ढकेरीमा ‘वृहत् वृक्षारोपण कार्यक्रम’



बाँके ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीमा ‘वृहत् वृक्षारोपण कार्यक्रम’ गरिएको छ । शनिबार दिवसको अवसर पारेर झिझरी महिला सामुदायिक वनमा डिभिजन वन कार्यालय बाँकेले ‘वृहत् वृक्षारोपण कार्यक्रम’को आयोजना गरेको थियो ।

उक्त सामुदायिक वन क्षेत्रमा वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा, लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजनल वन अधिकृत शंखरप्रसाद गुप्ताले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै राज्यमन्त्री विश्वकर्माले नेपालमा वन क्षेत्रको संरक्षणमा समुदायको ठूलो भूमिका रहेको बताइन् । मन्त्रालयले ३ करोड बिरुवा रोपण गर्ने अभियानको शुभारम्भ गरिसकेको बताउँदै उनले यस्ता कार्यक्रमले समेत अभियानलाई मद्दत गर्ने बताएकी थिइन् । वृक्षारोपणलाई वृक्षारोपणमा मात्रै सीमित नराखेर संरक्षण गरी यसको उपयोग गरेर लाभसमेत लिनुपर्नेमा राज्यमन्त्री विश्वकर्माले जोड दिइन् ।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले वनजंगल जोगाउने समुदायले समेत त्यसबाट लाभ पाउनुपर्ने बताए । वृक्षारोपण अभियानलाई प्रदेशका सबै जिल्लाहरूमा विस्तार गरिने बताउँदै उनले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए ।

नागरिकलाई सहज रूपमा प्रदेशमै उत्पादित काठ पाउने वातावरण निर्माणको लागि आफू लागिरहेको मन्त्री कलवारले दाबी गरे । वन संरक्षण गरिरहेका नागरिकलाई घर निर्माणका लागि चाहिने काठ पाउन लामो प्रक्रिया भएकोले झन्झट भएको भन्दै त्यो हटाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले वनजंगल संरक्षण गरेका स्थानीयले सोचेजस्तो लाभ पाउन नसकेको बताए । ‘संरक्षण गर्नेलाई राज्यले अझै पनि हेर्न सकेको छैन । त्यही जंगलबाट आउने वन्यजन्तुले नागरिक पीडित बनेका छन्,’ उनले भने, ‘पीडितलाई राज्यले राहत दिनुपर्छ । स्थानीयको जीवन बदल्ने कार्यक्रम ल्याउनुपर्छ ।’

‘वृहत् वृक्षारोपण कार्यक्रम’मा वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सामुदायिक वनका उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार