तिलोत्तमा नगरपालिकाले ल्यायो दुई अर्ब ९२ करोड बजेट



श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ । तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख जागेश्वरी चौधरीले दोस्रो नगर सभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आगमी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा चालूतर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पूँजीगततर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ । बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैँयाँ प्राप्त हुने लक्ष्य लिएको उपप्रमुख चौधरीले बताइन् ।

तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा १६ करोड बढीको बजेट ल्याएको छ । यो बजेट स्थानीय तहमा ठूलो आकारको बजेट भएको आर्थिक जानकारहरुले बताएका छन् । नेपालको संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालू आवधिक योजना, दिगो विकासका लक्ष्य, संघीय, प्रादेशिक तथा स्थानीय ऐन, कानुन र कार्यविधिहरुबाट निर्देशित हुँदै यसै सम्मानित नगर सभाबाट स्वीकृत नगर सरकारको आव ०८२–०८३ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रमको उद्देश्य ‘समृद्ध नगर सुखी नगरवासी’को मूल मर्मलाई आत्मसात् गर्दै बजेट तर्जुमा गरिएको हो ।

राजनैतिक दलका नेतृत्वका सुझाव, विगतको अनुभव, नागरिक समाज, निजी क्षेत्र, सहकारी क्षेत्र, टोल विकास संस्था, स्थानीय सामुदायिक संघ संस्था, बुद्धिजीवी, सरोकारवाला निकाय, सञ्चारकर्मी लगायतका क्षेत्रहरुबाट विभिन्न माध्यमबाट प्राप्त राय, परामर्श तथा रचनात्मक सुझावहरुलाई समेटेर आगामी आवको अनुमानित बजेट प्रस्ताव गरेको उपप्रमुख चौधरीले बताइन् ।

बजेट तिलोत्तमा नगरवासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसात् गरी सबै क्षेत्रको समतामूलक विकासलाई दृष्टिगत गर्दै तयार पारिएको छ । तिलोत्तमा नगरले स्थापित गरेको गरिमालार्ई थप उचाइमा पु¥याउने गरी ल्याइएको यस बजेटले तिलोत्तमा नगरपालिकाभित्रका बहुआयामिक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्न गरिएको नगरपालिकाले बताएको छ ।

वित्तीय संघीयताअनुरुप विभिन्न तह र निकायहरुबाट प्राप्त हुने अनुदान र राजस्वलाई प्राथमिकीकरण गरी बजेटका प्राथमिकता र उद्देश्य हासिल हुने कार्यक्रमहरुमा लगानी केन्द्रित गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।
लगानीबाट, शैक्षिक क्षेत्रको सर्वाङ्गीण विकास, भौतिक पूर्वाधार र दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण र रोजगारी तथा स्वरोजगारका अवसरमा वृद्धि गर्दै समग्र नगरको सन्तुलित र समन्यायिक विकास हासिल हुने अपेक्षा रहेको नगर प्रमुख खाँणको भनाइ छ ।

बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि सञ्चालित नगरका महत्वपूर्ण गौरवका योजनाहरुलाई आगामी आवमा सम्पन्न तथा सञ्चालन गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरिएको छ।
आगामी आवको बजेट देहायका उद्देश्य प्राप्तिमा केन्द्रित रहनेछ ।

‘समृद्ध नगर ः सुखी नगरवासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु यस बजेटको मूल उद्देश्य रहेको छ। बजेटले शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वाङ्गिण विकास र गुणस्तरमा वृद्धि गर्न, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनामार्फत रोजगारी सिर्जना गर्ने, वातावरण विपद्का क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने नगरपालिकाको अपेक्षा छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार