर नपरेको राईले बताएका छन् ।
रास्वपाले सुरु गरेको अभियान सान्दर्भिक रहेको उनको दाबी छ । उपप्रमुख कमरुद्दिन राई २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका थिए । यस्तै बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका अक्ष हिमालय त्रिपाठीले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानमा सहभागिता जनाएका छन् । मिसन टुडेसँग कुराकानी गर्दै उनले रवि लामिछानेको न्यायको लागि सुरु गरिएको जनताको हस्ताक्षर अभियानमा आफ्नो समर्थन रहेको बताए ।
उनले भने, ‘मैले एउटा व्यक्तिमाथि भएको अन्याय र अत्याचारका विरुद्धमा हस्ताक्षर गरेको हो । उनीमाथि प्रतिशोध साँधिएको छ । राज्य र अदालतले नेताको मुख हेरेर निर्णय गरे । धरौटी लिएर छानबिन गर्न सकिन्थ्यो नी ।’ पछिल्लो उदाहरणका रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सन्दर्भलाई समेत लिन सकिने उनले बताए । आफूले रविकै पक्षमा हस्ताक्षर गरेको बताए । आफू माओवादी पार्टीको कार्यकर्ता भएपनि राज्यले गरेको अन्यायका विरुद्ध हस्ताक्षर गरेको उनले दाबी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्